मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वियन फरवार्ड लुका जोभिक घरमै प्रशिक्षणका क्रममा घाइते भएका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वव्यापी रूपमा खेलकुद गतिविधि ठप्प भएपछि जोभिक पनि स्पेन छाडेर सर्विया पुगेका थिए ।
तर, घरमै प्रशिक्षणका क्रममा घाइते भएको र दाया खुट्टाको हड्डी भाँचिएको क्लबले पुष्टि गरेको छ । चोट बोकेसँगै जोभिक रियलको प्रशिक्षणमा सहभागी हुने छैनन् । २२ वर्षीय जोभिक सोमबारदेखि रियलको प्रशिक्षणमा सामेल हुने तयारीमा थिए । रियल मड्रिडका मेडिकल टोलीले जोभिकको परीक्षण गर्दै खुट्टाको हड्डी भाँचिनुका साथै आर्टिक्युलर फ्याक्चर भएको र मैदानमा कहिले फर्कने भन्ने’bout भन्न सकिने अवस्था नरहेको क्लबले जनाएको छ । उनले अब ला लिगा पुनः सुचारु भएको अवस्थामा उनले सबै खेल गुमाउन सक्ने अनुमान गरिएको छ ।
गत जुनमा जर्मन क्लब फ्रन्कफर्टबाट ६५ मिलियन युरोमा रियलमा आएका उनले पहिलो सिजन निकै संघर्ष गरिरहेका छन् । उनले यो सिजन रियलबाट २४ खेलमा मात्रै दुई गोल गरेका छन् । कोभिड–१९ ले विश्वव्यापी रूप लिएपछि स्पेन पनि लकडाउन भएपछि उनले क्लबको अनुमति लिँदै सर्विया पुगेका थिए । तर, उनी लकडाउन तोडेको आरोपमा विवादित बन्न पुगेका थिए । उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने भए पनि उनले नियमको पालना नगरेको आरोपमा पक्राउ परेको थियो । माफी मागेपछि उनलाई रिहा गरिएको थियो ।
रियलले बिहीबारदेखि खेलाडीको कोरोना परीक्षण गर्दै प्रशिक्षणमा फर्कने तयारी गरिरहेको छ । क्लबले तीन चरण पार गरेपछि मात्रै खेलाडीहरुलाई पूर्ण प्रशिक्षणमा सामेल गराउनेछ । क्लबले यसै साता आफ्ना खेलाडीको परीक्षण गर्दा कुनै पनि खेलाडीमा कोरोना नदेखिएपछि रियलले सोमबारदेखि सानो समूह बनाएर प्रशिक्षण थाल्नेछन् ।






