विवाह समयको होइन, मनको तयारी हो

विवाह दुई व्यक्तिबीचको सम्बन्धमात्र होइन, यसलाई परिवारिक, सांस्कृतिक, सामाजिक तथा भावनात्मक सम्बन्ध पनि मानिन्छ । मानव जीवनचक्रमा पारिवारिक जीवन सुरुवात विवाहबाटै हुन्छ । यसले एकअर्कामा माया, सम्मान, भर, साथ, सहयोग, विश्वास तथा अत्मियता बढाउँछ ।

विवाहलाई एउटा संस्था पनि मानिन्छ, जसले मानव र समाजलाई विश्वास र सम्बन्धको धागोमा अनन्तकालसम्मका लागि बाँधेर राख्दछ । परम्परागत मान्यताअनुसार समयमै विवाह गर्नु सामाजिक कर्तव्यका रूपमा लिइन्छ । समयमै विवाह गर्दा एउटा ब्यक्तिले परिवारप्रतिको आफ्नो भूमिका र जिम्मेवारी अनुभूति बेलैमा गर्ने मौका पाउँछ, र कर्तव्य निभाउन अग्रसर हुन्छ । तर, समय नपुगी कम उमेरमा विवाह गर्दा प्रजनन स्वास्थ्य समस्याका साथै अनावश्यक जिम्मेवारी बोझका कारण शारीरिक, मानिसक, सामाजिक र संवेगात्मक विकासमा समेत अवरोध उत्पन्न भई ब्यक्तित्व विकासमा थुप्रै कमी कमजोरी देखा पर्दछन् ।

अब प्रश्न उठ्नसक्छ, कुन उमेर विवाहका लागि उपयुक्त हुन्छ त ? विवाह उमेरका सम्बन्धमा विकसित देशको अभ्यास हेर्ने हो भने संयुक्त अधिराज्यको इंग्ल्यान्ड र वेल्समा विवाहका लागि केटाकेटी दुवै १८ वर्ष पुग्नुपर्छ भने स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा दुवैजना १६ वर्ष पुग्नुपर्ने व्यवस्था छ ।

यसैगरी, अमेरिकाका धेरैजसो राज्यमा १८ वर्षलाई विवाहयोग्य उमेर मानिएको छ । दक्षिणी छिमेकी भारतमा भने विवाह हुने दिनमा केटा २१ र केटी १८ पुग्नुपर्ने कानुनी व्यवस्था छ भने उत्तरी छिमेकी चीनमा केटाका लागि २२ र केटीका लागि २० वर्षे न्यूनतम उमेरको कानुनी व्यवस्था छ ।

नेपालको सन्दर्भमा मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । साथै, तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिमाना सजायँ तोकिएको छ । आजका युवा जीवनका विभिन्न पक्षमा व्यस्त छन् । उनीहरू शिक्षा, रोजगारी, आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रतालाई बढी महŒव दिइरहेका छन् । यसैले पछिल्लो समय ढिलो विवाह गर्ने चलन बढ्दै गइरहेको छ । यससँगै केही प्रश्न पनि अनुत्तरितजस्तै छन् । के ढिलो विवाह गर्नु व्यक्तिको निजी निर्णय हो वा समाज, परिवार र आर्थिक अवस्थाले थोपारेको बाध्यता ?

कसैका लागि विवाह स्वतन्त्र निर्णयको विषय हो भने कसैका लागि शैक्षिक निरन्तरता, अभिभावक, आम्दानी र सामाजिक अपेक्षा विषय पनि भएकाले वैवाहिक जीवनमा बाँधिन ढिलाइ गर्न बाध्य हुन्छन् । धेरैजसो आफ्नो ‘करियर’ सुरक्षित बनाएपछि मात्र वैवाहिक जीवनमा प्रवेश गर्न चाहन्छन् । विवाहपछि जीवन सजिलो होस्, आर्थिक, मानसिक र सामाजिक हिसाबले स्वतन्त्र बनेर निर्णय लिन सकून् । विशेषगरी, महिलाका हकमा हेर्ने हो भने वर्तमान समय उनीहरू ‘आफूलाई केवल घरको चौकीदार नभई आफ्नै सपनाको यात्रु’ मान्न थालेका छन् । यस्तो परिवर्तन नारी सशक्तीकरणकै प्रतिबिम्ब हो ।

सबै ढिलो विवाह रहरका कारण हुन्छन् भन्ने होइन । कहिलेकाहीँ यो बाध्यता पनि हुनसक्छ । केही व्यक्तिले पारिवारिक दबाब, आर्थिक अवस्था, शिक्षा अभाव, पाश्चात्य संस्कृति प्रभावका साथै असफल विवाह, डिभोर्स र सम्बन्धमा उत्पन्न हुनसक्ने तनावबाट डराएर, वा राम्रो जोडी नभेटिँदा विवाह ढिलो गर्न बाध्य हुन्छन् । समाजमा जातपात, धर्म, वर्ग, र संस्कृतिजस्ता कुराले पनि ढिलो विवाहलाई बढावा दिने गर्छन ्। कतिपय अवस्थामा त रोजेको जोडीलाई परिवारले स्वीकार नगरेर विवाह नै असम्भवजस्तै बन्ने अवस्था पनि आउँछ ।

जे–जस्तो कारणले भए पनि ढिलो विवाहले केही चुनौती पनि ल्याउँछ । जैविक हिसाबले उमेरसँगै सन्तान जन्माउने क्षमतामा कमी आउन सक्छ । सामाजिक रूपमा ‘बुढो भइसक्यो’, ‘जोडी कहिले बनाउने ?’ भन्ने जस्ता टिप्पणीले मानसिक तनाव पनि बढाउँछ । यद्यपि, ढिलो विवाह सफल नहुने भन्ने होइन । आत्मबोध, परिपक्वता र जीवनका मूल्य बुझिसकेपछि गरिने विवाह सन्तुलित र समझदारीपूर्ण हुने सम्भावना हुन्छ ।

ढिलो विवाहले केही चुनौती पनि ल्याउँछ । जैविक हिसाबले उमेरसँगै सन्तान जन्माउने क्षमतामा कमी आउन सक्छ । सामाजिक रूपमा ‘बुढो भइसक्यो’, ‘जोडी कहिले बनाउने ?’ भन्नेजस्ता टिप्पणीले मानसिक तनाव पनि बढाउँछ

विभिन्न अनुसन्धानले ढिलो विवाहले राम्रो मानसिक स्वास्थ्य हुने, व्यक्तिगत विकास हुने, करियर, दम्पतिबीच सम्बन्ध सुमधुर हुने, झगडा कम हुने कुरा देखाएका छन् भने अर्कोतिर ढिलो विवाहले गर्दा गर्भ तथा बच्चा असामान्य हुने, विवाहपूर्व तथा कम उमेरमा गर्भधारण हुनसक्ने, आमाबाबु र बच्चाबीच ‘जेनेरेसन ग्याप’ हुनाले पारिवारिक असमझदारी बढ्ने, श्रीमान्–श्रीमतिबीचमा बेमेल हुने, कतिपय अवस्थामा बच्चा नै नहुने, विवाहका लागि उपयुक्त पार्टनर नपाउने, महिलामा स्तन क्यान्सर हुनेजस्ता समस्या देखापर्नेलगायत बलात्कार तथा जबर्जस्ती करणीका घटना बढ्ने उल्लेख गरेका छन् ।

यसै सन्दर्भमा ढिलो विवाहका सकारात्मक र नकारात्मक दुवै खालका प्रभाव हुन सक्छन् भन्ने मान्यताबाट विश्लेषण गर्दा सकारात्मक प्रभावमा ढिलो विवाह गर्दा शिक्षा र करियरमा ध्यान दिन सकिने, आर्थिक रूपले आत्मनिर्भरता र ब्यक्तित्व विकास हुने, निर्णय क्षमतामा परिपक्वता र समझदारी देखिने, सामाजिक दवावबाट मुक्ति मिल्ने, आत्मस्वास्थ्यप्रति सचेतता, वैवाहिक जोडी छनोटमा स्वतन्त्रता हुनेजस्ता सबल पक्ष रहेका छन् भने नकारात्मक प्रभावमा महिलामा गर्भधारण हुन गाह्रो हुने वा नहुने, भए पनि गर्भावस्थाका विभिन्न जोखिम बढ्ने, प्राकृतिक रूपमा बच्चा जन्माउन नसकिनेजस्ता समस्याका साथै पुरुषमा शुक्राणुको गुणस्तर घट्न गई गर्भधारणमा समस्या हुने, जन्मेका बच्चामा अटिज्म, सिजोफ्रेनियालगायत ‘जेनेटिक डिसअर्डर’को खतरा बढ्ने सम्भावना हुन्छ । त्यस्तै, सामाजिक रूपमा एक्लोपन देखिने, विवाहका सम्बन्धमा परिवार र समाजको दबाब बढ्ने, सामाजिक समायोजनमा समस्या हुने, मानसिक तनाव र चिन्ता, आत्मविश्वासमा कमी, उपयुक्त जोडी पाउन कठिनाइ हुने, हर्मोनल परिवर्तनका कारण महिलामा रजनोवृत्ति चाँडै हुने, मोटोपना, मधुमेह, हृदय रोग र क्यान्सरको सम्भावनासमेत बढ्न सक्छ भने शारीरिक थकाइ र शक्ति ह्रास हुने कारण बुढेसकालमा साना बच्चाको लालनपालनमा पनि कठिनाइ हुनसक्छ ।

ढिलो विवाह गर्ने महिला तथा पुरुष दुवैले ‘थप समस्या नआओस्’ भन्नका लागि विवाह गर्नुअघि प्रजनन स्वास्थ्य, हर्मोनल ब्यालेन्स र अन्य ‘मेडिकल कन्डिसन’ जाँच गर्नुपर्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले ढिलो उमेरमा पनि राम्रो स्वास्थ्य कायम राख्न मद्दत गर्छ । साथै, गर्भधारणमा समस्या भएमा कृत्रिम गर्भधारणका विकल्पमा विचार गर्न सकिन्छ । गर्भधारणपछि उपयुक्त आराम, निन्द्राका साथै बच्चा जन्माउने विषयमा रहेका डर, तनाव, चिन्ता, असमञ्जसता’bout गाइनोकोलोजिस्टसँग खुलेर कुरा गर्ने र सल्लाह लिने गर्नुपर्दछ ।

ढिलो विवाह आजको यथार्थ हो । यद्यपि, यो निर्णयमा कुनै पनि बाह्य दबाब हुनु हुँदैन । विवाह जीवनको एउटा महत्वपूर्ण अंग हो, तर यो बाध्यता होइन । विवाह समयको होइन, मनको तयारी हो । आफ्नो तयारी र इच्छाअनुसार नै विवाह गर्नु उचित हुन्छ । अन्ततः ‘ढिलो विवाह बाध्यता हो वा रहर ?’ भन्ने निर्धारण सबैको व्यक्तिगत परिस्थिति, सोच, उद्देश्य र अवसरमा भर पर्छ । समाजले यसलाई केवल परम्पराको आँखाले हेर्नु हुँदैन । समयसँगै सोच परिवर्तन हुनु स्वाभाविक हो, र यसरी ढिलो विवाहलाई सकारात्मक दृष्टिकोणले हेर्नसक्ने समाज नै आधुनिक, गतिशील र समावेशी समाज हो ।

निष्कर्षमा विवाहको उमेरभन्दा पनि तयारी, समझदारी, आत्मनिर्भरता र जिम्मेवारीबोध बढी महत्वपूर्ण हुन्छ । विवाहको समय निर्धारण गर्नु व्यक्तिको निजी निर्णय हो, तर यसले आउने जीवनलाई गहिरो प्रभाव पार्छ । ढिलो विवाहका फाइदा र नोक्सान दुवै छन् । यो व्यक्तिगत परिस्थिति, सामाजिक अवस्था र जीवनको लक्ष्यमा निर्भर गर्छ । आफ्नो तयारी र सुविधाअनुसार नै विवाह गर्नु उत्तम हो, अर्थात् सही समय सही निर्णय गर्नु नै उत्तम हुन्छ । त्यसैले ढिलो विवाहलाई न बाध्यता मात्र मानौं, न रहरमात्र । बरु, व्यक्तिगत छनोटको सम्मान गरौं ।
[email protected]

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन