काश्मिरको पहलगाममा आतंकवादी आक्रमण

काठमाडौं । भारतको जम्मु काश्मिरको पर्यटकीय स्थल पहलगाममा भएको आतंकवादी हमलामा परेर एक नेपालीसहित २७ जनाको ज्यान गएको छ । आतंकवादी आक्रमणमा परी बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको छ भने उनकी आमा रिना भाग्ने क्रममा सामान्य घाइते भएकी छन् ।

आफन्तसँग घुम्न गएका एक नेपालीसहित २७ जनाको मृत्यु

हिन्दू नाम पहिचान गरेर छानीछानी गोली हानेर हत्या

शनिबार मात्रै सुदीप आफ्नी आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग बुटवलबाट पहलगाममा घुम्न गएका थिए । उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले एक्कासि गोली चलाएपछि सुदीपको ज्यान गएको हो ।

सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । पारिवारिक स्रोतका अनुसार आमा–बुबाको सम्बन्धविच्छेद भएपछि आमा र बहिनीसँग सुदीप बुटवल–११ कालिकानगरमा बस्दै आएका थिए ।

काश्मिरमा भएको यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण मानिएको छ । सैनिक पोसाकमा पाँच जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरूको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए । आतंकवादीको आक्रमणमा मारिनेमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका छन् । यो घटनापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किसकेका छन् । उनले यसलाई आतंकवादी हमला भन्दै आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन् ।

जम्मु काश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकलाई लक्षित गरेर नै आक्रमण भएको थियो । आतंकवादीले नियन्त्रणमा लिएकालाई नाम सोधी–सोधी गोली हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको पहलगाम पर्यटकबीच लोकप्रिय गन्तव्यस्थल हो । आक्रमण भएको स्थान पहलगामदेखि पाँच किलोमिटर टाढाको बैसरन घाँसे मैदान हो । यो मनोरम स्थान पहाडको टुप्पोमा अवस्थित छ । पर्यटकमाझ लोकप्रिय यो स्थान अहिले वर्षको सबैभन्दा धेरै पर्यटक आउने समय हो । घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्छ । ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणकारीले हिन्दू नामको उच्चारण सुन्नेबित्तिकै गोली हानेर मारेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटना भएको ठाउँ पर्यटकीय क्षेत्र भएकाले त्यहाँ घुम्न आएकालाई आतंकवादीले निसाना बनाएका हुन् । मुस्लिम समुदायको बाहुल्य भएको यो क्षेत्रमा सन् १९८९ देखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षमा आक्रमणका घटनामा कमी आएका थिए । तर, मंगलबार भएको आतंकवादी आक्रमणले भने पर्यटकलाई मात्रै नभई त्यहाँको हिन्दू समुदायमा पनि त्रास उत्पन्न भएको छ । यो क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकमाथि यस्तो ठूलो स्तरमा विरलै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्छ ।

आतंकवादी हमलाको विषयमा विभिन्न देशका प्रमुखले पनि निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली संघकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताले सो घटनाको भत्र्सना गरेका छन् ।

आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिने
भारतले आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भारतले सो कुरा बताएको हो ।

आतंकवादीको आक्रमणमा परी एक नेपाली युवासहित २७ जना मारिएपछि दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो । ‘आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका छन्,’ दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्ता’bout जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । प्रधानमन्त्री ओलीले जम्मु काश्मिरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको उनले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आतंकवादी आक्रमणमा परी बहुमूल्य जीवन गुमाएप्रति हार्दिक समवेदना प्रकट गरेको उनले बताएका छन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकामा समवेदना व्यक्त गर्नुभयो र क्रूर आतंकवादी हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो,’ विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भनेका छन् ।

आतंकवादी आक्रमणको नेपालले ग-यो निन्दा
नेपाल सरकारले भारतको जम्मु काश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत घटनाको निन्दा गरेको हो ।

‘जम्मु काश्मिरको पहलगाममा निर्दोष पर्यटकमाथि भएको बर्बर आतंकवादी हमलाको नेपाल स्पष्ट रूपमा निन्दा गर्छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘हामी शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छाैं र घाइतेको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्छौं ।’

परराष्ट्रले नेपाल यस दुःखको समयमा भारत सरकार र भारतीय जनताको साथमा उभिने र ऐक्यबद्धता जनाउने बताएको छ । ‘नेपाल सबै प्रकारका आतंकवादको निन्दा गर्छ । र, विश्वास गर्छ कि आतंकवादका यस्ता जघन्य कार्यलाई कुनै पनि आधारमा उचित ठहराउन सकिँदैन र गर्नुहुँदैन,’ परराष्ट्रले भनेको छ ।

आतंकवादी हमलाका तीन संदिग्ध व्यक्तिको स्केच सार्वजनिक
भारतीय सुरक्षा फौजले जम्मु काश्मिरको पहलगाममा २६ जनाभन्दा बढीको ज्यान लिने आतंकवादी हमलाका तीन आशंकित व्यक्तिको स्केच सार्वजनिक गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार बुधबार सुरक्षा एजेन्सीले पहिचान गरेका तीन आतंकवादीको कोड नाम मुसा, युनुस र आसिफ छ । हालसम्म २७ जनाको ज्यान गएको सो आतंककारी हमलामा अधिकांश पर्यटक मारिएका थिए । सुरक्षा एजेन्सीका अनुसार पहिचान भएका आतंकवादीको नाम आसिफ शेख, सुलेमान शाह र अबु तलाह छन् ।

उनीहरू तीनै जना आतंकवादी संगठन लस्कर ए तोयबासँग आबद्ध रहेको दाबी भारतीय सुरक्षा एजेन्सीले गरेको छ । अन्य दुई आतंककारीको पहिचान भइरहेको छ ।

आतंकवादी आक्रमण’bout पाकिस्तानले के भन्यो ?
आतंकवादी हमलामा पाकिस्तानको हात रहेको हुन सक्ने आशंकाबीच पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले पहलगाममा भएको घटनामा आफ्नो देश संलग्न नभएको बताएका छन् ।

काश्मिरमा भएका घटनालाई भारत सरकारविरुद्ध फैलिएको घरेलु विद्रोहको संज्ञा दिँदै उनले आक्रमणका लागि पाकिस्तानमाथि दोषारोपण गर्ने काम ‘सजिलो’ भएको टिप्पणी गरे । उनले पाकिस्तानको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्ने गरेको आरोप लगाए । भारतले विगतमा त्यस्तो आरोपको खण्डन गरेको थियो । भारत विभाजन भई पाकिस्तान बनेदेखि नै दुवै देशले काश्मिरको भूमि आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन् ।

काश्मिरमा दशकौंदेखि भारत सरकारविरुद्ध विद्रोह चल्दै आएको छ । दिल्लीले काश्मिरमा सक्रिय विद्रोहीलाई पाकिस्तानले सहयोग दिने आरोप लगाउने गरेको छ । तर, पाकिस्तान सो आरोप अस्वीकार गर्छ ।

काश्मिरमा दशकौंदेखि द्वन्द्व
सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथकतावादी सशस्त्र विद्रोह सुरु भएयता द्वन्द्व सुरु भएको हो । द्वन्द्वका क्रममा यो ठाउँमा सुरक्षाकर्मी र सर्वसाधारणसमेत गरेर १० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुइटा युद्ध र अन्य कैयौं द्वन्द्वका घटना पनि भए । भारतले यो क्षेत्रमा करिब ५ लाख सैनिक स्थायी रूपमै परिचालन गरेको छ ।

भारत सरकारले सन् २०१९ मा काश्मिरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन् ।

पछिल्लो समय सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दू धर्मावलम्बी चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए । त्यसअघि सन् २०१९ मा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए । त्यसपछि भारतले पाकिस्तानमा विद्रोही लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराका पाँच पालिकामा मतगणना हुदै, चारमा काँग्रेस अगाडी