उहिलेउहिले पर्वतको पाङ भन्ने स्थान ज्योतिषहरूको गढ मानिन्थ्यो । त्यहाँका केही ज्योतिषले गरेको भविष्यवाणी युगपर्यन्त मिल्थ्यो त्यसैले चिना देखाउनलाई पालो पर्खनुपथ्र्यो । एक दिन एउटा सभ्रान्त परिवार चिना देखाउन ज्योतिषकहाँ पुुगेछ । उसको चिना फुकाउँदै ज्योतिषले ‘यो चिना निकै भाग्यमानी रहेछ, सात पुस्तालाई त बसीबसी खानपुुग्ने सम्पत्ति जोड्ने ग्रह छ’ भनेछन् । चिनावाला त्यहीं ढलेर बेहोस भएछ । एकछिन पछि होसमा आउँदा उसले ‘मेरो आठौं पुस्ताले के खाला ?’ भनेर चिन्ता गरेछ । ज्योतिषका छिमेकीले आज पनि यो कहानी सुुनाउँछन् ।
वास्तवमा हाम्रो चिन्तन कमाउनेछ, जोड्नेछ, बढीभन्दा बढी थुपार्नेछ । एउटा पुस्ता ऊ आफ्ना लागि मात्र होइन सन्तान, दरसन्तानका लागि कमाइदिन खोज्छ । यसले गर्दा उसले हुने काम पनि गर्छ, नहुने कर्म पनि गर्छ । सम्भवतः बर्सेनि अख्तियारमा अनियमितता गर्ने पात्रहरूको बढ्दो भीड यसैको उदाहरण हो । मानिसलाई सुुसंस्कृत गर्ने शिक्षाले हो । सभ्यता र संस्कृतिको धरोहर नै शिक्षा हो । विवेक र धैर्यताको बाँध नै शिक्षा हो । हाम्रो शिक्षामा आज पनि कुल राष्ट्रिय बजेटको १० दशमलव ७५ प्रतिशत राष्ट्रिय लगानी भइरहेको छ । शिक्षाविद्हरू भने २० प्रतिशत पु-याउनुपर्ने आवाज उठाइरहेका छन् । विगतमा १७ प्रतिशतसम्म लगानी भएको क्षेत्र भएकाले शिक्षामा भएको यो लगानी कम भयो भन्नु स्वाभाविक पनि हो । तर, के साँच्चै लगानीअनुसारको प्रतिफल प्राप्त भएको छ त ? यस’boutमा भने तैंचुप, मैचुपको स्थिति छ । हामीसँग शैक्षिक योजना के छ ? कति जना डाक्टर, कति जना इन्जिनियर वा कति जना पाइलट, वकिल, प्राध्यापक हामीलाई चाहिएको हो ? ती जनशक्ति उत्पादनका लागि हामीले के कति लगानी गरेका हौं ? त्यसको कुनै हिसाबकिताब नगरीकन गरिएको लगानीको के अर्थ ? शिक्षाको सिकाउ र बिकाउ पक्ष किन कमजोर भइरहेको छ ? दिनहुँ हजारौंको संख्यामा खाडी मुलुक धकेल्ने जनशक्ति उत्पादनकै लागि के यो लगानी अपर्याप्त भएकै हो त ? एकपटक सोच्न जरुरी छ । होइन भने दिशाविहीन गतिमा शैक्षिक लगानी, यही पनि धेरै भएको त होइन ? सोच्नुपर्ने हुनसक्छ ।
सिद्धान्त छ, व्यवहार छैन
चीनमा एउटा उखान छ ‘मलाई १ किलो माछा उपहार होइन माछा मार्नका लागि सीप देऊ ताकि म आफैंले मन लागेका बेला माछा मारेर खान सकूँ ।’ तर, आजकल हाम्रो पठनपाठनमा सैद्धान्तिक कुरा मात्र छ । सीप छैन, व्यावहारिक पक्ष उपेक्षित नै छ । कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ, के सिक्यो होइन, कति अंक ल्यायो भन्ने नतिजाको पर्खाइमा रहेका अभिभावकलाई सन्तुष्ट पार्नेबाहेक गरिखाने शिक्षा पटक्कै दिन सकिएको छैन । यो आजको विडम्बना नै हो । कोरा किताबी ज्ञानले आज कसैको पनि गुजारा हुने अवस्था छैन । गर्जो टार्न नसक्ने शिक्षा, शिक्षा नै होइन । शिक्षा आर्जन गर्नु भनेको घोक्नु मात्र होइन, सिकाइ हुनुु पनि हो । सिकाइ हुनु भनेको व्यवहारमा आएको स्थायी सकारात्मक परिवर्तन हो । यो परिवर्तन मापनीय हुनुपर्छ र यसका लागि व्यावहारिक शिक्षा नै चाहिन्छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलकको उन्नति र प्रगति व्यावहारिक शिक्षाको विकासका कारणले गर्दा नै भएको हो । शिक्षाले व्यक्तिलाई सत्य कुराको ज्ञान प्रदान गरेर मात्र पुुग्दैन, कुनै पनि काम गर्नसक्ने सीप अर्थात् खुबी प्रदान गर्न सक्नुपर्छ । हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ । तर, गुणस्तरको पाटो कमजोर छ । पढेर देश नै छोड्नुपर्ने शिक्षाको कुनै दरकार हुँदैन । शिक्षाले त देशमा टिकाउन सक्नुपर्छ । बजारमा बिकाउन सक्नुुपर्छ । तर, जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनै सक्दैन ।
के सिक्ने ?
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकन आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै ‘मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्, समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन्, त्यस्तै शत्रु पनि छन्, मित्र पनि छन्, उसलाई सित्तैमा पाएको हजारौं डलरभन्दा परिश्रम गरी कमाएको एक डलरभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस्…’ भनेका छन् । मानवता हराउँदै गएको, पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवापुस्ताका लागि लिंकनको सो सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ । आजको पठनपाठनले न सीप दिएको छ, न व्यवहार † तसर्थ, व्यावहारिक पक्षमा लिंकनको सो आकांक्षाले आमनेपाली अभिभावकको प्रतिनिधित्व गर्छ । हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो ।
के भन्छन् बच्चा ?
‘बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ
मरेका दिनहरूको ।’
यी हरफ हरिभक्त कटुवालका हुन् । आज पनि हाम्रो शिक्षा पद्धति घोकन्ते छ, सैद्धान्तिक छ । हाम्रा बालबालिकाका चाहना र हाम्रो शिक्षा पद्धतिबीच सामीप्यता छँदै छैन । इतिहासका पाना घोकेर आजका विद्यार्थीले के पाउने ? नेपालमा प्रजातन्त्र दिवस कहिले पर्छ ? भनेर सोध्दा ७ फागुन २००७ को सट्टा कसैले ६ वा ८ फागुन भन्यो भने के नै बिग्रिएला ? बढीमा यस्तो सामान्य कुरा पनि जानेन भनिएला, कुरा यत्ति हो । यो जान्नुु र नजान्नुसँग बच्चाको दैनिकी गुजारामा ताŒिवक अन्तर आउँदैन । बरु, आजका विद्यार्थी प्रजातन्त्र आएको कुरा, तिथि, बार र समय घोकेरभन्दा गुुुुगलमा सर्च गरेर पत्ता लगाउन चाहन्छन् । आज उनीहरूलाई गुगल हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ । आजका बच्चालाई तयारी हालतभन्दा सिर्जनशील बनाउने शिक्षा चाहिएको छ ।
आजका विद्यार्थीले प्रजातन्त्र आएको कुरा, तिथि, बार र समय घोकेरभन्दा गुगलमा ‘सर्च’ गरेर पत्ता लगाउन चाहन्छन् । आज उनीहरूलाई ‘गुगल’ हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ । अहिलेका बच्चालाई तयारी हालतको भन्दा सिर्जनशील बनाउने शिक्षा आवश्यक छ
‘कति पढ्ने भन्दा पनि के पढ्ने ?’ भन्ने सवाल नै आजको शिक्षाको मुख्य मुद्दा हो । यसका लागि विद्यार्थीलाई विद्यालय जाउँजाउँ लाग्नुपर्छ । करले होइन रहरले विद्यालय जाने वातावरण बनाउनुपर्छ र यसका लागि उसको रुचि, इच्छा र चाहनाअनुसारको विषय पढ्न पाउनुपर्छ । स्वतस्फूर्त सिकाइ वातावरण हुनुपर्छ ।
प्रजातन्त्रको उदयताका २००७ सालमा हामीसँग २ प्रतिशत साक्षरता दर थियो । आज संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यासमा जुट्दै गर्दा यो दर बढेर ७० प्रतिशतभन्दा माथि पुुगेको सरकारको दाबी छ । यो सन्तोषको विषय हो । तर, पढेका जनशक्तिमध्ये कतिजना रोजगारीमा लागे भन्ने कुरा पनि महŒवपूर्ण हो । बजारमा बिकाऊ नहुने र ज्ञानमा टिकाऊ नहुने शिक्षा प्रदान गरेर बर्सेनि बेरोजगार उत्पादन गर्ने शिक्षा कुन हदसम्म जारी राख्ने भन्ने कुरा आजको मुख्य समस्या हो । यसैकारण व्यावसायिक शिक्षा आजको मुख्य आवश्यकता थियो । तर, हामीले विगतमा भएको पूर्वव्यावसायिक विषयलाई पनि पाठ्क्रमबाट हटायौं । भएको अलिकति सीप सिक्ने प्रयोगात्मक पक्ष पनि हटायौं । विगतमा ८ कक्षाबाट ऐच्छिक विषयका रूपमा बागबानी लिन सकिन्थ्यो । त्यो अवसर पनि आजका विद्यार्थीलाई दिएनौं । जसले गर्दा गरीखाने शिक्षाको अभावमा प्रमाणपत्र रद्दीका टुक्रा हुन थाले । दराजभरि प्रमाणपत्र थन्किएका छन् तर ती प्रमाणपत्रको बजार भाउ शून्य छ । आजको मूल समस्या नै यही हो ।
बढ्दो बेरोजगार
आज स्वदेशमा काम पाउन नसक्दा कयौं संख्यामा युवा विदेश पलायन छन् । युवा भनेको शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयस्क अवस्थाबीचको उमेर समूह हो । युवा सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूह पनि हो । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ । कुल जनसंख्याका हिसाबले हेर्दा ४० दशमलव ३५ प्रतिशत यस समूहमा पर्छन् । युवा विकास सूचांकमा नेपाल विश्वमा ७७औं स्थानमा छ । १९ दशमलव २ प्रतिशत युवा आज पनि पूर्ण बेरोजगार छन् । कृषिमा संलग्न युवा ५० दशमलव २ प्रतिशत छन् । २६ दशमलव १ प्रतिशत युवा स्नातक भईकन पनि बेरोजगार छन् । प्रतिवर्ष ५ लाख ३८ हजार युवा बिदेसिने गरेको पाइन्छ । यसरी बिदेसिनेहरूमध्ये ७४ प्रतिशत युवा अदक्ष छन् । उनीहरू विदेश गएर यही काम गर्ने भन्ने कुनै टुंगो छैन । जे पायो त्यही गर्ने सर्तमा विदेश गएका हुन्छन् । २४ प्रतिशत अर्धदक्षसम्म छन् । २ प्रतिशत मात्र दक्ष छन् । दुःखको कुरो स्वदेशमा काम नपाएर खाडी मुलुकसमेत जान बाध्य यिनै युवामध्ये प्रतिदिन सरदर तीनदेखि चारवटा बाकसमा उनीहरूको लास नेपाल फर्कने गर्छ । यो अवस्था आउनुका पछाडि हाम्रै गलत शिक्षा नीति दोषी छ । न गरीखाने न मरीजाने शिक्षा दिएर हामीले युवालाई घरको न घाटको बनाएकै हौं ।
आजको आवश्यकता भनेको प्राविधिक शिक्षा हो । ९–१२ कक्षाको प्राविधिक धारले मात्र यो आवश्यकता पुरा गर्न सक्दैन । आधारभूत ज्ञान कक्षा ८ सम्म दिइए पनि कक्षा ९ बाट पुरै श्रम र सीपमा आधारित प्राविधिक शिक्षा नै दिनुपर्छ । कलेजस्तरमा प्रदान गरिने सैद्दान्तिक ज्ञानलाई पुरै भत्काएर प्रविधिमा आधारित शिक्षा प्रदान गर्न जरुरी छ । तर आज पनि हाम्रा अधिकांश विश्वविद्यालयहरू सामान्य धारकै शिक्षा दिन रुचाउँछन् । यो अर्को बिडम्बना हो ।
तसर्थ, बिक्ने र टिक्नेबिनाको शिक्षामा राज्यले पनि लगानी गर्नु व्यर्थ छ । पढ्दै कमाउँदैजस्ता केही नवीनतम् कार्यक्रम आजकल देखिएका छन् । तर, ती मात्र पर्याप्त भने छैनन्् । बजारमा आवश्यक जनशक्ति के हो ? त्यसको आँकलन गरेर सोहीअनुसार शैक्षिक धार अँगाल्न विद्यार्थीलाई प्रेरित गर्नुपर्छ । माग र आपूर्तिको ख्याल राज्य पक्षले गर्नैपर्छ । बाल बालिकालाई कमाएर दिने होइन स्वयंले कमाएर निर्वाह गर्नसक्ने शिक्षा प्रदान गर्नुपर्छ । यसका लागि हरिभक्त कटुवालले भनझैं ‘ बा पाठशाला जान्नँ म, त्यहाँ पढाइन्छ इतिहास, मरेका दिनहरूको ’ भन्ने आवाज कहिल्यै पनि सुन्न नपरोस भन्ने विषलाई ख्याल गर्नैपर्छ । यसका लागि विद्यालय ज्ञान नभएर सीप हस्तान्तरण गर्ने थलो बन्नुपर्छ ।
[email protected]






