काठमाडौं । वैशाख ओमानमा रहेका अवैध नेपाली कामदारलाई जरिमाना नतिरी स्वदेश फर्कन छुट दिइएको छ । ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (डिपार्चर ड्युरिङ द ग्रास पिरियड) कार्यक्रम ल्याएको हो ।
ओमानस्थित नेपाली दूतावासका अनुसार त्यहाँको श्रम मन्त्रालयद्वारा जारी गरिएको छुट अवधिमा स्वदेश फिर्ती योजनाअन्तर्गत ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकलाई स्वदेश फर्किन पाउने अवसर प्रदान गरिएको छ ।
यस योजनाअनुसार स्वदेश फर्किने नेपालीका लागि तोकिएको जरिमाना शुल्क पूर्ण रूपमा माफ हुने दूतावासले जनाएको छ । स्वदेश फिर्ती योजनाको लाभ लिन इच्छुक नेपाली नागरिकले स्वयं वा साथीभाइ वा दूतावासका स्वयंसेवकहरू वा नेपाली सोसल क्लबलगायत संघसंस्थाका प्रतिनिधिको सहयोग लिई दूतावासले उपलब्ध गराएको वेभपेजमा गई प्रक्रिया पूरा गर्न सक्नेछन् ।
अहिले सुरु भएको यो योजना ३१ जुलाई २०२५ सम्म लागू हुनेछ । उनीहरू आफ्नै खर्चमा घर फर्कनुपर्नेछ । त्यस अवधिमा उनीहरू घर फर्किए श्रमसम्बन्धी कुनै पनि जरिमाना तिर्न ‘पर्ने छैन । तोकिएको समयभित्रै अवसरको उपयोग गर्न र यो सुवर्ण अवसरको लाभ उठाउन ओमानमा रहेका सम्बन्धित नेपाली नागरिकलाई दूतावासले अनुरोध गरेको छ ।
यसरी नेपाल जान चाहने नेपाली नागरिकले पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउनुपरेमा वा यससम्बन्धी थप केही बुझ्नुपरेमा अविलम्ब सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
सम्बन्धित समाचार





