ग्राहकको पर्खाइमा रामघाटको तरबुजा

कपिलवस्तु । बाणगंगा नदी किनारको हरियाली छिचोलेर जब तपाईँ बुद्धभूमि नगरपालिका–१० स्थित रामघाट पुग्नुहुन्छ, आँखा अगाडि फिँजिएका फाँटहरूले तपाईँलाई लोभ्याउँछ। यही उर्वर जमिनमा अहिले तरबुजाको सिजन चलिरहेको छ। मोतिनगर, चेतरादेई र भगवानपुरका झन्डै तीन दर्जन कृषकले आफ्नो पसिनाले यो भू–भागलाई फलाउने कोसिस गरेका छन्। वर्षौँदेखि बगरे खेती गर्दै आएका किसानले तरबुजा उत्पादनको मुख्य सिजन चलिरहँदा पनि आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।

मोतिनगरका किसान गंगासागर केवट खेतको छेउमा उभिएर भन्छन्, “हामीले ताइवानी जातदेखि नेपाली जातसम्म तीनथरिका तरबुजा फलाएका छौँ। मेहनत ग¥यौँ, ऋण लियौँ, तर अहिले त्यो सबै खेतमै थन्किएको छ।”

केवट जस्ता धेरै कृषकहरूको गुनासो उस्तै छ, बजारमा भारतीय तरबुजा ‘स्थानीय’ को नाममा बेचिँदै छ, त्यो पनि महँगो मूल्यमा। स्थानीय तरबुजा चाहिँ सस्तोमा पनि किन्ने कोही छैन। अर्की किसान ज्ञानमती केवटले पनि सोही पीडा दोहो-याइन्। “हामीले उत्पादन गरेका तरबुजा बजारमा मूल्य नपाएर थन्किएका छन्। लगानी पनि उठ्न सकेको छैन,” उनले भनिन्। उनी भन्छिन्, “भारतीय उत्पादनले बजार कब्जा गर्दा नेपाली किसानको पसिना पानी जस्तै बगिरहेको छ।”

यस्तै, किसान पङ्कज केवटले आफ्नो खेतमा उत्पादन भएका तरकारीहरू बिक्री नहुँदा गाईबस्तुलाई खुवाउनु परेको बताए। “बजारमा भारतीय तरकारी सस्तोमा आउने र ‘स्थानीय’ भनेर बेचिने परिपाटीले हामीजस्ता कृषक मारमा परेका छौँ,” उनले दुःख पोखे। उनका अनुसार २० कठ्ठा जमिनमा बगरे खेती गरिएको छ र सिङ्गो परिवार यही खेतीमा आश्रित छ। सरकारबाट मल र सिँचाइको सहज उपलब्धता भए अझ प्रभावकारी खेती हुन सक्ने उनी बताउँछन्।

यता, बुद्धभूमि नगरपालिकाका कृषि विकास अधिकृत देबिराम बेल्वासेले किसानको समस्याप्रति गम्भीर चासो रहेको बताए। “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति बनाएका छौँ। तर कार्यान्वयनमा चुनौती छ” उनले भने। सीमावर्ती क्षेत्रको बजार अनुगमन र विदेशी तरबुजाको नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोजिने उनले बताए।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम