काठमाडौं । नेपालमा चलचित्र गीतपछि युट्युबमा सबै भन्दा बढी हेरिने गीतको सूचीमा लोक तथा लोक दोहोरी गीत परेका छन् । नेपालमा कुनै समय आधुनिक अर्थात् सुगम संगीत बढी सुनिन्थ्यो । तर पछिल्लो युट्युबको सूची हेर्दा सुगम भन्दा लोक तथा लोक दोहोरी गीतहरू बढी सुन्ने र हेर्ने गरिएको संगीतकर्मीहरु बताउँछन् ।
‘नेपालको कुल जनसंख्या करिब तीन करोड रहेको छ । तर नेपाली गीतहरू १० करोड पटक भन्दा बढी हेरिएको छ’, लोक गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले राजधानीसँग भने,‘ नेपालको जनसंख्या भन्दा तेब्बर, चौवर बढी पटक नेपाली गीतलाई दर्शकले हेर्ने गरेका पाइएको छ । त्यसमा पनि लोक तथा लोक दोहोरी गीतलाई दर्शक श्रोताले बढी माया गरेको देख्दा हामीलाई थप ऊर्जा मिलेको छ ।’
गायक चन्द्र शर्माले भनेको जस्तै नेपालमा १० करोड भन्दा बढी पटक हेरिएका १० गीतमा पाँच वटा चलचित्रका गीत छन् । बाँकी पाँच ओटा लोक तथा लोक दोहोरी गीत नै रहेको छ । जस मध्य एउटा लोक भाकाको गीत १५ करोड पटक, अर्को गीत ११ करोड पटक र बाँकी तीन गीत १० करोड भन्दा बढी पटक युट्उयुवमा हेरिएको छ । तसर्थ श्रोता दर्शकले पछिल्लो समय लोक एवम् दोहोरी गीतलाई त्यत्तिकै माया गरेको देखिन्छ ।

लोक भाकाको गीतमा सर्वाधिक भ्युज पाउने गीतको रेकर्ड गायिका जुना प्रसाईँको माया लुकी लुकी… गीतले बनाएको छ । यो गीतको भिडियोले हालसम्म युट्युब च्यानलमा १५ करोड ९३ लाख ८३ हजार (१५९ मिलियन) भ्युज पाइसकेको छ । आनन्द अधिकारीले लेखेको यो गीतलाई आशिष अविरलले संगीत गरेका हुन् । गीतको भिडियोमा कार्टुन्ज क्रयुका कलाकार सरोज अधिकारी र कलाकार आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

नेपाली लोक भाकाको अर्को गीत पिरिम नलाउनेले पनि ११ करोड पटक भन्दा बढी हेरिएको रेकर्ड बनाइसकेको छ । यो गीतले अहिलेसम्म ११ करोड ८१ लाख ७५ हजार (११८ मिलियन) भन्दा बढी भ्युज पाइसकेको छ । दीपक शर्माको शब्द संगीत रहेको यो गीतलाई आशिष सचिन र मेलिना राईले गाएका छन् । संगीतकार दीपक शर्माको भनाइमा यो गीतलाई सुरुमा एउटा चलचित्रमा राख्ने कुरा भएको थियो । तर चलचित्रको भन्दा बढी पैसा दिएर आशिषले किनेर राम्रो भिडियो बनाए । आफूले नसोचेको सफलता यो गीतले पाएकोमा यसबाट आफू सबैभन्दा सन्तुष्ट भएको दीपकले राजधानीलाई बताए । ७ वर्ष अघि रिलिज गरिएको गीतको भिडियोमा गायक आशिष र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् । लोक भाकाको गीतमा दोस्रो बढी भ्युज पाउने नेपाली गीतको सूचीमा यो परेको छ ।

यस्तै १० करोड भन्दा बढी पटक हेरिएको अर्को लोक गीत माया बिरानी…हो । गायक महेश काफ्ले र गायिका मेलिना राईको स्वरमा यो लोक गीत रहेको छ । महेशले नै यो गीतको शब्द र संगीत सृजना गरेका हुन् । यो गीतलाई हालसम्म १० करोड ७२ लाख ५० हजार (१०७ मिलियन) पटक युट्युबमा हेरिसकिएको छ । जी २१ डिजिटल च्यानलबाट पाँच वर्ष अघि यो गीतको भिडियो रिलिज गरिएको थियो । गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माले अभिनय गरेका छन् । आफ्नो यो गीतलाई १० करोड भन्दा बढी पटक युट्युब च्यानलमा हेरिएकोमा गायक महेश काफ्लेले खुसी व्यक्त गर्दै दर्शकको यो मायाले आफूलाई गायनमा अघि बढ्न झनै प्रेरणा मिलेको बताएका छन् । उनको भनाईमा हरेक कन्सर्टमा महेश जाँदा दर्शकबाट सुरुमै यो गीतको माग हुने गरेको छ ।

यस्तै अर्को लोक गीत अरेली काँडैले…लाई पनि १० करोड भन्दा बढी पटक युट्युबमा हेरिसकिएको छ । यो गीतलाई गायिका शान्ति श्री परियारले गाएकी हुन् । तीज भाकाको यो लोक गीतलाई २०८१ सालको तीजमा सार्वजनिक गरिएको थियो । सबै भन्दा छोटो समयमा १०० मिलयन भ्युज पुग्ने नेपाली गीतको रेकर्ड यसले बनाएको छ । गीतको भिडियोले हालसम्म १० करोड, ५३ लाख ५४ हजार (१०५ मिलियन) भ्युज युट्युबमा पाइसकेको छ । नेत्र अर्यालले रचना गरेको यो गीतलाई खेम सेन्चुरीले संगीत गरेका हुन् । गीतको भिडियोलाई गायिका शान्ति श्रीले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेकी थिइन् । गीतको भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारीले अभिनय गरेका थिए । अरेली काँडैले अहिले अहिलेसम्मकै सबैभन्दा बढी पटक हेरिएको तीज गीतको नयाँ रेकर्ड बनाएकोमा आफूलाई खुसी लागेको गायिका शान्ति श्री परियारले बताएकी छिन् । उनको भनाइमा यो गीतले युट्युबबाट आम्दानी पनि त्यत्तिकै राम्रो गरेको छ ।

१० करोड भन्दा बढी पटक हेरिएको अर्को नेपाली लोक तथा दोहोरी गीत सालको पातको टपरी हुने…रहेको छ । यो गीतलाई कुलेन्द्र विक र विष्णु माझीले गाएका हुन् । गायक कुलेन्द्रका अनुसार उनको जीवनकै यो सबैभन्दा सफल गीत यो नै हो । कुनै समय हेला गरिने लोक दोहोरी गीतलाई अहिले दर्शक श्रोताले सबैभन्दा बढी सुन्ने गरेको पनि गायक कुलेन्द्रको भनाई छ । ७ वर्ष अघि युट्युबमा सार्वजनिक गरिएको सालको पातको टपरी हुने… गीतले हालसम्म १० करोड २० लाख ७१ हजार (१०२ मिलियन) भन्दा बढी भ्युज पाइसकेको छ । वसन्त थापाको संगीत रहेको यो गीतको भिडियोमा पनि गायक कुलेन्द्र विकले अभिनेत्री मरिष्का पोखरेलसँग अभिनय गरेका छन् ।






