लमजुङ । अन्ततः नेपाली काँग्रेसको भातृ सगठन तरुण दल जिल्ला समिति लमजुङको पाँचौँ जिल्ला अधिवेशन स्थगित भएको छ । एक पक्षले जोरजबरजस्ती गर्दै अर्को पक्षमाथि खुकुरीसमेत प्रहार गरेपछि उत्पन्न विवाद सल्टिन नसकेपछि शनिबार राती अबेर अधिवेशन स्थगित गएको हो ।
तरुण दलको जिल्ला अधिवेशनको उदघाटन सत्रमै खुकुरी प्रहार भएको थियो । सो क्रममा चार जना घाइते भएका थिए । तीमध्ये दुईजनाको थप उपचारका लागि रिफर गरिएको छ भने दुई जना उपचारपछि घर फर्केको यहाँ स्थित प्रदेश अस्पताल लमजुङले जनाएको छ ।
प्रमुख अतिथि तरुण दलका पूर्वअध्यक्ष एवम् राष्ट्यि सभा सदस्य जितजङ बस्नेत थिए भने तरुण दलका केन्द्रीय अध्यक्ष विधान गुरुङ विशेष अतिथि भएको उदाघटन सत्रमै खुकुरी छप्काएपछि अधिवेशन भाडिएको थियो । ‘मान्छे मरे पनि अधिवेशन आजै सम्पन्न हुनु पर्छ’ भन्ने पीडक पक्षको अडानका बाबजुत घाइतेहरू उपाचार गरी नफर्कदासम्म अधिवेशन हुन सक्दैन, हामी भाग लिन्नौंं भन्ने पीडित पक्षको अडान पछि अन्ततः अधिवेशन स्थागित भयो । जेठ १० गतेसम्मका लागि अधिवेशन स्थगित भएको सूचना टाँस गरेर केन्द्रीय प्रतिनिधिहरू आइतबार विहान काठमाडौंं फर्केका छन् ।
दलका निर्वाचित सभापति ललित गुरुङ विदेश गएपछि गत बैशाख २४ गते काँग्रेसका जिल्ला सभापतिको सिफारिसमा कावा सभापतिको अधिकार पाएका भूपेस गुरुङले जिल्ला समिति विस्तार गर्ने, दुवै निर्वाचन क्षेत्रका सभापति र बेसीशहर नगरका सभापति समेत झण्डै १० जनाको सदस्यता नवीकरण नगरेको पीडित पक्षको भनाइ छ । उनीहरूका अनुसार तर कहिल्यै अनुहार नदेखिएकाहरू केहीको नाम समेत प्रतिनिधिको सूचिमा राखेर उनीहरूलाई कार्यसमितिमा ल्याउने तयारी रहेको बुझेपछि त्यसप्रति अधिवेशन तोकिएकै दिनदेखि विरोध हुँदै आएको हो तरुण दलका जिल्ला सदस्य रहेको उपसभापतिका प्रत्यासी शंकर सापकोटाले बताए । उनका अनुसार केन्द्रले हामी आएर विवाद मिलाउछौं भन्यो, र अघिल्लो दिनमा बेसीशहरमा आएर प्रयास गर्दा पनि सहमति भएको थिएन ।
अधिवेशनको दिन हामीलाई सहमति हुन्छ भनेर एकतिर अल्मल्याउने अर्कोतिर उदघाटन सत्र सुरु गर्ने कार्य भएपछि सहमति नभएसम्म सबै गतिविधि रोकिनु पर्छ भन्ने माग गर्दा यस्तो स्थिति उत्पन्न भएको घाइतेमध्येका नेपाली कांग्रेसका जिल्ला सदस्य किशोरजङ बस्नेतले बताए । उनका अनुसार अध्यक्ष बन्न चाहने कावा अध्यक्ष रहेका भूपेस गुरुङ आफै हतियार उठाउने काममा अग्रसर(पानस उठाएर साथीहरू कुट्न जाइलागे) भए । त्यस्तो मान्छेलाई कसरी अध्यक्ष स्विकार गर्न सकिन्छ ? बस्नेतले प्रतिप्रश्न गरे ।
उनले भने, ‘सो घट्ना हुँदा काँग्रेसका तीनपूर्व जिल्ला सभापति तथा तरुण दलका पूर्वजिल्ला सभापति, काँग्रेसका बहालवाला दुई उपसभापति लगायत तरुण दलका एक दर्जन केन्द्रीय सदस्य समेतको उपस्थितिमा भएको हो ।’ काल पल्किनु हुन्न भने हाम्रो धारणा हो, हतियार बरामद गर्ने तर हतियार लिने व्यक्ति गिरफ्तार नगर्ने प्रशासनको चालको घोर भत्र्सना गर्दछु बस्नेतले भने ।
सो घट्नामा घाइते हुनेहरुमा बेसीशहर नगरपालिका– ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका जिल्ला सदस्य शंकर सापकोटा र म आफै नेपाली कांग्रेसका जिल्ला सदस्य किशोरजङ बस्नेत घाइते भएको घाइते उनले उल्लेख गरे । उनका अनुसार यो काम काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङको संरक्षण जिल्ला सचिव कृष्णबहादुर अधिकारी र तरुण दलका केन्द्रीय सदस्य समेत रहेका बृषराज गुरुङको उक्साहटमा हतियार प्रयोग भएको हो ।
घाइतेमध्ये नेविसंघका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँलाई यहाँ स्थित प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रिफर गरिएको प्रदेश अस्पताल लमजुङका एचए गौतम पण्डितले बताउनु भयो । उनका अनुसार वडाध्यक्ष खुशीजङ गुरुङलाई पनि रिफर गरिएको छ, दुवै जनाको टाउकोमा समस्या देखिएको हुँदा सिटि स्क्यानका लागि रिफर गरिएको हो । अन्य घाइते दुई जना बस्नेत र सापकोटा उपचार पछि डिस्चार्ज गरिएको हो ।
तरुण दलको जिल्ला समिति, प्रदेश, केन्द्रीय प्रतिनिधि समेतको ८८ पदमा निर्वाचन हुनु पर्ने हो, केही पद रिक्त थिए । उम्मेदवारी एकलौटी ढंगबाट आएको बुझियो, उम्मेदवारी दर्ता गर्ने समय छदै घट्नाले अर्को रुप लिएपछि जेठ १० गतेसम्मका लागि अधिवेशन स्थागित गरिएको सो अधिवेशनको निर्वाचन समितिका संयोजक अधिवक्ता विजयप्रकाश अधिकारीले बताए । उनका अनुसार आजको मतदाता नियमावली केन्द्रमा पठाउने र केन्द्रले निर्णय गर्ने भन्ने सहमति भएको छ । उनले भने, ‘जिल्ला अधिवेशनमा भाग लिने कुल प्रतिनिधि अर्थात मतदाता संख्या ३५४ जना रहेको थियो ।’
तर पीडित पक्षले भने हामी घाइतेहरू उपचारबाट नफर्कदासम्म अधिवेशनमा भाग लिन सक्दैनौं भन्ने अडान राखेपछि अर्कोपक्ष अधिवेशन स्थगित गर्न बाध्य भएको बताइएको छ । पीडक पक्षले यस’boutमा खासै टिप्पणी गर्न रुचाएको छैन । केन्द्रीय सदस्य समेत रहेका बृषराज गुरुङसँग फोन सम्पर्कको पटक पटक प्रयास गर्दा पनि उठेन ।
कांग्रेसका जिल्ला सभापति समेत रहनु भएका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेसका पूर्व जिल्लासभापति समेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलका बीचमा केही वर्ष पहिलेदेखिनै गुटबन्दी चलिरहेको छ । काँग्रेसको १३ औं महाधिवशेनको क्रममा जिल्ला अधिवेशनमा गुरुङ र पौडेल दुवै जिल्ला सभापतिमा निर्वाचन लडेकोमा पौडेलको जीत भयो । १४औं महाधिवेशनमा पौडेलले निर्वाचन आफू सभापतिमा नलडी गमप्रसाद गुरुङलाई समर्थन गरे । निर्वाचनमा डा. टकराज गुरुङ सभापति निर्वाचित भएपछि पनि दुई पक्षका बीचमा गुटबन्दी र घोचपेच जारी रहेको थियो ।
गुरुङ र पौडेल दुवै गण्डकी प्रदेश सरकारमा क्रमशः आर्थिक मामिला मन्त्री र वन तथा वातावरण मन्त्री रहेका छन् । उनीहरू दुई बीचको मनोमालिन्यको परिणामले शनिबारको खुकुरी प्रहार गर्ने प्रतिफल दिएको काँग्रेसका शुभचिन्तकहरू बताउँछन् ।






