पोखरा । फेवातालमा डिजिटल पिल्लर गाड्ने कार्य सकिएको छ । तालको पुनःसीमांकनपश्चात् सीमास्तम्भ गाड्ने कार्य सम्पन्न भएको पोखरा महानगरपालिकाले जनाएको छ ।
जसअनुसार पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरको सिमानामा १ हजार ५५ वटा डिजिटल पिल्लर गाडिएको हो । गत १७ जेठदेखि काम सुरु भएकामा काम सम्पन्न गर्न करिब ४५ दिन लागेको छ ।
पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीका अनुसार ६ सय ११ सिमेन्टेड (कंक्रिटका) पिल्लर गाडिएको हो । तालको ६ दशमलव ३ सय ४३ वर्गकिलोमिटर क्षेत्रफलको चारकिल्लामा ती पिल्लर गाडिएका हुन् ।
फेवाताल संरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायसँग समन्वय गरी थप कार्य गर्दै जाने नगरप्रमुख धनराज आचार्यले बताए । फेवाताल संरक्षणका सम्बन्धमा एक ऐतिहासिक कार्य महानगरपालिकाको अगुवाइमा भएको र यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भई साथ र सहयोग गर्ने सम्बद्ध सबै निकायप्रति उनले आभारसमेत व्यक्त गरे ।
सीमांकन कार्यमा प्राविधिक, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्बद्ध सबै पक्ष खटिएका थिए । पहिलो चरणमा तालघरमा सीमास्तम्भ गाडेपछि अब दोस्रो चरणमा तालघरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनुपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ सालअघि तथा पछिको दर्ता, भौतिक संरचनाको अवस्थालगायतको यकिन गरिने महानगरपालिकाको योजना छ ।
पछिल्लो समय फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्दैजाँदा यसको आकार घट्दो छ । सीमास्तम्भ गाड्ने कार्यले ताल संरक्षण हुनुका साथै पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्व राख्ने विश्वास गरिएको छ ।
ताल संरक्षणका लागि सर्वोच्चको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तत्कालका लागि चारै दिशातर्फ सीमा स्तम्भ गाड्ने निर्णय गरिएको यसअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्पष्ट पारेका थिए । उनले अदालतको फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमशः गर्दै जाने योजना पनि रहेको जनाए ।
तालको पछिल्लोपटक पुनः नापजाँच गरी यथार्थ अवस्था’bout विवरण यकिन गरिएको छ । प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्भेमार्फत डिटेल सर्वेक्षण गरेको थियो । जसमा २९ मुख्य आधार विन्दुहरू कायम गरी ४० सेन्टिमिटर उचाइका २९ पिल्लर जमिनमुनि गाडिएका छन् । यसका आधारमा ९ हजार नियन्त्रण विन्दुहरू कायम गरिएको छ ।
सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययनपश्चात् फेवातालको हाई फ्लोड लेबल ७ सय ९४ दशमलव ९५ मिटर कायम गरिएको हो । सो विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालघर ६ दशमलव ३४३ वर्ग किमी अर्थात् १२ हजार ४ सय ६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ । सर्वोच्चले तोकेको ६५ मिटरसमेतको कुल क्षेत्रफल ७ दशमलव ६१६ वर्ग किमी अर्थात् १४ हजार ९ सय ७० रोपनी ५ आना २ दाम कायम हुने नगरप्रमुख आचार्यले बताए ।
गत ४ असार, २०८० मा सर्वोच्चले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्णरूपले हरियाली प्रवर्धन गर्नू गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो । ६५ मिटर मापदण्ड कार्यान्वयन भए करिब ५ सय संरचना भत्काउनुपर्छ ।






