भोजपुर । भोजपुरमा यस वर्ष सुन्तला विक्रीबाट ३० करोड बढी रकम भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेटिक्टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्षको तुलनामा १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको कार्यालयको भनाइछ ।
भोजपुरमा उत्पादन भएको सुन्तला धनकटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी , विराटनगर, काठमान्डौ लगाएतका शहरमा बिक्रीका लागि जाने गरेको छ । करिव दुई करोड रुपैयाँ मूल्य बरावर सुन्तला भने आन्तरिक रुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको कृषि ज्ञान केन्द्र भोजपुरका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले बताए । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको थियो ।
भोजपुरमा ७८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनको लागि योग्य जमिन भए पनि हाल ५८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भईरहेको छ । जिल्लाका भर २८७ वटा ठूला बगंैचा तथा सामान्य रुपमा पनि सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । अन्य बालिको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नको लागि ठेकेदारहरु बगैंचामा नै आउने भएको कारण कृषकहरु सुन्तला खेतीमा आकर्षित भएको कार्यालयले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिका –२ छिनामुखुका सुन्तला कृषक सुमन प्रधानले भने ‘पहिला धरान ईटहरी ढाकार डोकोमा बोकेर सुन्तला बेच्नु पर्ने अवस्था थियो, अहिले बगानमा नै ठेकेदारहरुको लर्को लाग्छ, थोरै मेहनतमा आम्दानी पनि राम्रो छ ।’
जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, हतुवागढी गाउँपालिकाको रानीवास, अरुण गाउँपालिकाको साङ्गपाङ्ग, प्याउली षडानन्द नगरपालिकाको मुलपानी, लगाएत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । सुन्तला उत्पादन हुने क्षत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरि कृषकलाई अनुदानको व्यवस्था गरेसँगै यसतर्फ झनै कृषकहरु आकर्षित भएका हुन् ।