काठमाडौं । यती बेला अमेरिकाको यात्रामा रहेको लोक पप ब्यान्ड नेपथ्यले यो सिजनको कन्सर्ट टेक्ससको अस्टिन सहरबाट सुरु गरेको छ । टेक्ससको राजधानी स्थित ‘इमोज’ हलमा अमेरिकी समय अनुसार शनिवार बेलुका ९ बजेबाट सो कन्सर्ट सुरु भएको थियो । यसै साता सार्वजनिक गरिएको नयाँ गीत ‘कर्नालीका छाइला’ सुनाउँदै नेपथ्यले कार्यक्रमको शुभारम्भ ग¥यो । नेपथ्यले कन्सर्टमा यो गीत पहिलो पटक सुनाएको हो ।
कन्सर्टमा नयाँ गीतमा दर्शकहरू त्यतिकै झुमेको गायक अमृत गुरुङले बताए । आफूले पैदलै गाउँ बस्ती घुम्दा यो सहित कतिपय गीत संकलन गर्ने अवसर पाएको पनि गायक अमृतले सो क्रममा जानकारी गराए । संकलित गीत कन्सर्टमा सुन्न पाउँदा नेपाली दर्शक रमाएको पनि उनले बताए । यो प्रस्तुतिसँगै गीत अब युट्युबमार्फत सोही कार्यक्रममा सार्वजनिक समेत गरिएको छ । यो गीतलाई यसअघि एक सातासम्म नेपथ्य प्रेमीले डिजिटल प्लेटफर्ममा पैसा तिरेर सुन्दै आएका थिए ।
‘ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलो पटक गरेको सशुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो,’ नेपथ्यका व्यवस्थापक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले कन्सर्टमा भने, ‘आम दर्शकको चाहना अनुसार यो गीतलाई आजबाट हामीले युट्युबमा निःशुल्क हेर्ने व्यवस्था गरेका छौँ ।’
कन्सर्टमा यो पहिलो गीत पछि सा कर्णाली…, मै मरिजाउँला… गीत प्रस्तुत गर्दा दर्शकको उत्साह झनै बढ्यो । त्यस लगत्तै मञ्चमा उपस्थित ब्यान्डले ‘कोसीको पानी…, शिर फूल… सुनाएको गायक अमृतले जानकारी गराएका छन् । उनको भनाइमा दुई घण्टा भन्दा लामो यो कन्सर्टमा यस पटक नेपथ्यलाई सुन्न धेरै जसो अमेरिकामा रहेका नेपालीहरू सपरिवार उपस्थित थिए ।
अमृतका अनुसार यस पटक पनि अमेरिकाका सात वटा सहरमा शृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्ने योजना सो ब्यान्डको रहेको छ । कन्सर्टको लागि आफूहरू पाँच दिन अघि मात्र अमेरिकाको टेक्सस आइपुगेको नेपथ्य टिमले जनाएको छ । टेक्ससको अर्को सहर डालासमा ब्यान्ड यसअघि दुई पटक कन्सर्ट गरिसकेको भए पनि अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट भएको पनि टिमले जनाएको छ । बिगतका भन्दा यस पटकको कन्सर्ट राम्रो भएको प्रतिक्रिया नेपथ्यले दर्शकबाट पाएको छ ।
दर्शकको रूपमा यस पटक सो कन्सर्टमा पुगेका नेपाली चलचित्र निर्देशक नारायण पुरीले कार्यक्रम’bout भने, ‘नेपथ्यको कार्यक्रम राम्रो हुन्छ भन्ने मलाई पहिलेदेखि नै थाहा थियो र यस पटक गजब राम्रो भयो । यस कार्यक्रमले हामी सबैलाई आफ्नो जरासँग लगेर जोडेको अनुभव भने मलाई सबैभन्दा विशेष लाग्यो ।’
नेपथ्यले एक महिना लामो यात्राको कार्यसूची सहित यो सातौँ पटक अमेरिकाको यात्रा गरहेको हो । यात्राको प्रारम्भदेखि नै आफूले सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत ब्यान्डको यस यात्रा’bout प्रशंसकलाई अवगत गराउँदै आएकाले हरेक सहरमा टिकट बुकिङ राम्रो भइरहेको पनि मुख्य गायक एवं नेपथ्यका अगुवा अमृत गुरुङले बताए ।
यस पटक कन्सर्टमा मुख्य गायकमा अमृतलाई ड्रम सेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाई रहेका छन् ।
अस्टिनको कन्टर्सको सफलताले पुलकित भएको नेपथ्य अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि दक्षिण वर्ती राज्य टेक्ससबाट क्यानडासँग सिमाना जोडिएको उत्तरी वासिङ्टन राज्य पुग्दै छ । सो राज्यको सबै भन्दा ठुलो सहर सियाटलमा २३ मेमा नेपथ्य प्रस्तुतको तयारीमा रहेको पनि अमृतले जानकारी गराएका छन् । त्यो दिन त्यहाँको ‘मुर थिएटर’ मा बेलुकी ८ बजेबाट कन्सर्ट सुरु हुने छ ।
यसपछि नेपथ्यले २६ मेमा क्यालिफोर्नियाको लस एन्जलसमा, ३१ मेमा पेन्सिलभेनियाको पिट्सबर्ग, ७ जुनमा इलिनोइसको सिकागो, ११ जुनमा म्यासाचुसेट्सको बोस्टन र १४ जुनमा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत दिने पनि टिमले जनाएको छ । त्यसपछि यो टेली नेपाल फर्कने छ ।






