सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मुख्य सडक क्षेत्रमा ट्राफिक बत्ती र अकासेपुलको योजना कार्यान्वयनमा ल्याएको छ । पैदल यात्रु र सवारी चाप बढी हुने क्षेत्रका सडकमा वीरेन्द्रनगरले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ट्राफिक बत्ती र अकासेपुलको योजना सुरु गरेको हो ।
वीरेन्द्रनगर ६ स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । नगरप्रमुख मोहनमाया ढकालले प्राविधिक परीक्षणपश्चात् सो बत्ती ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिन् । चालू आर्थिक वर्ष २०८१÷८२ मा स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वीरेन्द्रचोकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो । ईथ्री सेल्स एन्ड सर्भिसेज प्रालि काठमाडौंले २४ लाख ७५ हजार ५ सय ८० रुपैयाँमा ठेक्का लिएर बत्ती जडान गरेको हो । अन्य स्थानमा पनि ट्राफिक बत्ती जडानको प्रक्रिया थालिएको छ । पैदल यात्रु तथा सवारीचाप बढी हुने एरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोकमा सडक विभाग र मूलपानी चोक, दैलेख रोड चोकलगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्दै छ ।
ट्राफिक बत्ती जडान भएसँगै अब सवारी चालक र पैदल यात्रुले जथाभावी बाटो काट्न पाउनेछैनन् । फोरलेन क्षेत्रमा तीव्र गतिले सवारी चलाउँदा सडक असुरक्षा बढेपछि नगरपालिकाले ट्राफिक बत्ती जडानको कार्यक्रम ल्याएको हो । ‘प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरू अवलम्बन गर्न लागिएको हो,’ नगरप्रमुख ढकालले भनिन्, ‘विभिन्न स्थानमा झन्डै ३ सयबढी सीसी क्यामेरा जडान गर्न लागिएको छ, मानिसहरूको चहलपहल बढी हुने स्थानमा चोरी, डकैती तथा लुटपाट, सडक दुर्घटनालगायतका घटनाहरू बढ्दै गएको सन्दर्भमा यसलाई रोक्न संवेदनशील क्षेत्र पहिचान गरी सीसीटिभी क्यामेरा जडान गर्ने तयारी गरेका छौं ।’
उनका अनुसार राजधानी केन्द्रित ट्राफिक लाइट, रोड मार्किङ, धर्मकाँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाइट, आईटी जोनजस्ता सहरी पूर्वाधार निर्माणका लागि १२ करोड विनियोजन गरिएको छ ।
यस्तै, नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चोकमा अकासे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाएको छ । करिब १६ करोड ५२ लाख रुपैयाँ लागतमा अकासे पुल निर्माण हुने अनुमान गरिएको छ । दोस्रो चरणमा एरिचोक, पिपिरा चोकलगायतका स्थानमा अकासे पुल निर्माणलाई निरन्तरता दिइनेछ । नगरको यातायातलाई भरपर्दो र सर्वसुलभ बनाउन आगामी वर्षमा नगरबस खरिद गरी सञ्चालन गर्न २ करोड बजेट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगरले आव २०८२-८३ आवभित्र नगर गौरवको आयोजनाका रूपमा घण्टाघर पार्क निर्माण, घण्टाघर दक्षिणतर्फ पार्क तथा पार्किङ, गोदामलाइनमा पार्किङ निर्माण तथा फुटपाथ व्यवस्थापन कार्य सम्पन्न गर्ने भएको छ ।






