टुरिन । बोस्निया तथा इटालियन क्लब युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिक आउँदो समरमा स्पेनिस क्लब बार्सिलोना आउन सहमत भएको छ । इटालियन सञ्चारमाध्यमका अनुसार बोस्नियाका ३० वर्षीय मिडफिल्डर आउदो समरमा बार्सिलोना आउन सहमत भएको उल्लेख गरेको छ । बार्सिलोनाले यसअघि नै ब्राजिली युवा मिडफिल्डर आर्थर मेलोको स्थानमा पिजानिक नै ल्याउने योजना बनाइरहेको थियो । बार्सिलोनाले पिजानिकलाई ६० मिलियन युरो खर्च गर्न सक्ने अनुमान गरिएको छ ।
पिजानिक बार्सिलोना आउन सहमत हुँदा ब्राजिलका २३ वर्षीय आर्थर मेलोको बार्सिलोनामा भविष्य अनिश्चित बनेको छ । उनी युभेन्टस नै जान सक्ने आँकलन गरिएको छ । मेलोको पछिल्लो दुई सिजनमा बार्सिलोनाका लागि ६७ खेल खेलेका छन् । उनको सम्झौता २०२४ सम्म रहेको छ । बार्सिलोनाले मेलोले युभेन्टस जान नचाहेको अवस्थामा आर्टुरो भिडाल र इभान राकिटिकलाई प्रस्ताव गर्न सक्नेछ ।
बार्सिलोनाले २०१६ मै पिजानिकलाई अनुबन्धको प्रयास गरे पनि लगातार तीन सिजनसम्म असफल भएको थियो । पिजानिक अनुबन्ध गर्न असफल भएपछि बार्सिलोनाले २०१६ का आन्द्रे गोमेज, २०१७ मा पाउलिन्हो र २०१८ मा पिजानिक अनुबन्ध गरेको थियो । गोमेज र पाउलिन्होको तुलनामा आर्थर मेलोले बिस्तारै आफ्नो प्रभाव छाड्न सफल भएका थिए । २०१६ मा इटालियन क्लब रोमाबाट युभेन्टस पुगेर अहिले चौथो सिजन बिताइरहेका पिजानिकले यो सिजन ३२ खेलमा ३ गोल र ४ असिस्ट दिएका छन् । उनले युभेन्टसबाट विभिन्न ६ उपाधि जितेका छन् । जसमा तीनपटक सिरी ‘ए’ दुई इटालियन कप र एक सुपर कप छन् ।






