काठमाडौँ । करिब १ हजार खेलाडी प्रतिस्पर्धामा रहेको काठमाडौँ जिल्लाव्यापी वृहत खेलकुद कार्यक्रम हिजो देखि सुरु भएको छ । लैनचौर ग्राउण्डमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दीप प्रज्वलन गर्नुका साथै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ओलम्पियन सन्ध्या शाक्यलाई ओलम्पिक टर्च प्रदान गरेर प्रतियोगिता शुभारम्भ गरेका थिए । काठमाडौं महानगरापालिका २६ ले आयोजना गरेको प्रतियोगितामा महानगरपालिकाका ३२ वडाहरुसँगै जिल्लाका करिब १ हजार खेलाडीले विभिन्न ५ वटा विधामा प्रतिस्पर्धा गर्नेछन ।

कार्यक्रमको शुरुवात कामपा वडा ३० र १४ का बिच भएको उद्घाटन खेलमा मन्त्री पौडेल र उपप्रमुख डंगोलले रेफ्रीलाई फुटबल प्रदान गरेर गरेका थिए । कार्यक्रममा मन्त्री पौडेलले खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाजको प्रवर्धन, टोलबासी, वडाबासी र अन्तरपालिका बिच सद्भाव बढाउने र साथै खुशी रहन स्वस्थ्य रहनु पर्ने पनि बताए । खेल र स्वास्थ्यको प्रसङ्ग जोड्दै पौडेलले खेलले स्वस्थ्य जीवन प्रदान गर्दछ र स्वस्थ्य जीवनले मात्र खुशी प्राप्त हुनसक्दछ भन्ने कुरा बताए ।
त्यसैगरि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यसबेला महानगरपालिकाको वडा नम्बर २६ ले जिल्ला स्तरीय खेल आयोजना गर्नु सशक्त सन्देश भएको र विकेन्द्रीकृत कार्यक्रमबाट वडालाई शसक्त बनाउने र नागरिकका ढोकामै कार्यक्रम पु¥याउने महानगरपालिकाको नीति हो रहेको बताए । कार्यक्रममा डंगोलले ‘वडाबाट जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नु यसको बलियो उदाहरण भएको बताइन ।
वडासँगै केन्द्रबाट पनि खेलकुदका कार्यक्रम सञ्चालन भइरहेको र खेलकुदमा सबैलाई अवसर प्रदान गर्ने कार्यक्रम रहेको उल्लेख गरे । ‘दृष्टिविहीनहरुका लागि फुटसल, व्हीलचेयर प्रयोगकर्ताहरुका बिचमा बास्केटबल प्रतियोगिता, पूर्ण अशक्त र अति अशक्तहरुका लागि बोसिया खेल सम्पन्न गरेका छौँ । हामी चाहन्छौँ, अवसर पाइन भनेर कसैले गुनासो गर्नु नपरोस् । यसका लागि हामी काम गरिरहेका छौँ ।’ ‘यो शुरुवात् हो । यसलाई थप वृहत र परिष्कृत गर्दै लैजानेछौँ ।’ उपप्रमुख डंगोलले सुनिताले बताए ।

कार्यक्रममा कामपा २६ का वडाध्यक्ष ख्यामराज तिवारीले हरेक वर्ष यसप्रकारको प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको र प्रतियोगिताबाट दक्ष खेलाडी उत्पादन गर्ने, सहरी स्वास्थ्य र सामाजिकीकरणमा योगदान हुने अपेक्षा रहेको बताए ।
खेल संयोजक तथा कामपा २६ का जनप्रतिनिधि प्रवेश श्रेष्ठले प्रतियोगितामा फुटसल, टेवुलटेनिस, तेक्वान्दो र कराँतेका २ विधा गरी ५ विधामा प्रतिस्पर्धा हुने जानकारी गराए । प्रतियोगिताका ’boutमा जानकारी दिँदै श्रेष्ठले वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल लगायत खेलका लागि पूर्वाधार उपलब्ध भएकाले प्रतिस्पर्धा गराउन सजिलो भएको बताए ।
सबै विधामा गरेर करिब १ हजार खेलाडीहरु प्रतिस्पर्धामा रहेको पनि जानकारी गराए । वडाले चालु आर्थिक वर्षमा खेलकुदका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतियोगिताअन्तर्गत फुटसल विधामा पुरुषहरुका बिच प्रतिस्पर्धा हुनेछ । नकआउटका आधारमा खेलाइने खेलमा प्रथम हुने टोलीलाई १ लाख ५० हजार रुपैयाँ, उपविजेता टीमलाई ७५ हजार रुपैयाँ नगदसहित पुरस्कार, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक १० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

तेक्वान्दो प्रतियोगिताको पहिल, दोस्रो र तेस्रो टीमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, फुल कन्ट्याक्ट क्योकुसिन कराँते (आइ. के. यु) तौल समूहमा खेलाइनेछ । यो पुरुषहरुका बिच प्रतिस्पर्धा हुनेछ । यसमा पहिलो, दोस्रो र तेस्रो हुने टीमलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । सान्त्वाना पुरस्कारमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।
डब्लु. के. एफ. कराँते प्रतियोगिता महिला खेलाडीहरुका बिचमा हुनेछ । यसमा एकल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै टीम विजेता पहिलो दोस्रो र तेस्रोलाई क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।

