कपिलवस्तु । इँटा भट्टाको तातो धुवाँ र धुलोबिच पसिना बगाउँदै हुर्किएकी थिइन् स्मृति। जातीय अपमान, चरम गरिबी र समाजको तिरस्कारका बिच पनि उनले कहिल्यै पढाइ छाडिनन्। न भत्कियो सपना, न थाक्यो हिम्मत। मधेसी दलित समुदायको चुलोमै सीमित मानिएका छोरी, आज सेतो कोटमा जनताको सेवा गरिरहेकी छिन्। स्मृति हरिजन, चमार समुदायबाट नेपालको पहिलो महिला डाक्टर बन्न सफल भएकी छिन।
कपिलवस्तुको बहादुरगन्ज निवासी सन्तराम हरिजन जीवनको हरेक मोडमा सङ्घर्षसँग लड्दै, आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको सपना देखिरहे । कृष्णनगर नगरपालिका–८, बहादुरगन्जकी स्मृति हरिजन मधेसी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट उनी हालसम्मकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छिन् ।

स्मृतिको यो उपलब्धि केवल उनको व्यक्तिगत सफलता मात्र होइन । समाजमा गढेको विभेदलाई शिक्षाको माध्यमबाट फाल्न सकिन्छ भन्ने उदाहरण पनि हो । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गरेकी स्मृति अहिले जनकपुरमै इन्टर्नसिप गर्दै छिन् । नेपाल मेडिकल काउन्सिलको परीक्षा (एनएमसी) उत्तीर्ण गरेपछि उनलाई सामाजिक सञ्जालबाट बधाई दिनेहरूको ओइरो लागेको छ । इन्टर्नसिप सकिए पछि उनले सरकारको योजना अनुसार दुई वर्ष सेवा दिनुपर्ने छ ।
स्थानीय राम गोरखा माविबाट माध्यमिक तह अध्ययन गरेकी स्मृति सानै देखी पढाइमा अब्बल थिन । उनी भन्छिन् “हाम्रो समुदायका महिलालाई आठ कक्षा पार गराउन समेत गाह्रो हुन्छ । माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ, तल्लो जातको पढ्न हुँदैन भन्ने सोच अझै पनि छ ।” स्मृति थप्छिन् , “म पहिलो हुँ, तर अन्तिम होइन । म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछ, म त्यो तारा हुँ जसपछाडि हजारौँ चम्कने छन् । “शिक्षा नै मुक्ति हो । म चाहन्छु, मेरा जस्ता अरू पनि डाक्टर, इन्जिनियर बनुन् ।”

बाबुको सङ्घर्ष — सपनाको आधार
स्मृतिका बाबु सन्तराम हरिजनको जीवन आफैँमा एक प्रेरक कथा हो । २०३९ सालमा एसएलसी पास गरेका उनी नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक बनेका थिए । तर, जब उनले एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरे, झूटो आरोपमा ‘तीन हजार घुस खाएको’ भन्ने षड्यन्त्रमा परी जागिर गुमाउनुपर्यो । “म निर्दोष थिएँ, तर शक्तिशालीसँग लड्न सकिँदैनथ्यो,” सन्तराम भन्छन् । जागिर गुमाएपछि उनले शिक्षण पेसा अपनाए । मजदुरी, ऋण र गरगहना बेचेर पनि उनले आफ्ना सन्तानलाई पढाइमा कुनै सम्झौता गर्न दिएनन् ।
स्मृति बाहेक, उनको परिवारका अन्य सदस्यहरू पनि उच्च शिक्षा हासिल गर्दै छन् । माइली छोरी सृजना बेलायतमा एमबिए (फाइनान्स) अध्ययनरत छिन् भने छोरा सन्दीप भारतको प्रतिष्ठित एन आइटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङमा अध्ययनरत छन्, त्यो पनि भारत सरकारको छात्रवृत्तिमा ।
स्मृतिको यो सफलता दलित समुदाय, विशेष गरी महिला शिक्षामा नयाँ आशा र सम्भावना बनेको छ । उनको सफलता दलित महिला र युवतीहरूलाई नयाँ मार्गदर्शन दिने प्रेरणा समेत बनेको छ ।






