काठमाडौं । सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरूबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो ।
अब पास भएर पनि उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक प्रवेश पाउनेछैनन् । प्रहरी प्रशासनले बुधबारबाट पास भएकालाई अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाउन थालेको हो ।
बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेहरूले अत्यावश्यक काममा मात्र प्रवेश पाउने प्रहरीले जनाएको छ । प्रहरीले बिनाकाम हिँडडुल नगर्न र अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका प्रवेश नगरिदिन आग्रह गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बुधबार सय जनाभन्दा बढीलाई नाकाबाटै फिर्ता गरिएको जानकारी दिए । उनले जुन प्रयोजनका लागि पास बनाएको हो, त्यही प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने भन्दै अबदेखि पास दुरुपयोग भए–नभएको पत्ता लगाउन फोन गरेर सोधिने बताए । पासको दुरुपयोग गरेको पाइएमा जफत हुने समेत प्रहरीले जनाएको छ ।
‘पासको दुरुपयोग गरेको आशंकामा फोन गरेर सोध्ने काम पनि गर्छौं । अप्ठ्यारो परेकालाई सहयोग पनि गरिरहेका छौं,’ उनले भने ।
‘एउटा कामका लागि पास बनाउने र काम सकिएपछि त्यही पासले अनावश्यक हिँड्डुल गर्न थालेपछि हामीले कडाइ गर्न थालेका छौं,’ एसएसपी ढकालले राजधानीसँग भने, ‘अब उपत्यका भित्रने व्यक्तिले अत्यावश्क कामबाहेक प्रवेश गर्न पाउनेछैनन् ।’ उनले बुधबारदेखि उपत्यकाका नाकामा कडाइ गरिएको जानकारी दिँदै बिहीबार एक सय जनाभन्दा बढीलाई नाकाबाटै फिर्ता गरिएको बताए ।
बिहीबार उपत्यकामा १२ जनाको पाससमेत प्रहरीले जफत गरिएको छ । एक प्रयोजनका लागि बनाएको पास काम सकिएपछि पनि चलाएको तथा दुरुपयोग गरेको पाइएपछि प्रहरीले जफत गरेको हो ।
‘पासको दुरुपयोग भएको पाइयो । एउटा प्रयोजनमा बनाइएको छ, अर्को काममा हिँडेको छ,’ अब यसो गर्न पाइन्न,’ ढकालले भने ।
उपत्यकामा लकडाउन उल्लंघन गर्ने साढे ६ सय नियन्त्रणमा
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा लकडाउन उल्लंघन गर्ने साढे ६ सय बढीलाई बुधबार नियन्त्रणमा लिएको छ । एसएसपी ढकालले लकडाउन उल्लंघन गर्ने ६ सय ६६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सवारी नचलाउन आग्रह गर्दै आएको छ ।






