कोभिड–१९ को असरविरुद्ध हाम्रो कर्तव्य

इतिहासको विभिन्न कालखण्डमा विभिन्न नामले धेरै प्रकारका माहामारीले करोडौंको संख्यामा मानिसको प्राण लिएको अध्ययन र सन् १९७० पछिका माहामरी मैले नजिकबाट नियालेको अनुभव छ । सन् २०१९ को डिसेम्बर ३० मा चीनको वुहानबाट फैलिएको अदृश्य रोग नोबल कोरोना भाइरस (कोभिड–१९) बाट एकैपटक संसारभरका राष्ट्रमा फैलिएको यस रोगबाट ३७ लाख ८४ हजार जनाभन्दा बढी मानिस संक्रमणमा परी उपचार गराइरहेका छन् भने १२ लाख ५४ हजार जना उपचारपछि निको भएर आआफ्नो घर गएका छन् ।

के धनी, के गरिब, के विकसित, के विकासोन्मुख सबै ६५ राष्ट्रका २ लाख ६५ हजार जनाभन्दा बढी विवेकशील प्राणीको ज्यान गइसकेको छ । संसारलाई नै आफ्नो नियन्त्रणमा राख्न सक्छु भन्ने दाबी गर्ने विश्वकै धनी तथा शक्ति सम्पन्न राष्ट्र अमेरिकामा ७३ हजार ४ सय ३१ जनाको मृत्यु भइसकेको छ भने १२ लाख २९ हजार जनाभन्दा बढी मानिस यो अदृश्य रोगबाट संक्रमित बनी हस्पिटलको बेडमा छटपटाउँदै उपचाररत छन् ।

संक्रमणको संख्या दिनानुदिन बढी रहेको छ भने मृत्यु हुनेको संख्यामा पनि कमी आएको देखिँदैन । एक समय कहिल्यै घाम नअस्ताउने मुलुक बेलायतमा ३० हजार १ सय ५० जनाको मृत्यु भएको छ भने २० लाख २ हजार जनाभन्दा बढी संक्रमित भई अस्पतालमा रोगसँग संघर्ष गरिरहेका छन् । इजिप्टले आफू मात्र सभ्य ठान्दछ, आफ्ना नागरिक नपुगेका ठाउँको समाज असभ्य ठान्दछ र इजिप्टको संस्कृति अँगाल्ने समाजलाई चाहिँ सभ्य समाज भन्ने यस राष्ट्रमा ४ सय ६९ जनाको मृत्यु भएको छ भने ७ हनार ५ सय ८८ जना अस्पतालमा उपचाररत छन् ।

संसारका देशले आफ्नै नागरिकलाई रोजगारी दिने नीति बनाउँदै गरेको अवस्थामा नेपालले पनि त्यसअनुरूपको नीति र कार्यक्रम निर्माणमा ढिलाइ गर्नुहुँदैन

अन्य युरोपियन राष्ट्रमा पनि कोरोनालाई नियन्त्रण गर्न सकिरहेको देखिँदैन । कोरोनाको उद्गम छिमेकी मुलुक चीनमा ४ हजार ६ सय ३७ जना मृत्यु भएर ८३ हजार ९ सय उसले कोरोनालाई नियनत्रण गरी जनजीवन सामान्यीकरण बनाएको देखिन्छ ।

सार्क राष्ट्रहरूमा पनि अदृश्य विषाणुले आहत बनाएको छ । सबैभन्दा बढी भारतमा १ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् भने ४९ हजारभन्दा बढी संक्रमित भई अपचार गरिरहेका छन् । नेपालमा दुई महिनाको शिशुदेखि ज्येष्ठ नागरिकसम्मका १ सय २१ जना संक्रमित भई विभिन्न अस्पतालमा उपचारमा रहेका छन् । पूर्वीय दर्शनअनुसार योग, साधना, वीर र साहसीको मजबुत जिनका रोग प्रतिरोधात्मक क्षमता भएको कारणले आजसम्म कोभिड–१९ बाट कसैले जीवन गुमाउनुपरेको छैन । भुटानमा राम्रो व्यवस्थापनको कारणले कोभिड–१९ बाट संक्रमित बिरामीहरू उपचारपछि निको भइसकेका छन् ।

संसारमा नयाँ नयाँ रोग देखा पर्दछन् । निदानका लागि वैज्ञानिकले नै खोपको विकास गर्ने गर्दछन् । कोरोनाविरुद्ध खोपको अनुसन्धान र प्रयोग भइरहेको छ तर धेरै चरणको परीक्षणपछि बजारमा आउन एक÷दुई वर्ष लाग्न सक्ने कुरा वैज्ञानिकहरूले बताइरहेका छन् ।

खोपको उत्पादन नभएसम्मका लागि विज्ञहरूको रायअनुसार संसारले प्रयोगमा ल्याएका नियन्त्रणात्मक उपाय आइसोलेसन, क्वारिन्टिन र लकडाउन हुन् । नेपालले उक्त सबै विधि पूर्ण रूपले अवलम्बन गरिरहेको छ । संसारका सबै मुलुकले लकडाउनबाटै आन्तरिक तथा बाह्य आप्रवास बन्द गरेका छन् ।

असल मनसायले कार्यक्रम निर्माण गरी लागू गर्न कोरनाले सुवर्ण अवसर दिएको छ

नेपालले पनि ११ चैत २०७६ देखि ५ वैशाख २०७७ सम्म लकडाउन घोषणा गरेर नागरिक आफू सुरक्षित भई आफन्त, छिमेकी, टोल, समाज र देशलाई नै सुरक्षित बनाइरहेका छन् । लामो समयसम्म देशलाई लकडाउनमा राख्दा देशको समग्र आर्थिक, सामाजिक, अ‍ौद्योगिक, वित्तीय, मौद्रिक, सांस्कृतिक र वाणिज्य व्यवस्थामा असर पर्नुका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा समेत असर परेको छ । निर्यात ठप्प हुन थालेको छ । कर र गैरकर राजस्व ह्रासोन्मुख भएको छ । कुल गार्हस्थ्य आय घट्न गई प्रतिव्यक्ति आयसमेत घट्दै गएको छ ।

मानिस परिवारमा सीमित रही समाजबाट टाढा हुँदै गएको छ । ग्लोबल भिलेजको मोडलमा परिवर्तन हुने देखिएको छ । संसारका मानिस सुरक्षित स्थलको खोजीमा भौतारिइरहेका छन् । संसारका देशहरूले आफ्नै नागरिकलाई रोजगारी दिने नीति बनाउँदै गरेको अवस्थामा संसारभरि रहेका ६० लाखभन्दा बढी जनसंख्या नेपालमा फर्कने हो भने उनीहरूको व्यवस्थापन नेपाल सरकारलाई चुनौती र अवसर दुवै हुन सक्नेछ ।

नयाँ नेपाल निर्माणमा कोभिड–१९ बाट सुरक्षार्थ लागू गरेको लकडाउने सिर्जना गरेका चुनौतीलाई अवसरमा परिणत गर्न यस वर्षको बजेटले देहाएका विषयलाई कार्यक्रमका साथ कर्तव्यका रूपमा अगाडि बढाउनु उचित हुन्छ । यसका लागि चक्लाबन्दी भूउपयोग नीति लागू गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने, गुणस्तरीय स्वास्थ्य सबैको पहुँचयोग्य बनाउने, संघीय संगठन संरचना छरितो बनाई प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने, जुनसुकै स्तर र तहको कामलाई उत्तिकै सम्मान गर्ने, गराउने नीति निर्माण गर्ने, सेटलाइट सिटी र प्रत्येक गाउँपालिका र नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरी स्थानीय स्तरमा नै रोजगारी सिर्जना गरी बसाइँसराइलाई नियन्त्रण गर्ने कार्यक्रम ल्याउने र तीनै तहका सरकारको सार्वजनिक प्रशासनमा शून्य सहनशीलताका कार्यक्रम लागू गर्ने गर्नुपर्छ ।

यसका साथै, कृषि र घरायसी कामको भारलाई आर्थिक सूचकमा समावेश गर्ने कार्यक्रम बनाउने, निजी विद्यालय र निजी अस्पताललाई सामुदायिक बनाउने, जुनसुकै राजस्वको अनलाइन पद्धतिबाट तिर्न पाउने व्यवस्था मिलाउने, केन्द्रीय सर्भरबाट सवारी व्यवस्था अनुगमण र नियन्त्रण गर्ने प्रबन्ध मिलाउने र गुणस्तर तथा दिगो विकासका बाध्यकारी कार्यक्रम लागू गर्ने प्रणाली बनाउनुपर्छ । साथै, कमिसन ल लागू गरी सबै सुरक्षित बनी राज्य कोषमा जम्मा रकम सामुदायिक काममा खर्च गर्ने बानी बसाल्नुपर्छ ।

थप प्रयासका लागि विप्रेषणमा आउन सक्ने कमीको क्षतिपूर्ति हुने खालका आर्थिक एवं मौद्रिक नीति लागू गरिनुपर्ने, उत्पादन र सेवामूलक उद्योगलाई राहतका कार्यक्रम लागू गर्ने, स्वदेशी वस्तुको उत्पादन र उपभोग गर्ने नीति निर्माण गर्ने, सबै राष्ट्रसेवकलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने, कृषकलाई निःशुल्क मल, बीउ र न्यूनतम ज्याला दिई उत्पादित वस्तु सरकारले किनी दिने नीति अवलम्बन गर्ने बानीको विकास गर्नुपर्छ ।

मनन गरौं, यो वर्ष असल मनसायले कार्यक्रम निर्माण गरी लागू गर्न कोरनाले सुवर्ण अवसर दिएको छ । सरकारले ल्याएका कार्यक्रम सार्वजनिक प्रशासनले असल नियतले कार्यान्वयन गर्ने र नागरिक समुदायबाट अनुगमन र अनुमोदन हुने विश्वास गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार