गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले निर्माण गरेको जीपलाइनमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पालिकाले वडा नम्बर ३ स्थित देवालय मन्दिरदेखि भगवती मन्दिरसम्म पुग्नेगरी निर्माण गरेको जीपलाइनमा चढ्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जीपलाइन पुग्ने धेरैले मन्दिरको समेत अवलोकन गर्ने गरेका छन् । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नीतिका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले गत बर्षको पौषबाट जीपलाइन संचालनमा ल्याएको थियो ।
हालसम्म छत्रकोटका साथसाथै रुरुक्षेत्र, गुल्मीदरबार, रेसुङ्गा, धुर्कोट, मदाने, मालिका लगायत जिल्ला भित्र र जिल्ला बाहिरका एवं भारतका समेत नागरिकले जीपलाईन चढेको जीपलाईनमा प्राविधिकको काम गरिरहेका नगरप्रहरी दुर्गा कुमालले जानकारी दिए । ‘जीपलाइन सडकमै पर्ने भएकोले अवलोकन गर्नेलाई पनि सहज छ ।’ उनले भने, ‘दैनिकरुपमा चढ्न आउनुहुन्छ ।’
हालसम्म जीपलाईनमा कुल एक हजार छ सय ९२ जना पर्यटक चढेका छन् । जसबाट छ लाख ८१ हजार चार सय ५० रुपैँया आम्दानी भएको नगर प्रहरी कुमालले बताए । जीपलाइन चढ्नको लागि छत्रकोटबासीको लागि चार सय, स्वदेशी पर्यटकको लागि पाँच सय, विद्यार्थीको लागि तीन सय र विदेशी पर्यटकको लागि एक हजार पाँच सय मूल्य तोकिएको छ । जिपलाईनमा चढ्ने प्रत्येक पर्यटकको लागि १० लाखको बीमा समेत गरिएको छ ।
चोयघा मन्दिर आफैमा पर्यटकीय स्थल हो । मन्दिरमा जिल्लाका धेरै ठाउँका नागरिक बजभोजको लागि पुग्ने गर्दछन् । त्यही ठाउँमा जीपलाइन संचालन गरेपछि एकातर्फ मन्दिरको प्रचार–प्रसार भएको छ भने अर्कोतर्फ मन्दिरमा आएका पर्यटक जीपलाईन चढ्ने गरेका छन् । सडककै छेउमै जीपलाईन हुनाले पनि धेरैको पहुँचमा छ ।

‘पहिलोपटक जीपलाइन चढ्को, सुरुमा त धेरै डर लाग्यो, पछि आनन्द आयो ।’ गोरखाबाट आएका पर्यटक भरत सापकोटाले भने, ‘अन्य व्यक्तिहरुलाई पनि जीपलाइन चढ्ने सुझाव दिन्छु ।’ धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले पनि पहिलो पटक जीपलाईनको आनन्द लिए । सुरुमा डर लागेपनि जीपलाईनमा कुनै असहज नभएको उनको भनाई छ । ‘छत्रकोटको जीपलाइन’bout धेरै सुनेको थिए, चढेको थिइन ।’
उनले भने, ‘मन्दिरकै छेउमै जीपलाइन संचालन गरेर पालिकाले राम्रो काम गरेको छ ।’ उनले जीपलाइन नजिकै भएका पिङ, पार्क, मन्दिर लगायतका संरचनाले जीपलाइनमा झनै आकर्षक थपिएको प्रतिक्रिया दिए । साथै राम्रो र सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट, विभिन्न ठाउँमा लोकेसन लगायतका संरचना बनाउनुपर्ने सुझाव पनि दिए ।
जिपलाइनमा दुई टावरबीचको दुरी नौ सय ६० मिटर रहेको छ भने कुल लम्बाई एक हजार ८० मिटर रहेको छ । त्यसैगरी दुई टावरबीचको उचाई ६७ मिटर रहेको छ । जिपलाइनमा प्रति सेकेण्ड १५ देखि २० मिटर दुरी पार गर्न सकिनेछ । जिपलाइनमा सुरु स्टेशनदेखि ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिनेछ । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय फरक पर्नेछ ।
जिपलाइन ८६ लाख ७३ हजार एक सय ४४ रुपैँयामा सानु सेतीदेवी कन्ट्रक्सन प्रा.लि.ले निर्माण सम्पन्न भएको हो । गाँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न जीपलाइन संचालन गरिएको बताए । ‘दिनानुदिन जीपलाइनप्रतिको आकर्षण बढ्दै गएको छ, पालिकाबासी पनि उत्साहित हुनुहुन्छ ।’ अध्यक्ष रामप्रसाद पाण्डेले भने, ‘हामी अझै व्यवस्थित गर्दैछौं ।’






