८८ कम्पनीको ५६ अर्ब ३३ करोड रुपैयाँबराबरको आईपीओ आउँदै

काठमाडौं । ५६ अर्ब ३३ करोड १९ लाख रुपैयाँभन्दा बढीका ८८ वटा कम्पनी आईपीओ जारी गर्नका लागि पर्खाइमा रहेका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार अहिले ८८ वटा कम्पनी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नका लागि प्रक्रियामा रहेका छन् ।

ती सम्पूर्ण कम्पनीका आईपीओ सेबोनले स्वीकृति दिएपछि सर्वसाधारणले खरिद गर्न पाउनेछन् । लामो समयदेखि सेबोनले नेतृत्व नपाउँदा अलमलिएको आईपीओ जारी गर्नका लागि कम्पनीहरूको वित्तीय अवस्थाको मूल्यांकन गरिरहेको जनाएको छ ।

केही कम्पनीका आईपीओ भने प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारीमा रहेका छन् । आईपीओ जारी गर्नका लागि पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रका कम्पनी रहेका छन् ।

सेबोनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४४ वटा जलविद्युत् कम्पनीहरू आईपीओ पाइपलाइनमा रहेका छन् । १९ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको आईपीओ जारी गर्नका लागि जलविद्युत् कम्पनीहरूले सेबोनमा आवेदन दिइराखेका छन् ।

विगत २२ महिनादेखि जलविद्युत्को आईपीओ जारी भएको छैन । आवेदन दिएका हाइड्रो कम्पनीमध्ये दुईवटाले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन बोर्डसँग अनुमति मागेका छन् । सेन्चुरी इनर्जी लिमिटेडले २ सय ७५ रुपैयाँ ११ पैसा प्रतिकित्तामा र हिमाल हाइड्रोपावर लिमिटेडले २ सय १८ रुपैयाँका दरले आईपीओ निष्कासन अनुमति मागेको छ । जलविद्युत् समूहका अन्य ४२ वटा कम्पनीले भने प्रतिकित्ता सय रुपैयाँका दरले आईपीओ निष्कासन अनुमति मागेका छन् ।

यसैगरी, नौवटा होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू आईपीओ जारी गर्न पाइपलाइनमा बसेका छन् । यस क्षेत्रको मात्रै ४ अर्ब १० करोड ७० लाख रुपैयाँको आईपीओ आउने तरखरमा रहेका छन् ।

आईपीओ निष्कासन अनुमति माग्दै पाइपलाइनमा रहेका कम्पनीमध्ये १८ वटा उत्पादन तथा प्रशोधन समूहका हुन् । यस क्षेत्रको मात्रै २४ अर्ब ८० करोड ६१ लाख १२ हजार ३ सय ९६ रुपैयाँबराबरको ११ करोड १६ हजार ५ सय ४१ कित्ता सेयर निष्कासन गर्न प्रक्रियामा रहेको हो ।

उत्पादन तथा प्रशोधन समूहमा ६ वटा कम्पनीले बुक बिल्डिङ र प्रिमियममा आईपीओ निष्कासन अनुमति माग गरेका छन् । बाँकी १२ कम्पनीले भने प्रतिकित्ता सय रुपैयाँका दरले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

यसैगरी, अन्य समूहका ११ वटा कम्पनीको आईपीओ जारी हुन लागेको छ । सो समूहका कम्पनीले ३ अर्ब ९१ करोड ५८ लाख ९५ हजार ७ सय रुपैयाँबराबरको ३ करोड २४ लाख ३६ हजार ९ सय ५७ कित्ता सेयर सर्वसाधारणका लागि ल्याउन लागिएको हो ।

लघुवित्ततर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता सय रुपैयाँका दरले ८ लाख रुपैयाँबराबरका ८० हजार कित्ता सेयर निष्कासन अनुमति मागेको हो ।

त्यस्तै, माइक्रो इन्स्योरेन्सतर्फ तीनवटा कम्पनी आईपीओ जारी गर्ने पर्खाइमा रहेको छ । यस समूहबाट ६७ अर्ब ५० लाख रुपैयाँको आईपीओ आउन लागेको हो ।

यसैगरी, लगानी शीर्षकमा पनि तीनवटा कम्पनीले आईपीओका लागि आवेदन दिएका छन् । १ करोड ६५ लाख ५० हजार कित्ताका लागि २ अर्ब ९३ करोड १० लाख रुपैयाँको आईपीओ जारी गर्न वरुण इन्भेस्टमेन्ट, सिड इनर्जी र शिवम होल्डिङ्सले प्रक्रिया पूरा गरेका छन् । जसमा शिवम् होल्डिङ्सले २ सय १० रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीमाथि क्रमैसँग रिभ्यु भइरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बोर्डले सबै कागजात समीक्षा गरिरहेको र प्रतिक्रिया लिने काम भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ