कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले महिलामा देखिने पाठेघर खस्ने समस्याको समाधानका लागि चिकित्सक टोलीसहित बस्ती–बस्ती पुगेर चेकजाँच सुरु गरेको छ। आइतबारदेखि सुरु भएको पाँच दिने विशेष स्वास्थ्य शिविर नगरपालिकाका सबै वडामा चरणबद्ध रूपमा सञ्चालन हुँदै छ। शिवपुर स्वास्थ्य चौकीबाट सुरु भएको शिविरमा स्थानीय महिलाको उल्लेखनीय सहभागिता देखिएको छ।

चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोलीले पाठेघर खस्ने समस्याबाट पीडित महिलाको पहिचान गरी तत्कालै उपचारमा सघाइरहेको शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले बताइन। उनले “महिलाका गोप्य स्वास्थ्य समस्या’bout खुल्न नसक्ने सामाजिक प्रवृत्तिलाई तोड्न यस्ता शिविर आवश्यक रहेको उल्लेख गरिन। थारुले भनिन्, “लाज र जानकारीको अभावले धेरै महिलाले बोल्न सक्दिनन्, त्यसैले हामी आफैँ उनीहरूको घरदैलोमा पुगेर समस्या बुझ्ने र समाधान दिने प्रयासमा छौँ।”
शिविरमा देवदह मेडिकल कलेजको प्राविधिक सहयोग रहेको छ भने सम्पूर्ण सेवा शिवराज नगरपालिकाको आर्थिक सहायतामा निःशुल्क प्रदान गरिएको हो। पाठेघरको अवस्था अनुसार औषधि, रिङ राख्ने र शल्यक्रिया सेवा समेत उपलब्ध गराइएको छ।
शिवगढी स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ३० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये ४ जनामा पाठेघर खस्ने समस्या भेटिएको छ। तीमध्ये पहिलो र दोस्रो डिग्रीका ३ जनालाई रिङ राखेर उपचार गरिएको छ भने एक जनालाई शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको स्वास्थ्य चौकी प्रमुख वीरेन्द्र मिश्रले जानकारी दिए।