दाङ । तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडामा लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अन्तिमचरणमा पुगेको छ । भूमिहिन दलित, भूमिहिन सुकुमबासी, र अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउन २०८१ जेठ ३ गतेबाट वडामा नापजाँचको काम सुरु भएको थियो ।
नाप नक्सा इकाई शाखाका प्रमुख रितेश बस्नेतका अनुसार, जेठ मसान्तसम्म सबै नापजाँच कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ । विभिन्न समयमा सरकार फेरबदल हुँदा ६ महिना रोकिएको काम वैशाखको दोस्रो सातादेखि पुनः सुरु गरिएको हो ।
७ लाख वर्गमिटर जग्गाको नापजाँच सकियो
हालसम्म ७ लाख ३४ हजार ७ सय ७९.९८७ वर्गमिटर क्षेत्रफल जग्गाको नापजाँच पूरा भइसकेको छ । यसबाट १२ सय ६५ कित्ताका नक्सा तयार गरिएको छ । प्रमुख बस्नेतका अनुसार, ६२ भूमिहिन दलित, १७३ भूमिहिन सुकुमबासी, र ६८५ अव्यवस्थित बसोबासीको नक्सा तयार गरिएको छ । वडाबाट २ हजार १ सय लगत संकलन गरिएको छ । नापजाँचका लागि दुई वटा प्राविधिक टोली परिचालन गरिएको छ ।
जसमा सर्वेक्षक सुरेश वली, निराजन घर्तीमगर, अक्षकुमार चन्द, र अमिन गोपाल केसी, असोक केसी, सशिला वलीको टोली समावेश छ । टोलीले ‘टोटल स्टेशन’ मेसिनको सहायताले दैनिक सरदर २ कठ्ठा जग्गाको नापजाँच गर्दै आइरहेको छ । तर, गर्मीका कारण मेसिन तातिएर कहिलेकाहीँ अपेक्षाअनुसार काम नभएको शाखाले बताएको छ ।
पहिलो प्राथमिकतामा भूमिहिन दलित र सुकुमबासी
वडामा नापजाँचपछि पहिलो चरणमा भूमिहिन दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गरिनेछ । वडा अध्यक्ष दुजमान भण्डारीका अनुसार, आगामी दुई वर्षभित्र वडाका २१ सय जनाले लालपुर्जा पाउनेछन् । यद्यपि, भूमिहिन दलित र सुकुमबासीलाई लालपुर्जा वितरणमा पहिलो प्राथमिकतामा राखिनेछ ।
मेयरको पहिलो एजेन्डा
पालिकाका दोस्रो जनप्रतिनिधिका रूपमा कार्यभार सम्हाल्नुभएका मेयर टीकाराम खडकाले पदभार ग्रहण गर्दा आफ्नो पहिलो एजेन्डा नै लालपुर्जा वितरण रहेको घोषणा गरेका थिए । मेयर स्वयं सुकुमबासी पृष्ठभूमिबाट आएकाले पनि यो कामलाई पहिलो प्राथमिकता दिइएको हो । मेयर खडकाले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने विश्वास दिलाए । उनले नापजाँचको कामलाई थप जनशक्तीको व्यवस्था गरेर अन्य वडामा पनि विस्तार गरिने बताए ।
पालिकाका १९ वटा वडाबाट हालसम्म १७ हजार ८ सय ७ वटा लगत संकलन भएका छन् । जसमा ३ हजार ७२ भूमिहिन दलित, २ हजार २ सय ६६ भूमिहिन सुकुमबासी, र १२ हजार ४ सय ५२ अव्यवस्थित बसोबासी समावेश छन् ।