किन खोजिन्छ, नायकको ‘नायक’ ?

कुनै एक धर्मगुरु, पादरी, राजा वा सैन्य अधिकारीको सनकपूर्ण आदेशबाट चलेको शासनमा अनेकौं दुर्गुण र दुष्कृति रहने भएकाले युरोपको इतिहासमा नागरिक नियन्त्रण भएको राज्यसम्बन्धी धारणा विकास भयो । राज्य विधि र प्रणालीमा चल्ने राजनीतिक, संवैधानिक र कानुनी संरचना हो । रोमन र ग्रिक शासनकालमा नै जनताका प्रतिनिधिको चयन गर्ने गरिएको देखिन्छ । यद्यपि चर्च, धर्म, अलौकिक शक्ति, पादरी, राजा र सेनापतिका नाममा ज्यादि अन्याय तथा अत्याचार भएकाले विश्वमा दर्जनौं पटक राजनीतिक, सामाजिक र कानुनी द्वन्द्व र संघर्ष हुनपुग्यो ।

सन् १२१५ मा बेलायती राजा जोन (११६६–१२१६)द्वारा नागरिकको दैनिक जीवनमाथि हुने गरेका हस्तक्षेपबाट आजित भएर नागरिक विद्रोह भएपछि राजाले बाध्य भएर म्याग्नाकार्टा नामको कानुन ल्याउनुप¥यो । जसले नागरिकको जीवनमाथिको रोयल पेरोगेटी (राजकीय हस्तक्षेप)लाई गैरकानुनी घाषित ग¥यो । बेलायती विधिशास्त्री थोमस हब्स (१५८८–१६७९)ले पादरी र धर्मगुरुको शासनको विरोध गरे । शक्ति दुरूपयोग गरी अर्काे मुुलुकको भूगोल कब्जा गर्ने प्रवृत्तिले युरोपमा ३० वर्षसम्म भीषण युद्ध भयो । युद्धबाट हार खाएर उनीहरूले सन् १६४८ मा ‘वेस्टफालिया सन्धि’मा हस्ताक्षर गरे । जसले युद्ध थोपरेर ‘नायक’ बन्ने सोच अन्त्य ग¥यो । त्यसपछि युरोपले कुनै एउटा चमत्कारिक व्यत्तिको शासनमा होइन, प्रणाली विकासमा जोड दिन थाल्यो ।

यद्यपि, जर्मनमा नाजी पार्टी गठनपछि शक्ति र सत्तामा आएका एडोल्फ हिटलर (१८८९–१९४५)ले आफूलाई ‘जर्मनको हिरो’का रूपमा प्रस्तुत गरे । सन् १९३९ देखि सन् १९४५ सम्म दोस्रो विश्वयुद्ध भयो । ६० लाखभन्दा बढीको हत्या गरियो । भौतिक संरचना र साधन क्षतिको वास्तविक तथ्य निकाल्न सकिएन । यसरी एउटा मान्छेको चमत्कारमा विश्वास गरेर ‘नायक’लाई प्रणालीभन्दा ठूलो ठान्दा मुलुक, व्यक्ति र भूराजनीति त्रसित बन्यो । मान्छे जति नै शक्तिशाली र क्षमतावान् भए पनि प्रणालीले काम गरेन भने त्यो टिक्दैन । एउटै मान्छेले एक्लै चमत्कार गर्ने कुरा चलचित्रमा मात्र सम्भव हुन्छ ।

हिन्दी चलचित्र ‘नायक’मा अनिल कपुर हिरो र खलनायक अमरिश पुरी छन् । मुख्यमन्त्री (सीएम)को भूमिकामा रहेका खलनायक पुरीलाई नायक (पत्रकारको भूमिकामा रहेका) अनिल कपुरले ‘राज्यमा सुशासन नभएको, वेथिति भएको, भ्रष्टाचार बढेको र प्रणालीले काम गर्न नसकेको’ भनेर पुरीको तीखो आलोचना गरेपछि पुरीले ‘त्यसो भए कसरी शासन सञ्चालन गर्ने हो ? एक दिनका लागि म सत्ता तिमीलाई सुम्पन्छु, चलाएर देखाउनु’ भन्ने चुनौती दिन्छन् । नायक कपुर पुरीको चुनौती स्वीकार गर्दै पद सम्हाल्छन् । त्यसपछि कपुरले बिजुली गतिमा भ्रष्टहरूलाई ठाउँका ठाउँ कारबाही गर्छन् । राज्यमा सुशासन, विधि र कानुनको कार्यान्वयन गर्न उनी सरकारी तथा सार्वजनिक निकायमा दौडिन्छन् । नायकले दिनभरमा व्यापक सुधार र परिवर्तन गरेको देखिन्छ । उनको शासनशैलीलाई जनता र नागरिकले समर्थन गर्छन् ।

सो चलचित्रले राजनीतिक, सार्वजनिक र सामाजिक जीवनमा परिवर्तन ल्याउनसक्ने ‘नायक’ आवश्यक हुन्छ भन्ने सन्देशचाहिँ दिएको छ । त्यो चलचित्र मात्र हो । वास्तविक जीवन र नाटकमा ठूलो भिन्नता हुने कुरा ‘नायक’ चलचित्रबाट प्रस्ट हुन्छ । राज्य प्रणालीमा अनेकौं राजनीतिक, संवैधानिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्राविधिक, व्यावहारिक र वस्तुगत अवस्था तथा स्थितिहरूले ‘फङ्सन्स’ अर्थात् ‘प्रकार्य’ गरिरहेका हुन्छन् ।

एउटा मान्छेको सोच र कार्यले मुलुकमा सुधार, परिवर्तन र विकासमा अग्रणी भूमिका खेन्नसक्छ । चलचित्रको नायकको जस्तो कार्यचाहिँ वास्तविक जीवनमा हुँदैन । मान्छेमा चलचित्रमा देखाइएजस्तो अद्भुत भूमिका खोज्नु मूर्खतापूर्ण सोच हो । सत्तामा ‘नायक’ चलचित्रमा जस्तो ‘नायक’ खोज्ने प्रवृत्ति समाजमा हिजो थियो, आज पनि रह्यो । भूराजनीतिमा त्यस्ता ‘नायक’ पात्र सफल भएका उदाहरणचाहिँ कमै देखिन्छन् । सन् २०१३ पछि सत्तामा आएका भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजलाई त्यहाँ ‘नायक’ सोचियो । राष्ट्रवादी उग्रभाषण गर्दै सत्तामा आएपछि मुलुकमा व्यापक सुधार अपेक्षा गरियो । तथापि, भेनेजुएला सर्वाधिक भ्रष्ट, कुशासन, गरिब र द्वन्द्वग्रस्त अवस्थामा पुग्यो । युक्रेनमा वास्तविक हिरोलाई सत्ता राजनीतिको समेत ‘हिरो’ बनाइँदा २४ फेब्रुअरी २०२२ देखि रुसी सैन्य आक्रमणको सामना गर्नुप¥यो । पाकिस्तानमा सन् २०१८ देखि २०२२ को अवधिमा परम्परागत पार्टीहरूलाई ‘चोर’को आरोप लगाएर नायकŒवको भूमिकासहित सत्ता राजनीतिमा आएका इमरान खान आफैं भ्रष्टाचारमा मुछिए । उनको शासन सत्ताबाट मुलुकमा सुधार केही पनि भएन ।

सामाजिक सञ्जाल दुरूपयोग गर्दै ‘फ्रड र फन्डा’ फैल्याएका आधारमा कुनै पनि वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक दृष्टि नभएकालाई ‘नायक’ चलचित्रको पात्रजस्तो ठान्नु ठूलो भूल र भ्रम मात्र हो । एउटा कुनै मान्छेलाई ‘नायक’ ठान्ने सोच र प्रवृत्तिले समाज, मुलुक र सत्ता राजनीतिलाई जहिल्यै संकटमा पार्ने गर्छ

भारत नयाँ दिल्लीमा समेत भ्रष्टाचारको मुद्दा उठाएर सत्तामा आएका ‘नायक पात्र’ अरविन्द्र केजरीवाल सन् २०१३ देखि सन् २०२४ सम्म मुख्यमन्त्री रहे । दिल्लीको अवस्थामा ताŒिवक सुधार तथा परिवर्तन भएन । सन् २०२५ को निर्वाचनबाट उनी पराजित भए । आफैं भ्रष्टाचार मुद्दामा फसे ।

फिलिपिन्समा राष्ट्रपति तुर्तेतलाई नायक ठानियो । उनले हजारौंको गैरकानुनी हत्या गरे । अहिले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को वारेन्टबाट नेदरल्यान्डको हेग लगियो । दक्षिण कोरियामा पनि केही समयपूर्व पूर्वराष्ट्रपति युन सुक योलले नागरिक स्वतन्त्रता खोसेर निरंकुशता लाद्न खोजे । नागरिक समाज र सबैको विरोध भएपछि महाअभियोग लगाइयो । संवैधानिक अदालतले सदर ग¥यो ।

‘मेक अमेरिका ग्रेट अगेन’ नारामा सत्तामा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको उग्रराष्ट्रवादी ‘नायक’ भूमिकाले विश्वको अर्थराजनीतिमा समस्या चर्काउँदै छ । नायक पात्रबाट शासन सत्ता सञ्चालनमा चमत्कार हुने सस्तो खालको नागरिक सोचले यसरी मुलुकमा समस्या मात्र पैदा गर्दै आयो । पेसेवर व्यवसायी, ठग र धुर्त पात्रका ‘पपुलिस्ट भूलभूलैया’बाट समाजले ठूलो धोका पाउँदै आएका अनेकौं उदाहरण भूराजनीतिमा देखिन्छन् ।

नेपालको सत्ता राजनीतिमा पनि चमत्कारपूर्ण पात्र र प्रवृत्ति खोजियो । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्धक कुलमान घिसिङलाई पनि ‘नायक’ ठानियो । उनी नभए ‘नेपाल अन्धकार बन्ने’ भ्रमसमेत छरियो । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलाई त्यस्तै ‘हिरो’ सोचियो । ‘सहकारी काण्ड’मा मुछिएका रवि लामिछानेलाई ‘भगवान्’ भनियो । अर्थात्, प्रणाली, विधि र व्यवस्थाबाट समस्या न्यूनीकरण तथा दिगो समृद्धिमा विश्वास नगर्ने प्रवृत्तिका कारण ‘एउटै मान्छेले जादुले जसरी कार्य गर्ने’ भ्रम पालियो । जुन खतरनाक तथा हानिकारण सोच र प्रवृत्ति हो ।

राजनीतिमा कोही पनि नयाँ दल वा व्यक्ति आउने कुरा स्वागतयोग्य र आवश्यक कुरा हो । तथापि, कुनै पनि व्यक्ति र संस्था वैचारिक, नीतिगत, दृष्टिकोण, कार्यक्रम, योजना, पूर्वतयारी, संगठन, सिद्धान्त र राजनीतिक मूल्यबिना अर्कालाई गाली गरेर, फन्डा एवं फन्टुस हल्लाका भरमा जुवामा च्याँखे दाउ हाने जसरी आउने कुराले प्रणालीलाई कमजोर पार्ने रहेछ । लोकतन्त्र, विधि र लोकतान्त्रिक प्रणालीप्रति नागरिक अपनŒव र विश्वास कमजोर पार्ने भनेको नै कसैलाई पनि हल्लाका आधारमा ‘नायक’ मान्ने प्रवृत्ति तथा सोचले हो । जसले राजनीतिलाई प्रदूषित मात्र बनायो । आफूलाई ‘नयाँ’ भन्दै पुरानाबाट सबै बर्बाद भएको भन्ने तथ्यहीन र आधारहीन भ्रम छर्ने कामले नागरिक र मतदातामा ‘अतिवादी तथा अवस्तुवादी’ सोच विकास गराइरहेको छ । सामाजिक सञ्जाल दुरूपयोग गर्दै ‘फ्रड र फन्डा’ फैलाएका आधारमा कुनै पनि वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक दृष्टि नभएकालाई ‘नायक’ चलचित्रको ‘नायक’ पात्रजस्तो ठान्नु ठूलो भूल र भ्रम मात्र हो । निर्वाचन आयोगमा पछि दर्ता गरेको, मान्छेको उमेर कम भएको, शरीर ह्यान्डसम भएको, कपाल नफुलेको, धेरै बोल्नसक्ने र नाटक–फन्डा गर्नसक्ने ‘नायक’ पात्र बढी रुचाइएका कारण त्यसले अहिले आएर नेपालको लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम बनाइरहेको छ ।

लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि अनिर्वाचित शक्ति वा व्यक्ति हुनै सक्दैन । मौसमी हल्ला र ‘नायक’ प्रवृत्तिको भ्रममा बढी विश्वास गर्ने सोचले नेपाली सत्ता राजनीतिमा अनेकौं संकट देखिएका हुन् । प्रणाली र विधि स्थापनाबाट मात्र दिगो विकास र प्रगति हुन्छ । एउटा कुनै मान्छेलाई ‘नायक’ ठान्ने सोच र प्रवृत्तिले समाज, मुलुक र सत्ता राजनीतिलाई जहिल्यै संकटमा पा¥यो । यसबाट मुक्त हुनु आवश्यक छ ।
[email protected]

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक