काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सत्तारूढ नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । सरकारको कार्यशैलीलाई लिएर आलोचना बढ्दै गइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । आगामी १७ वैशाखमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
प्रधानमन्त्री ओली र देउवाका बीचमा मंगलबार छलफल भयो । सरकारको कार्यशैली, कांग्रेस नेताहरूबाटै भइरहेको आलोचना, गभर्नर नियुक्ति, शिक्षक आन्दोलनसहित समसामयिक विषयमा नेताहरूका बीचमा छलफल भयो । छलफलपश्चात उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र कांग्रेस नेताहरूबाटै भइरहेको आलोचनाका ’boutमा छलफल गर्दै अघि बढ्ने सहमति भयो ।
कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेताहरू एनपी साउदसहितका नेताहरूले सरकारको कार्यशैलीको कडा रूपमा विरोध गर्दै आएका छन् । सार्वजनिक रूपमै सरकारको आलोचना हुन थालेपछि सशंकित बनेका प्रधानमन्त्री ओलीले देउवासँगको छलफल बढाएका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का बीचमा गत १७ असारमा ७ बुँदे सहमतिपश्चात ३० असारमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । सरकार गठनको ९ महिना पूरा भएको छ । तर, दुई पार्टीका बीचमा जुन सहमति भएको छ, त्यसमा प्रगति नभएको भन्दै कांग्रेसभित्रैबाट असन्तुष्टि बाहिर आइरहेको छ ।
संविधान संशोधन, राजनीतिक स्थिरता, विकास र सुशासनलगायतका विषयमा कांग्रेस र एमालेका बीचमा सहमति भएको थियो । तर, यस सहमतिका एजेन्डामा कुनै प्रगति नभएको गुनासो कांग्रेस नेताहरूको छ । संविधान संशोधनका ’boutमा सहमति भए पनि कार्यदलसमेत अझै गठन हुन सकेको छैन । विकास र सुशासनका साथै सरकारको कार्यशैलीलाई लिएर तिखो आलोचना भइरहेको छ ।
यहीबीचमा कांग्रेस महामन्त्री थापाले मंगलबार सरकारको गति कछुवाको भन्दा पनि सुस्त रहेको टिप्पणी गरेका थिए । सरकारको गति कछुवाभन्दा सुस्त रहेको बताएका थापाले त्यसभन्दा एक कदम अघि बढ्दै बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै रहेको टिप्पणी गरे । यस्तै, उनले सरकारलाई रामराम भन्ने बाहेक अर्को केही गर्न नसकिने अवस्था आएको समेत बताएका थिए ।
यस्तै उनले ओली नेतृत्वको सरकार ट्याक्टरको गतिमा कुचकुचकुचकुच गरेर हिँडिरहेको टिप्पणीसमेत गरे । सरकारले गति नै पक्रिन नसकेको र मानिसहरूको अपेक्षालाई बुझ्नै नसकेको दाबी गरेका थापाले बुधबार बारा पुगेर सरकारको पुनः आलोचना गरे ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले प्रश्न गर्न पाइने बताए । ‘प्रश्न पनि गर्नुपर्छ, कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ, यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ, कसैले लिएर जाँदैन,’ थापाले भने, ‘कोही भीम रावल बन्दैन, किनकि यो कांग्रेस हो, यो हाम्रो पार्टी हो, बाको पार्टी होइन ।’
सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने दिशामा सरकार गम्भीर नभएको निष्कर्ष थापाको छ । कांग्रेस र एमालेले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका महामन्त्री थापाले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल चार महिना मात्रै बाँकी हुँदा पदमुक्त गरिएकामा समेत असन्तुष्टि पोख्दै आएका छन् ।
यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत सरकारको कामलाई लिएर आलोचना गरेका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा सरकारका ७ कमजोरी औंल्याउँदै उनले कडा रूपमा सरकारको आलोचना गरेका छन् ।
‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन, मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन, कमजोरी केलाऊँ, लय मिलाऊँ, गति बढाऊँ, सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ,’ महामन्त्री शर्माले लेखका छन् ।
यस्तै, उनले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआईजी नियुक्तिको विषय विवादका रूपमा उठाएका छन् ।
‘कुलमानलाई हटाउनुहुन्न भन्ने कांग्रेसभित्रको फरक मत र आमजनमतको हेक्का राखिएन, असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन,’ महामन्त्री शर्माले भनेका छन्, ‘अख्तियारसम्बन्धी विधेयक राज्यव्यवस्था समितिले उपसमितिमार्फत करिब टुंगोमा पु¥याएको थियो, यसलाई निर्देशित रूपमा ‘होल्ड’ गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ, त्रिविका उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरि पनि त्रिविमा बेथितिले प्रश्रय पाउनु जुन कुनै कोणबाट पनि गलत भएको छ ।’
शर्माले थप लेखेका छन्, ‘नेपाल प्रहरीको एआईजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिना दिन पुग्न लाग्दासमेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन ।’
यस्तै, कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारका काम’bout असन्तुष्टि पोख्दै आएका छन् । उनले पछिल्लो समय गठबन्धनकै औचित्यमाथि समेत प्रश्न उठाएका छन् । कोइरालाले सातबुँदे सहमतिअनुसार एउटा पनि काम नभएको बताए । उनले भने, ‘हामी सरकारमा छौं, किनकि यो गठबन्धन कांग्रेस र एमाले मिलेर बनेको छ, हामी चाहन्छौं यसले राम्रो काम गरोस्, अघि बढोस्, जनतालाई आशा र भरोसा दिन सकोस् तर सरकारको ध्यान त्यस दिशामा छैन, जनताबाट टाढा हुने काम मात्रै भइरहेको छ, सडकमा आक्रोश बढेको छ ।’
सरकारले सुशासन दिन नसकेको, संविधान संशोधनमा काम अघि नबढाएको, राम्रो काम गर्ने कर्मचारीलाई हटाएर राज्य प्रणालीलाई थप कमजोर बनाउन खोजेको र दण्डहीनता बढाएको कोइरालाको निष्कर्ष छ ।
कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्तामा नभएको टिप्पणीसमेत गरेका थिए । ‘यस सरकारले खासगरी संविधान संशोधनको कुरा गरेको छ, यसमा जति ढिलाइ हुन्छ, त्यति सडकमा असन्तुष्टिको आकार अझ बढ्दै जान्छ ।’ गभर्नर नियुक्तिमा पनि नेता कोइरालाले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । उनले सार्वजनिक रूपमै सरकार बिचौलियासँग घुमिरहेको आरोप बारम्बार लगाउने गरेका छन् ।
कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आफूहरूलाई वर्तमान सरकारले जति गर्नसक्ने हो, त्यति नगरेको अनुभूति भइरहेको बताएका छन् । ‘यस सरकारले जति गर्न सक्छ, त्यति नगरेको अनुभूति अवश्य पनि भएको छ, त्यसकारण थप मेहनतका साथ काम गर्नुप¥यो, नियुक्ति प्रक्रियामा दलीय आस्थालाई अत्यधिक महत्व दिएर निर्णय अन्योलमा पर्नुभएन, त्यसमा सन्तुलन आउनुप¥यो, कसैले पनि प्रश्न गर्न नसक्ने मान्छेहरू नियुक्ति हुनुप¥यो भन्ने कुराहरू छन्,’ उनले भने ।
उनले सरकारप्रति कांग्रेसीहरूको असन्तुष्टि रहेको स्वीकार गरेका छन् । सरकार सञ्चालन, नियुक्तिलगायतका कुरामा सन्तुलन हुनुपर्ने, जनताको आवश्यकता र समस्याप्रति सरकार थप संवेदनशील हुनुपर्ने उनले बताए ।
सरकारविरुद्ध कांग्रेसभित्र असन्तुष्टि बढ्दै गइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई सरकार गठनका लागि निःसर्त समर्थन गर्ने अभिव्यक्ति सार्वजनिक भएसँगै ओली थप सशंकित भएका छन् । प्रचण्डको निःसर्त समर्थन गर्ने अभिव्यक्ति, कांग्रेसभित्रबाटै सरकारको कार्यशैलीलाई लिएर आलोचना हुनु र देउवा मौन बस्नुले राजनीतिमा तरंग आएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
यसैबीच, प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सहमतिपश्चात बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा कांग्रेसका दुई नेता सहभागी भएनन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा बैठकमा सहभागी भएनन् । खड्का स्वास्थ्यका कारण र थापा काठमाडौं उपत्यकाबाहिर भएकाले बैठकमा अनुपस्थित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारको कार्यशैलीलाई लिएर आलोचना भइरहेका बेला बसेको बैठकमा सरकारको कामकारबाही प्रभावकारी रूपमा बनाउने ’boutमा छलफल भएको छ । संयन्त्रको बैठक बस्नुअघि बुधबार नै दुई दलीय कार्यदलको बैठक बसेको थियो ।
उच्चस्तरीय संयन्त्रमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट सभापति देउवा, उपसभापति खड्का, महामन्त्री थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । कार्यदलमा भने ओली र देउवाबाहेकका नेताहरू छन् ।