राजविराज । जंगली बँदेलबाट मकै बाली जोगाउन खेतबारीमा फुसको टहरा बनाई बसेका एक बृद्ध किसानको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
हात्तीले चार वटा घर समेत भत्काइ दिएका छन् । शनिबार एकाबिहान सप्तरीको कंचनरुप नगरपालिका १२ का बृद्ध किसान ६६ वर्षिय दशरथ भन्ने केदारबहादुर विष्टको यसरी ज्यान गएको हो ।
स्थानीयका अनुसार केही दिन यता जंगल क्षेत्रबाट रातीको समयमा आउने बँदेलले त्यस क्षेत्रमा मकै लगायतका अन्य अन्न बाली खाइदिने गरेपछी घरबाट एक सय मिटर टाढा रहेको आफ्नो खेतबारीमा लगाइएको मकै बाली जोगाउन उनी रातीको समयमा उत्तै बस्ने गरेका थिए ।

त्यही बेला एकाबिहान १–२ बजेतिर कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तीको समूहले उनीमाथी आक्रमण गरेको प्रहरीको भनाई छ । हात्तीको दाह शरीरको विभिन्न भागमा गाडिएपछी उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
हात्तीको आक्रमणबाट मृत्यु भएका विष्टको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पु¥याइएको छ । हात्तीले सोही पालिकाको वडा नं. ११ डेंग्री टोलमा चार वटा घर भत्काउनुका साथै किसानहरुको अन्न बाली समेत खाइदिएको प्रहरीको भनाई छ । जंगली हात्तीले सो वडाका दिपेश चौधरी, बिजय चौधरी, सजनकुमार चौधरी, छेदीलाल चौधरीको घर र शौचालय हात्तीले भत्काएका हुन् ।
उक्त क्षेत्रमा यो पहिलो घटना भने होइन् । यस अघि पनि विभिन्न समयमा हात्तीको आक्रमणबाट हालसम्म डेढ दर्जन भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
सप्तरीको पूर्वी उत्तरी क्षेत्र कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिकाको दर्जनौं गाउँ, टोल दशकौंदेखी जंगली हात्तीको चपेटामा पर्दै आएका छन् । हात्ती आतंक सहन नसकेर नियन्त्रण र क्षतिपूर्ती माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटक पटक स्थानीय प्रशासन र कोशी टप्पु बन्यजन्तु आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर पनि अहिलेसम्म कुनै ठोस पहल हुन नसकेको उनीहरुको गुनासो छ ।
जंगली हात्ती तथा अन्य जनावरले आक्रमण गरेर मान्छेको ज्यान लिनुका साथै गाउँ टोलमा पसेर घर भत्काउने र खेतमा लगाइएको कृषिजन्य बालीलाई समते क्षति पु-याउने गरेको भन्दै स्थानीयले अविलम्ब यसको नियन्त्रणका लागि ठोस उपाय खोज्न सरकारसँग माग गरेका छन् ।