हेटौंडा । मासु पकाउँदा तेल भनेर डिजेल भुटुन हाल्दा आगो सल्किएर २ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा बुधबार साँझ आगलागी भएको हो । आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने वीरगन्जका सलाउदिन देवानकी छोरी १३ वर्षीया असिया खातुन घाइते भएकी प्रहरीले जानकारी दिएको छ ।
आगो लागेपछि उनको अनुहार, हात, पिठिउँ र खुट्टा जलेको छ भने उनीसगै बस्ने भारत बिहार राज्य, मोतिहारी जिल्लाकी २५ वर्षीया अफ्रिदा खातुन सामान्य घाइते भएकी छिन् ।
घाइते दुवैलाई हेटौंडा अस्पताल पठाइएको उनले बताए । उक्त घरमा लागेको आगो केहीबेरमै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रहरी निरीक्षक विमलाकुमारी कठायतले जानकारी दिइन् । आगलागीबाट काठको ढोका, धान, चामल र लत्ताकपडा जलेर अन्दाजी बीस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।






