कुर्सी खाली हुँदा प्रधानमन्त्री ओलीको मन खिन्न

काठमाडौं । भगवान् गौतम बुद्धको २५६९औं जयन्ती सोमबार नेपालसहित विश्वभरि भव्य रूपमा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीका साथै राजधानी काठमाडौंलगायत देशैभरि विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइएको हो ।

२५६९औं बुद्ध जयन्ती

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको विशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको थियो । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा भएको थियो । सो विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेशमन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरूको समेत सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओली सहभागी सो कार्यक्रममा ५ हजार क्षमताको हल थियो । हलको क्षमताअनुसार आयोजकले कुर्सीको व्यवस्थासमेत गरेको थियो । तर, न्यून सहभागिताले कुर्सीहरू खाली देखिएको थियो । दर्शकको सहभागिता न्यून रहेको र सहभागीहरू धैर्यपूर्वक बस्न नसक्दा प्रधानमन्त्री ओलीकै मन खिन्न भएको थियो । दर्शकदीर्घाबाट सहभागी नहुँदा कुर्सी खाली देखिएपछि प्रधानमन्त्री ओलीले छोटो मन्तव्य दिएका थिए ।

केही दिनअघि ओली आफ्नो गृहजिल्ला झापासहित मधेश प्रदेशको सिरहामा पार्टीद्वारा आयोजित कार्यक्रममा भाग लिन पुगेका थिए । ओली बोल्दैगर्दा सहभागीहरू उठेर हिँड्न थालेका थिए । सार्वजनिक कार्यक्रमदेखि संसद्मै बोल्दैगर्दा सांसदहरूको सहभागिता न्यून हुने गरेको छ । कुर्सीहरू खाली देखिने गरेका तस्बिरहरू सार्वजनिक रूपमै देखिन थालेका छन् ।

प्रधानमन्त्री ओली मात्रै नभई अन्य पार्टीका नेताहरूसमेत सार्वजनिक कार्यक्रममा पुग्दा सहभागीहरूको संख्या न्यून हुने गरेको देखिन्छ । पछिल्लो समय आयोजकलाई सहभागी देखाउन पनि गाह्रो पर्ने गरेको छ । नेताहरू सहभागी हुने कार्यक्रममा किन सहभागीहरूको संख्या न्यून भइरहेको छ भन्ने ’boutमा राजनीतिक विश्लेषक देवेन्द्र मिश्राले नेताहरूको बोलीअनुसार काम नदेखिएकाले संख्या घट्नु स्वाभाविक भएको बताए ।

‘नेताहरूले जे बोल्नुहुन्छ त्यो कार्यान्वयन गर्नुहुन्न, थोत्रा भाषण सुन्न जनतालाई पनि अल्छी लाग्न थालेको छ, उहाँहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा नगर्दा जनता निराश छन्,’ राजनीतिक विश्लेषक मिश्राले भने, ‘नेताको जिम्मेवारीअनुसारको काम नहुने, कार्यशैली जनमैत्री नहुने, आफैंले गरेको प्रतिबद्धता पूरा नगर्नेसहितका कारणले अब जनतामा नेताप्रति एक किसिमको वितृष्णासमेत जागेको देखिन्छ ।’

भारत र पाकिस्तानलाई ओलीले दिए धन्यवाद
प्रधानमन्त्री ओलीले सम्भावित लडाइँबाट पन्छिएकामा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् । बुद्ध जयन्तीको अवसरमा लुम्बिनी पुगेका प्रधानमन्त्री ओलीले दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति सन्तोष व्यक्त गरे ।

भारत र पाकिस्तानको प्रसंग जोड्दै ओलीले भने, ‘केही दिनअगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो तर त्यो हात हालाहाल बढ्न पाएन, संयमका लागि उहाँहरूलाई धन्यवाद छ, हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर, लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना ग¥यौं, उहाँहरूसँग पनि कुरा ग¥यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो, फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । प्रधानमन्त्री ओलीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।

ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताए । बुद्धका सन्देशको थप खोज अनुसन्धान र विस्तारको काम लुम्बिनी बौद्ध विश्व विद्यालयले गर्नुपर्ने समेत उनले आग्रह गरेका छन् ।

यसैबीच, सोमबार नै काठमाडौंको स्वयम्भुस्थित आनन्दकुटी विहारमा आयोजित बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । उनले बुद्धको जन्मका आधारमा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उनको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे ।

‘बुद्धका शिक्षाहरू सरल र स्पष्ट छन्, विश्वमा शान्ति छाउनुपर्छ, हरेक ठाउँमा शान्ति छाउनुपर्छ, बुद्धका शिक्षाहरू शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, असल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरूमा भिन्नता छैन, बुद्धका ज्ञानहरू विस्तारका क्रममा त्रिपिटक (विनयपिटक, सूत्रपिटक र धम्मपिटक)मा बाँडियो, पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरू अहिले पनि सुरक्षित छन्, हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरू गर्दै जानुपर्नेछ ।’

बुद्ध जयन्तीको अवसरमा विभिन्न राजनीतिक दलका प्रमुख एवं नेताहरूले शुभकामना सन्देश व्यक्त गर्दै बुद्धले दिएका शिक्षा, ज्ञान, सत्मार्ग, शान्ति, मित्रता, सहिष्णुतालगायतका विषय आज पनि आवश्यक भएको र यसलाई अनुसरण गर्नुपर्ने जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय, तर जाने छैनन् तत्काल जेल