सिरकोटको सिँगो गाउँ व्यवसायिक किबी खेतीमा

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका किसानहरु किबीखेतीमा आकर्षित भएका छन् । गाउँपालिकाको वडा नम्बर १ सिरकोटको सिँगो गाउँ नै व्यवसायिक किबीखेतीमा लागेको हो । मकै लगायतका बाली लगाउँदा लागत बढी, उत्पादन र आम्दानी कम भएकोले किसानहरु किबी खेतीमा लागेका हुन् । अहिले किबीको बजार राम्रो भएकोले किसानलाई व्यवसायिक खेतीमा लाग्न प्रेरित गरेको हो । सिरकोटका १८ परिवारका नागरिकले अहिले दुई सय ५० रोपनी क्षेत्रफलमा किबी खेती गरिरहेका छन् । जसमा छ हजार चार सय बिरुवा लगाइएको छ ।

स्थानीय लक्ष्मीपति न्यौपानेले आफ्नो बारिमा २०७७ सालमा एक हजार चार सय बिरुवा लगाए । पहिलो उत्पादनको रुपमा गत बर्ष उनले दुई लाख ५० हजारको किबी खेचे । यो बर्ष सात लाखको बिक्री गर्ने लक्ष्य राखेको बताए । ‘गत बर्ष बिक्रीको सुरुको बर्ष थियो, यो बर्ष ४५ क्विन्टल फल्ने अनुमान छ ।’ न्यौपानेले भने, ‘बिक्रीबाट प्राप्त भएको आम्दानीले घरखर्च राम्रै चलेको छ ।’ रोजगारीको शिलशिलामा ०६१ सालमा भारत गएका उनी दुई बर्ष बसेर स्वदेश फर्किए । अहिले स्थानीय देउराली माध्यमिक विद्यालयमा अध्यापन समेत गराउने उनले किबीका साथै एक हजार चार सय सुन्तलाका बिरुवा समेत लगाएका छन् । सोही गाउँमा गगन तरामुको नौ सय तथा चन्द्रकला पाण्डेको आठ सय किबीका बिरुवा छन् ।

गत बर्ष सिरकोटबाट मात्रै १० लाखको किबी निर्यात भयो । स्थानीय बजारमा फुटकर प्रति केजी तीन सय र होलसेलमा प्रति केजी दुई सय रुपैँयामा बिक्री हुन्छ । औषत प्रतिकेजी दुई सय ५० रुपैँयामा स्थानीय बजारका साथसाथै बुटबल, भैरहवासम्म पनि किबी बिक्री हुने गरेको उन्नतशिल कृषि तथा फलफुल कृषक समुहका अध्यक्ष समेत रहेका पदमपाणी पाण्डेले जानकारी दिए । किबीका बिरुवा ०७७ सालमा दोलखाबाट प्रति बिरुवा तीन सयमा खरिद गरिएको थियो ।

पछि कालिगण्डकी गाउँपालिकाले पनि बिरुवामा अनुदान दिएको थियो । सिरकोटमा यो बर्ष सबै किसानको गरी कुल २० लाखको किबी बिक्री हुने अपेक्षा गरिएको छ । किबीले सामान्यतया लगाएको कम्तिमा चार बर्षदेखि अधिकतम ३५ बर्षसम्म फल दिने गर्दछ । जसले गर्दा किसानलाई बिरुवा लगाइरहने झन्झट समेत हुदैँन ।

‘यो बर्ष उत्पादन राम्रो छ, हामीले पनि पालिकाको तर्फबाट सक्दो सहयोग गरेका छौँ ।’ कालिगण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले भनिन्, ‘किसानलाई बिरुवा, मल, बजार लगायतका क्षेत्रमा हामी सहयोग गर्छौ ।’ उपाध्यक्ष दर्लामीले सिरकोटलाई किबीको नमुना गाउँको विकास गर्ने लक्ष्य पालिकाले लिएकोले किसानको समस्यामा पालिका सँगै रहने बताइन् ।

किबीखेतीमा आकर्षित भएका किसानलाई राज्यको तर्फबाट समेत राम्रो सहयोग मिलेको छ । सिँचाईको लागि जिल्लास्थित जलस्रोत तथा सिँचाई विकास डिविजन कार्यालयले दुईवटा पोखरी निर्माण गरेको छ । सिरकोट किबी खेती पोखरी जल पुर्नभरब योजनाबाट चालु आर्थिक बर्षमा सिँचाई विकास डिविजन कार्यालयले ७५ घनमिटरका ६५ हजार लिटर पानी अट्ने पोखरी निर्माण गरेको हो । आकाशे पानी र खेर गएको पानी पोखरीमा जम्मा हुनेछ भने खडेरीको बेला पोखरीबाट सिँचाई हुनेछ ।

१० लाखमा निर्माण भएका पोखरीबाट किसानलाई धेरै राहत मिलेको छ । ‘कृषिजन्य सामग्रीको उत्पादन बढाउने लक्ष्य हो ।’ कार्यालय प्रमुख भरत सापकोटाले भने, ‘कार्यालयको तर्फबाट जिल्लाभरी कुलो, पोखरी लगायतका क्षेत्रमा काम गरिरहेका छौँ ।’ उनले सिरकोटका किसानको लोभलाग्दो मिहीनेत भएको पनि बताए । त्यसैगरी कृषि ज्ञान केन्द्रले पनि दुईवटा पोखरी बनाएको छ भने किबीको लागि आवश्यक पिल्लरमा अनुदान दिएको छ । त्यसैगरी कालिगण्डकी गाउँपालिकाले पनि अहिलेसम्म दुई हजार पाँच सय बिरुवा अनुदानमा उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता