काठमाडौं । विश्वको अर्थतन्त्र समग्रमा २ दशमलव ८ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण भइरहँदा नेपालको आर्थि वृद्धि भने ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
मूल्यवृद्धि भने विश्वको तुलनामा बढी हुने
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको हो ।
वल्र्ड इकोनोमिक आउटलुकले विश्व अर्थतन्त्र सन् २०२५ मा २ दशमलव ८ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिरहँदा राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांकलाई आधार बनाएर केन्द्रीय बैैंकले नेपालको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत हुने भनेको हो ।
गत आव २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत रहने संशोधित अनुमान रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२५ अप्रिलमा अद्यावधिक गरिएको विश्व आर्थिक परिदृश्यअनुसार सन् २०२४ मा विश्व अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले विस्तार भएको थियो ।
आईएमएफ र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०८१–८२ मा पनि आव २०८०–८१ मा जस्तै नेपालको आर्थिक वृद्धिदर विश्वको आर्थिक वृद्धिको तुलनामा बढी हुने देखिएको छ । आव २०८१–८२ को कुल ग्रार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान २५ दशमलव ६ प्रतिशत, द्वितीय क्षेत्रको १२ दशमलव ४ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । प्राथमिक क्षेत्रको वृद्धिदर ३ दशमलव २५ प्रतिशत रहने प्रक्षेपण रहेको छ । प्राथमिक क्षेत्रका मुख्य उपक्षेत्रमा कृषि, वन, माछापालन, पशुपालन आदि पर्छन् ।
द्वितीय क्षेत्रको वृद्धिदर ४ दशमलव ६५ प्रतिशत रहने अनुमान रहेको छ । यसका मुख्य उपक्षेत्रमा उद्योग, निर्माण, विद्युत्, ग्यास, जल आपूर्ति आदि पर्छन् ।
ग्रार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा रहेको सेवा क्षेत्र कुल रहेको छ ।
मूल्यवृद्धिको औसतको रूपमा लिइने मुद्रास्फीति भने नेपालमा बढी हुने देखिएको छ । विश्वका विकसित मुलुकहरूको मुद्रास्फीति दर सन् २०२४ मा २ दशमलव ६ प्रतिशत रहेकामा सन् २०२५ मा २ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण छ । त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीतिदर सन् २०२४ मा ७ दशमलव ७ प्रतिशत रहेकामा सन् २०२५ मा ५ दशमलव ५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
नेपालको भने औसत मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहने अनुमान रहेको छ ।
६१ खर्बको अर्थतन्त्र र जीडीपीमा बाग्मतीको हिस्सा अधिक
मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ६१ खर्ब ७ अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिरहँदा प्रतिव्यक्ति आम्दानी १ हजार ४ सय ९६ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान गरिएको छ ।
आव २०८१–८२ मा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा धेरै अर्थात् ३६ दशमलव ३ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम अर्थात् ४ दशमलव २ प्रतिशत रहेको छ ।
कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा धेरै अर्थात् २१ दशमलव ५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम अर्थात् ५ दशमलव २ प्रतिशत रहेको छ । उद्योग क्षेत्रको उत्पादनमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी अर्थात् ३१ दशमलव ७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम अर्थात् ३ दशमलव १ प्रतिशत रहेको छ । यसैगरी, सेवा क्षेत्रको उत्पादनमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी अर्थात् ४५ दशमलव ४ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम अर्थात् ३ दशमलव ९ प्रतिशत रहेको छ ।
खाद्य तथा अन्य बालीको उत्पादन शून्य दशमलव ९७ प्रतिशतले घट्यो
नेपाल राष्ट्र बैंकका अनुसार खाद्य तथा अन्य बालीको उत्पादन शून्य दशमलव ९७ प्रतिशतले घटेको छ । तरकारी तथा वागबानीको उत्पादन ५ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ । फलफूलको उत्पादनमा ४ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ भने मसलाको उत्पादनमा १० दशमलव २० प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन २ दशमलव ८६ प्रतिशत र मासुु उत्पादन २ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अण्डा उत्पादन १ दशमलव शून्य ४ प्रतिशतले बढेको छ । वनजन्य उत्पादनअन्तर्गत दाउरा उत्पादन १० दशमलव ७२ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन १० दशमलव २९ प्रतिशतले बढेको छ ।
आव २०८१–८२ मा कृषि उत्पादनमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ । यो वृद्धि सिञ्चित क्षेत्रफलको वृद्धि, रासायनिक मल, उन्नत जातका बीउ तथा आधुनिक प्रविधिको सहज उपलब्धता र मौसमको अनुकूलताले सम्भव हुने अनुमान रहेको छ । त्यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयहरूका अनुसार दूध र मासुको मागमा वृद्धि भएको देखिएको छ । यसका साथै हालका दिनमा युवापुस्तासमेत पशुपालनमा आकर्षित भएको देखिएकाले दूध र मासुको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । यसले समग्र कृषि तथा पशुपालन क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
उद्योगको क्षमता उपयोग औसतमा ४१ दशमलव ११ प्रतिशत मात्रै
आव २०८१–८२ को पहिलो ६ महिनामा उद्योगको क्षमता उपयोग औसतमा ४१ दशमलव ११ प्रतिशत रहेको छ । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ३० दशमलव ३१ प्रतिशत रहेको छ ।
आव २०८१–८२ मा अघिल्लो वर्ष संकुचन भएका क्षेत्रहरूसमेत विस्तार भई औद्योगिक उत्पादन र व्यापार क्षेत्र विस्तार हुने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा भएको वृद्धि, बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलता एवं न्यून ब्याजदरलगायतका कारण निजी क्षेत्रतर्फ हुने कर्जा विस्तार, घरजग्गा कारोबारमा भएको सुधार, पूर्वाधार निर्माणमा भएको विस्तार, निर्माण सामग्रीहरूको मूल्यमा आएको गिरावट आदिका कारणले निर्माण क्षेत्र चलायमान हुने आँकलन गरिएको छ । साथै, विद्युत्् उत्पादनमा भएको वृद्धि तथा आपूर्तिमा आएको सुधार र सरकार तथा यस बैंकको नीतिगत सहजताका कारण उद्योगको क्षमता उपयोगमा वृद्धि भई औद्योगिक उत्पादन थप सकारात्मक हुने अनुमान गरिएको छ ।
सेवा क्षेत्र थप विस्तार हुने
बैंक तथा वित्तीय संस्थाद्वारा सेवा क्षेत्रमा प्र्रवाहित कर्जामा भएको बढोत्तरी, न्यून ब्याजदर, विदेशी पर्यटक आगमनमा भएको वृद्धि, आन्तरिक पर्यटन गतिविधिमा भएको वृद्धि, आयातमा भएको वृद्धि तथा घट्दो मुद्रास्फीतिले सेवा क्षेत्र थप विस्तार हुने अनुमान गरिएको छ । साथै, बढ्दो निक्षेप, न्यून ब्याजदर र कर्जा प्रवाहले सेवा क्षेत्रका पर्यटन, घरजग्गा, उपभोग्य तथा यातायात, भण्डारण र सञ्चार क्षेत्र थप विस्तार हुने अनुमान गरिएको हो ।
पूर्वाधार क्षेत्र थप विस्तार हुने
७७ वटै जिल्लामा यातायात सञ्जालको पहुँच पुगेको छ भने कुल ८० वटा राजमार्गको कुल लम्बाइ १४ हजार ९ सय १३ किमि रहेको छ ।
आव २०८१–८२ को साउनदेखि पुस मसान्तसम्ममा नयाँ दुई लेनका कालोपत्रे स्तरको सडक २ सय ४६ किमि, दुई लेनभन्दा माथिका कालोपत्रे स्तरको सडक ४६ किमि र माटे सडक ८४ किमि निर्माण सम्पन्न भएका छन् । त्यसैगरी, आवधिक मर्मततर्फ १ सय ३९ किमि सडकको मर्मत सम्भार भइसकेको र ४१ वटा पुलको निर्माण सम्पन्न भएको छ ।
सरकारले लक्ष्यअनुसारको पुँजीगत खर्च गर्न र राजस्व संकलन गर्न नसकेका कारण राजस्व र खर्चबीच फराकिलोे अन्तर भए तापनि विपद्पश्चात्को पुनर्निर्माणले गति लिएको, सुरुङमार्ग निर्माण, सडक विस्तार तथा स्तरोन्नतिको कार्य भइरहेको, राष्ट्रिय तथा प्रदेश गौरवका आयोजनाहरू निर्माण भइरहेको, रन अफ रिभर सँगसँगै जलाशययुक्त जलविद्युत् आयोजनाहरू निर्माणका क्रममा रहेको, विद्युत् प्रसारण लाइन विस्तार हुँदै गएकाले पूर्वाधार क्षेत्र थप विस्तार हुने अनुमान राष्ट्र बैंकको रहेको छ ।






