भनिन्छ, राजनीति नीतिहरूको पनि ‘नीति’ हो । राजनीति सही गोरेटोमा हि“ड्यो भने अन्य नीति स्वतः लयमा आउँछन् । नीतिको माउ राजनीतिले नै बाटो बिरायो भने अरु नीतिले बाटो पहिल्याउने आशा नगर्दा हुन्छ । राजनीतिमा युवा ‘बूढी मरै भाषा सरै’ भन्ने चलन छ । सिकाई पुस्तान्तरण हुन्छ । यो संस्कारजन्य पनि हुन्छ । शिक्षाविद् सिकाइका तीन तरिका अघि सार्छन्– औपचारिक, अनौपचारिक र अरीतिक । यीमध्ये अरीतिक सिकाईले पार्ने प्रभाव चीरस्थायी र अविस्मरणीयसमेत हुन्छ । जस्तो समाजमा बस्यो, त्यस्तै व्यवहार देखाउनु यसैको उदाहरण हो । राजदरबारमा बस्ने कामदार नै किन नहोस् ? त्यसले ‘सियोस’ नै मिसाएर बोल्छ । कतिपय सिकाई सासुको व्यवहारबाट बुहारीमा र जेठानीको व्यवहारबाट देवरानीमा सरेको हुन्छ । यसैकारण नेपालीमा एउटा उखान छ, ‘सिक–सिक देवरानी, घरमै जेठानी ।’ त्यसो त, ग्रिक दार्शनिक एरिस्टोटल (अरस्तुु)ले ‘सिकाई अनुकरणबाट हुन्छ, तर यो पुर्ण हुँदैन । अनुकरण भनेको जस्तो छ, त्यस्तो गर्नु अर्थात् सादृश्य विधान होइन र यसमा थप थापको गुञ्जाइस रहन्छ’ भनेका थिए । राजनीतिमा समर्पित युवापुस्ताले पनि अग्रजको अनुकरणद्वारा धेरै कुरा सिक्नेमात्र होइन, विगतका कमी– कमजोरी सच्चाएर अघि बढनसक्ने हैसियत राख्नुपर्ने हो । अरस्तुले भनेअनुसार अपूर्णलाई पूर्णता दिने काम पनि गर्नुपर्ने हो । तर, हामीकहाँ न त राजनीतिका परिपक्व व्यक्तिका व्यवहार नै अनुकरण गर्न लायकका देखिए, न त युवापुस्तामा अनुुकरण गर्ने संस्कृति नै विकसित हुन खोज्यो । पाको र युवा दुवै पुस्ताको अहम् आजको राजनीतिक स्खलनको मुख्य कारक बनेर देखापरेकोे छ ।
वर्तमान परिवेश पूरै निराशा, असन्तोष र अभाव गुनासो गर्नेखालेमात्र छ । यो कुरा नेपाली राजनीतिमा पनि लागू हुन्छ । यतिबेला नेपाली राजनीतिमा जुन परिदृश्य देखिएका छन्, त्यसलाई हेर्दा राजनीतिमा लागेका युवापुस्ताले के सिक्ने होलान् ? राजनीतिको आगामी पिंढी कस्तो हुने होला ? सहजै अनुमान गर्न सकिन्छ । चरम व्यक्तिवादी प्रवृत्ति, ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने शैली र अराजक भीड तयार गर्नुमात्रै के हाम्रा राजनीतिक दलको अभिष्ट हो त ? ‘सत्तामात्रै सबैथोक हो र सत्तामा मबाहेक अरु बस्नै हुँदैन’ भन्ने मान्यतामात्र ठीक हो त ? विचारणीय छ । महात्मा गान्धी पदमा गएर आदर्श बनेका थिएनन् । गणेशमान सिंह प्रधानमन्त्री भएनन् तर उनको राजनीतिक उचाइसँग आजका कुनै पनि प्रधानमन्त्रीको तुलना हुनसक्छ ? २०४६ सालको आन्दोलनपछि बहुुदलीय व्यवस्था पुनस्र्थापना भयो । लगत्तै, गणेशमानलाई प्रधानमन्त्रीको प्रस्ताव आयो, तर उनले ‘आफू प्रधानमन्त्री नबन्ने’ भन्दै कृष्णप्रसाद भट्टराई (किशुनजी)लाई प्रस्ताव गरे । पछि, किशुनजी प्रधानमन्त्री बने । मन्त्रिमण्डल गठन भै शपथग्रहण सकिएलगत्तै मन्त्रीहरूलाई निर्देशन दिनका लागि किशुनजीले गणेशमानलाई आग्रह गरे । प्रधानमन्त्री किशुनजी, मन्त्रीलाई निर्देशन दिने गणेशमान † आज कसैले यस्तो कल्पना गर्नसक्छ ? यो अन्तरआत्माबाट स्वतः निस्तृत सद्भाव थियो । अहिलेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्री ओली र नेकाका सभापति शेरबहादुर देउवा समान आसनमा बसेजस्तो कुटिल स्वार्थ, आशंका र अस्थिरता त्यहाँ मिसिएको थिएन । उनीहरूमा पदको हैन देशको हुटहुटी थियो । सत्ताको होइन, प्रजातन्त्रको अभिप्सा थियो । आज किशुनजीसँग तुलना गर्न लायक कुनै प्रधानमन्त्री हामीकहाँ छन् ? दुुर्भाग्य नै मान्नुपर्छ, तिनै गणशेमान र किुशनजीलाई उनकै पार्टी नेपाली कांग्रेसले तिरस्कार ग¥यो । दुुवैजना कांग्रेसबाट अघोषित रूपमा अलग भए । मनमोहनलाई भेट्ने एमालेका अरु प्रधानमन्त्री ‘किन आजसम्म जन्मेनन् ?’ हालै दिवंगत पूर्वमन्त्री प्रदीप नेपालको निधनमा आमनागरिकमा पलाएको करुणा र समवेदना पद र सत्ताका कारण थिएन । यसैकारण भनिन्छ, सबै निर्वाचित प्रधानमन्त्री ‘वेस्टन चर्चिल’ हुँदा रहेनछन्, न त सबै कम्युनिस्ट पार्टीका अध्यक्ष नै माओत्सेतुङ हुन्छन् ।
राजनीतिमा पानी बाराबार
यतिबेला नेपाली राजनीति र खासगरी बामराजनीतिमा कित्ताकाटको अवस्था छ । कहिले सत्ता साझेदार त, कहिले अनायास नै सत्ता बर्हिगमनको इतिहास रचेका नेकपा एमाले र नेकपा माओवादीबीच बढ्दो तिक्तता देखिन्छ । यी दुई पार्टी अध्यक्ष (प्रचण्ड र केपी शर्मा ओली)बीच हेराहेर, बोलाबोल टेलिफोन संवादसमेत देशको प्रमुख समाचार बनेर आउनेगर्छ । अन्य समय सामान्य शिष्टतासमेत ख्याल नगरेका कारण यी परिदृश्य राष्ट्रिय घटनाका रूपमा चित्रित हुने गरेका छन् । त्यसो त, यी दुवै दल मिलेर केही वर्षअघि ‘नेकपा’ नामक एउटै दल पनि बन्यो । तत्कालीन नेकपामा देखिएको विवाद, तत्कालीन प्रधानमन्त्री ओलीले दुई–दुईपटक गरेको संंसद् विघठन र सर्वोच्चको संवैधानिक इजलासबाट संसद् पुनस्र्थापनाको आदेशसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि दिएको परमादेश, एकीकरणबाट बनेको नेकपा ‘वैध’ नभएको सर्वोच्चको आदेशसहितका परिघटना राजनीतिक उतारचढावका लागि कारक बनेर देखिएका थिए । सारमा भन्नुपर्दा, दुई कम्युनिस्ट एक भएर बनेको नेकपा दल र नेकपाको सरकार छिन्नभिन्न हुनमा अरु कोही नभएर कम्युनिस्ट दल नै जिम्मेवार थिए । तत्कालीन प्रधानमन्त्रीको सिफारिस तत्काल कार्यान्वयन गर्न राष्ट्रपतिले देखाएको हतारोले पनि यी दुई दलको विभाजनका लागि आगोमा घीउ थपेको थियो । २०७८ सालको निर्वाचनपछि पुनः एमाले र माओवादीबीच सरकार बनाउन गठबन्धन भएर पनि पुनः तोडेका यी दलबीच आज एककिसमले भन्ने हो भने बाराबारको स्थिति छ । आन्तरिक रूपमा पनि नेकपा एमालेमा देखापरेका दुई गुटको चरम महŒवाकांक्षा हावी भएको छ । नेकपा माओवादी केन्द्र देखिनेगरी टुक्रामा परिणत भएको त छैन तर त्यहाँ पनि अध्यक्ष प्रचण्ड जति खटेका छन्, उनको तुलनामा दोस्रो तहका नेताको खटाइ कम नै छ । यतिबेला कम्युनिस्ट र खासगरी एमालेभित्र आन्तरिक कलह र द्वन्द चुलि“दै गएको देखिन्छ । पर्वत र धनुषामा त हानाहानको स्थिति नै देखियो । जिल्ला तहका नेता अस्पताल भर्ना हुनपुुगे । कास्कीमा पनि गुटगत स्वार्थ मौलाइरहेको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजीनामापश्चात् सो पार्टीभित्र महिला आवाज अझ बुलन्द भएको विश्लेषक बताउने गर्छन् । अध्यक्षसँग मत बझाएकै भरमा दुई नेतृ स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेना निलम्बनमा परेका छन् । अहिले सो दलमा बेथिति र विसंगतिको राजनीतिक संस्कार अघि बढेको चर्चा छ । आन्तरिक द्वन्द्व मत्थर गर्नसक्ने कौशल भएको युवा नेतृत्व त्यस पार्टीभित्र पनि देखिदैन ।
नेपाली कांग्रेसभित्र पनि लगभग यही अवस्था छ । त्यस पार्टीका नेता डा.शेखर कोइरालाले त पटकपटक ‘नेपाली कांग्रेस सरकारमा छ, सत्तामा छैन’ भन्दै आएका छन् । एमालेसँगको सत्ता गठबन्धनको ‘डे वान’देखि नै प्रतिपक्षी भूमिका निभाएका उनी आफ्नै पार्टी सभापतिलाई टक्कर दिन भने सक्दैनन् । ‘युवा नेता’ भनेर चिनिने सो पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि डाँको चर्को गर्नेबाहेक राजनीतिलाई लयमा ल्याउने काममा कहिल्यै लागिपरेनन् । सरकार सञ्चालन संयन्त्रमा बसेर सरकार र पार्टीका गतिविधि’bout मत बझाउनुपरेमा सम्बन्धित पार्टी र सत्ता गठबन्धन बैठक उपयोग गर्नुपर्छ । तर, यी महामन्त्रीले बाह्य रूपमा सरकारको उछितो काढने काम कहिल्यै छाडेनन् । सरकारमा पनि टाँसिने, खरो आलोचना पनि गर्ने नैतिकताविहीन राजनीति कम्तीमा पनि यी युवाबाट नेपाली नागरिकले अपेक्षा गरेका थिएनन् । ‘यो सरकार बिचौलियाले बनाएको हो र यसले बिचौलियाकै हित गर्छ’ भनी प्रतिपक्षीले सरकारविरुद्ध आरोप लगाइरहेको बेला महामन्त्री थापाले ‘प्रधानमन्त्रीको बेडसम्म बिचौलियाको सहज पहुँच पुुगेको’ अभिव्यक्ति दिए । यसले गर्दा सरकारविरुद्ध प्रतिपक्षीले लगाएको आरोप पुष्टि गर्न विपक्षीलाई मद्दत मिल्यो । प्रधानमन्त्री ओलीले भने एक सार्वजनिक कार्यक्रमबीच महामन्त्री थापालाई ‘जे पनि बोल्ने’ भन्दै आरोप पुष्टि गर्न चुनौती दिए । पराईसँग मुकाबिला गर्नुपर्ने तागत सगोत्रीसँग लडेर दुरुपयोग भइरहेको छ । एउटा समूह अर्को समुहका लागि बैरीमात्र होइनन्, गणतन्त्रविरोधी, संघीयताविरोधी, स्वार्थी पदलोलुप घोषित भएका छन् । आफ्नो समूहमा आउने साक्षात् ईश्वर ठहरिएका छन् । ‘पर्ख र हेर’को अवस्थामा बसेकाहरू दुवैथरीको आर्कषण बन्दै छन् । कुनै पनि दिन उनको कित्ता स्पष्ट भएपछि अर्को समूहका लागि उनीहरू पनि गालीगलौजको प्रमुख निशाना हुनेछन् । राजनीतिमा योभन्दा भद्दा मजाक अर्को के हुन सक्ला ?
वर्तमान परिवेश पूरै निराशा, असन्तोष र अभावको गुनासो गर्नेखाले मात्र छ । यो कुरा नेपाली राजनीतिमा पनि लागू हुन्छ । यतिबेला नेपाली राजनीतिमा जुन परिदृश्य देखिएका छन्, त्यसलाई हेर्दा राजनीतिमा लागेका युवापुस्ताले के सिक्ने होलान् ? राजनीतिको आगामी पिंढी कस्तो हुने होला ? सहजै अनुमान गर्न सकिन्छ
‘सत्ता पाए सबथोक राम्रो, नपाए सबै खराब’, यस्तो पनि हुन्छ ? व्यक्तिगत गालीगलौज, अपमान, व्यंग्य सबैथोक एकैपटक प्रहार किन गर्नुपरेको होला ? राजनीतिमा नैतिकता, इमान्दारिता, धैर्यता र विश्वासको अलिकति पनि गुञ्जायस नभएकै हो त ? आफूलाई ‘ठूला दल र महान्’ भन्ने सबैखाले नेताले जसलाई सत्तोसराप गर्छन्, भोलि उसैलाई ‘भगवान् मान्ने दिन’ पनि आउँछन् भन्ने कुरा किन बिर्सन्छन् ? आज जसलाई गालीगलौजको वर्षा गरिएको छ, भोलि उसैका नाममा ‘प्रशंसाका फुुलथुँगा गाँस्न नपरोस्’ भन्ने हेक्कासम्म नराख्ने पनि राजनीतिज्ञ हुन्छन् ? आफूलाई ‘नेता हुँ’ भन्नेले एकपटक सोच्नुपर्ने देखिन्छ । के यही प्रवृत्ति आगामी पुस्ताले पनि सिक्नुपर्ने हो ? राजनीति भनेको सारमा यही हो त ? होइन भने आगामी पुस्ताका लागि अनुकरणीय दृष्टान्त यिनीहरूले के दिए त ? यस्ताबाट नवआगन्तुक पिंढीले सिक्ने के हो ?
दलीय व्यवस्थामा सांसद आफ्नै दलप्रति उत्तरदायी बन्नुपर्छ । अन्यथा, अनुशासन उलंघन गरेको ठहर्छ । यसैकारण होला, सरकारविरुद्ध अभिव्यक्ति दिएका नेकाका शेखर कोइरालालाई लक्षित गर्दै एमाले सांसद सुुर्यबहादु थापाले ‘सरकारप्रति असन्तुष्टि भए आफ्नै पार्टी सभापतिलाई भन्नुस्, यहाँ होइन’ भनेर सदनमा जवाफ फर्काएका थिए । विगतमा एमालेका केही नेतो अनुशासन तोडेको साँचो हो । यसको नेतृत्व त्यस दलका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले गरेकै हुन् । तर त्यसको उत्तर पार्टीभित्रबाटै खोजिनुपर्नेमा त्यतिबेला आमसभा गरेर, गालीगलोज गरेर जसरी हुर्मत लिने काम भयो, त्यो संस्कृति अपाच्य देखिन्छ ।
[email protected]






