कपिलवस्तु । सडक दुर्घटनामा लगातार वृद्धि भइरहेपछि कपिलवस्तु प्रहरीले दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि नागरिक सहभागितामा आधारित नयाँ अभ्यास सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सूचना जारी गर्दै सर्वसाधारणलाई ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी फोटो वा भिडियो खिचेर पठाउन आग्रह गरेका छन्।
सडकमा बढ्दो लापरवाही र नियमको अवज्ञालाई नियन्त्रणमा लिनका लागि यो अभ्यास सुरु गरिएको जनाइएको छ। “जनतासमेत बिना बर्दीका प्रहरी हुन्,” भन्दै प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहन मणि अधिकारीले ट्राफिक व्यवस्थापन सुधार गर्न नागरिक सहयोगको अपिल गरेका छन्।
जनताले खिचेका फोटो वा भिडियोको आधारमा सम्बन्धित सवारीसाधनलाई आवश्यक कारबाही गरिने र सूचनादाताको गोपनीयता पूर्ण रूपमा सुरक्षित गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिएका छन्।
सवारी नियम उल्लंघन गरिएका दृश्यहरू ९८५७०५१०३८ वा ९८५७०५१०३७ नम्बरमा ह्वाट्सएपमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।
प्रहरीको विश्वास छ— यस किसिमको नागरिक सक्रियताले भित्री तथा टाढाका सडक क्षेत्रमा समेत ट्राफिक नियम पालनामा सुधार ल्याउनेछ। साथै, यो कदमले नागरिक सचेतना अभिवृद्धि गर्ने र उत्तरदायी तथा सुरक्षित सडक संस्कृतिको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।






