कपिलवस्तु । “हामी त यस्तो स्वास्थ्य सेवा गाउँमै पाउने कल्पना पनि गरेका थिएनौँ,” विजयनगर गाउँपालिका–५ की सबान खातुन मुस्काउँदै भन्छिन्। २९ वर्षीय सबान शनिवार बिहान गाउँकै शिव माध्यमिक विद्यालय पुगिन्—पढ्न होइन, पाठेघरको निःशुल्क स्वास्थ्य परीक्षण गर्न।
“संकोच र मौनतामै हराएका पाठेघरका पीडाले पाए शब्द, शिविरले खोल्यो उपचारको ढोका”
लामो समयदेखि पीडामा थिइन् उनी। रोग लुकाउँदै आएकी थिइन्। तर यस पटक गाउँमै आयोजित विशेषज्ञ डाक्टरहरूको शिविर पुगेर उनले न केवल रोगको पहिचान गरिन्, तर उपचारको ढोका पनि देखिन्।
त्यस्तै अर्की महिला, ३६ वर्षीय निर्मला श्रीष, १२ वर्षदेखि पाठेघरको समस्याका कारण सहरका अस्पताल चहारिरहेकी थिइन्। “जाने बेलै थियो, तर गाउँमै यस्तो सेवा पाइन्छ भन्ने कल्पना गरेको थिइनँ,” उनले हर्षका साथ भनिन्।
८१ महिलाको परीक्षण, ७ मा आङ खस्ने समस्या
समृद्धि सामुदायिक विकास सेवा केन्द्र, रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ५ मा सञ्चालन गरिएको एक दिने निःशुल्क पाठेघर स्वास्थ्य जाँच शिविरले ८१ जना महिलालाई सेवा दियो। परीक्षण गरिएकामध्ये ७ जनामा आङ खस्ने, भने २ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको डाक्टरहरूले जनाएका छन्। शिविरमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति राना, डा. युवराज अधिकारी, डा. अनुपमा मरासिनी लगायतको टोली खटिएको थियो।
गम्भीर समस्यामाथि मौनता, जसले रोग गहिरिन्छ
डा. ज्योति रानाका अनुसार, शिविरमा आएका अधिकांश महिलामा तल्लो पेट दुख्ने, पाठेघर खस्ने, सेतो पानी बग्ने र ढाड दुख्ने समस्या देखियो। “कम उमेरमा विवाह, सुत्केरीपछि पर्याप्त आराम नपाउनु, भारी बोक्ने बानी र जनचेतनाको अभावले यी समस्या बढेका छन्,” उनले भनिन्। उनका अनुसार, ग्रामीण महिलामा रोग लुकाउने प्रवृत्ति अत्यधिक देखिन्छ। “संकोचले गर्दा उपचार ढिलो हुन्छ। यहीँबाट समस्या जटिल बन्छ,” डा. रानाले चेतावनी दिइन्।
‘स्वास्थ्य मात्र होइन, चेतनाको पनि सेवा’
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिविरले महिलालाई निःशुल्क स्वास्थ्य सेवा मात्र नभएर चेतना पनि दिएको बताइन्। “धेरै महिला रोग लुकाउँछन्। यो शिविरले उनीहरूलाई खुल्न सहयोग गर्यो,” उनले भनिन्। जनचेतनाका कमीले पाठेघरमा भएका समस्यालाई लुकाउने खोज्ने र समयमा उपचार नगराउँदा देखिएको समस्यालाई मध्यनजर गर्दै उनले स्वास्थ्य शिविरको प्रशंसा गरिन् । “क्यान्सरसम्म पुग्न सक्ने पाठेघर समस्याको पहिचान र उपचार गराउन शिविरले ठुलो भूमिका खेलेको वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले भने। यसले गाउँघरमै स्वास्थ्य सेवा पु-याउने हाम्रो लक्ष्य पूरा गरेको उनको भनाई छ।






