गुल्मी । गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी बढ्दै गएपछि बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा जिल्लाका धुर्कोट, मदाने, छत्रकोट र रेसुङ्गा गरी चार पालिकामा अभियान नै थालेर बन्ध्याकरण गरिएको हो ।
अभियानअन्तरगत धुर्कोट गाउँपालिकाका ९४, छत्रकोट गाउँपालिकाका एक सय आठ, रेसुङ्गा नगरपालिकाका एक सय सात तथा मदाने गाउँपालिकाका एक सय गरी कुल चार सय नौ कुकुरको बन्ध्याकरण गरिएको छ । बन्ध्याकरणमा पोखरास्थित हर्ट हिमालयन एनिमल रिसोर्स ट्रस्टले प्राविधिक सहयोग गरेको छ ।
यस कार्यक्रमका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तीन लाख, छत्रकोटको दुई लाख, रेसुङ्गाको ८० हजार, मदानेको दुई लाख तथा धुर्कोटको एक लाख ३० हजार खर्च भएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर हुमाकान्त पाण्डेले जानकारी दिए । ‘सबै पालिकालाई पत्राचार गरेका थियौँ, चार पालिकाबाट मात्रै बजेट बिनियोजन भएकोले त्यहाँ बन्ध्याकरण ग¥यौँ ।’ पाण्डेले भने ।
बन्ध्यकराणमा प्राविधिक सहयोग गरेको ट्रस्टले बन्ध्याकरणबापत प्रति कुकुर दुई सय दुई सयका दरले लिने गर्दछ । सोही रकममा ट्रस्टले सडकबाट कुकुर समाउने, गाडीमा राख्ने र बन्ध्याकरण गर्ने ठाउँसम्म लैजाने, बन्ध्याकरण गर्ने र पुनःपहिलेकै ठाउँसम्म छोड्ने गर्दछ । चार पालिकाभित्र रहेका सडकका छाडा कुकुर एवं घरपालुवा कुकुर समेत बन्ध्यकरण गरिएको ट्रस्टका प्रमुख खगेश्वर शर्माले जानकारी दिए ।
यसरी हुन्छ कुकुरको बन्ध्याकरण
कुकुर छोपेर ल्याइसकेपछि सुरुमा आधा खण्टा आराम दिइन्छ । त्यसपछि उसको शारीरिक अवस्था हेरेपछि लठ्याउने औषधी दिइन्छ । त्यसपछि दुखाइको कम हुने औषधी र विभिन्न प्रक्रिया पार गरिसकेपछि कुकुरको बन्ध्यकरण गरिने शर्माले बताए । अप्रेशनपश्चात भाले कुकुरले पोथी र पोथी कुकुरले भाले खोज्दैनन् ।
साथै अप्रेशन गरेका पोथी कुकुरमा पाठेघरको समस्या पनि नहुने प्रमुख शर्माले जानकारी दिए । धुर्कोट गाउँपालिकाका पशु चिकित्सक संजय प्रसाद भुसाले कुकुरबाट घट्न सक्ने सम्भावित जोखिमलाई कम गर्नको लागि बन्ध्यकरण गरिएको बताए ।
‘सामुदायिक कुकुरहरुले महिला, विद्यार्थी तथा सर्वसाधारणलाई टोकेको गुनासो धेरै आयो ।’ भुसालले भने, ‘यो अभियानले रेबिज नियन्त्रणसँगै कुकुरको संख्यामा समेत कमी हुनेछ ।’ उनले गाउँमा बन्ध्याकरण अभियान सुरु गरेपछि जनस्तरबाट सकारात्मक प्रतिक्रिया आएको समेत बताए ।
खुसि छन् स्थानीय
गाउँमै कुकुर बन्ध्यकरणको अभियान संचालन गर्दा स्थानीय पनि खुसि भएका छन् । कुकुरको अत्याधिक बिगबिगी हुने तम्घास बजार लगायतका क्षेत्रका नागरिकलाई राहत मिलेको छ । ‘बिहान–साँझ हिड्डुल गर्न निकै गाहे हुन्थ्यो ।’ तम्घासमा व्यवसाय गर्ने कोपिला थापा बोहोराले भने, ‘बन्ध्याकरण गरेपछि निकै सहज भएको छ ।’ मदाने गाउँपालिकी मिना खत्रीले पनि कुकुरको बन्ध्याकरणले धेरै राहत मिलेको बताए । उनले विभिन्न समयमा कुकुरले टोकेर स्थानीयलाई त्रसित समेत बनाएकोले बन्ध्याकरण गर्नु सकारात्मक भएको बताए ।
नौ महिनामा आठ सयलाई टोक्यो
गुल्मीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विभिन्न समयमा कुकुरको बन्ध्याकरण गर्दै आएको छ । केन्द्रले आर्थिक बर्ष २०७९÷८० मा दुई सय र ०८०÷८१ मा दुई सय ५० कुकुरको बन्ध्याकरण गरेको थियो । बन्ध्याकरण गर्ने सबै कुकुरलाई रेबिजबिरुद्धको खोप पनि दिइन्छ । गुल्मीमा चालु आर्थिक बर्षको हालसम्म तीन सय ५७ महिला र चार सय ६१ पुरुष गरी कुल आठ सय १८ जनालाई कुकुरले टोकेको छ । गुल्मी अस्पतालको तथ्याकंअनुसार सबैभन्दा बढी असोज, कात्तिक र माघ महिनामा कुकुरले टोक्ने गरेको छ ।