काठमाडौं । अभिनेता विल्सन विक्रम राईले आफ्नो निर्माण तथा निर्देशनमा नयाँ चलचित्र ‘‘मैझारो’’को छायांकन सुरु गरेका छन् । साउने सक्रान्तीको अवसर पारेर उनले पूर्वी पहाडी जिल्ला इलामबाट चलचित्र मैझारोको छायांकन सुरु गरेका हुन् । बिहीबार यो चलचित्रको क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै त्यहाँ उनले चलचित्रको शुभ मुहूर्त समेत गरे । जसमा अभिनेता धिरज मगरले पहिलो दृश्य दिएका थिए । मुहूर्तसँगै बिहीबारबाटै चलचित्रको छायांकन सुरु गरिएको उनले राजधानीलाई जानकारी दिएका छन् ।
यो चलचित्रको इलाम र पाँचथर जिल्लामा करिब एक महिना छायांकन हुने विल्सनले बताएका छन् । यो चलचित्रमा धिरज मगरसहित मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू, सुभाष सिंह ठकुरी लगायतको अभिनय रहनेछ । आफूले यो चलचित्रमा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतालाई प्रस्तुत गर्ने पनि विल्सनले बताएका छन् । चलचित्रमा विल्सन स्वयंको लेखन रहेको छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको पाश्र्व गायन छ । मैझारोको छायांकारमा सौरभ लामा रहेका छन् ।
मैझारोबाट चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका विल्सनले आफ्नो कम्पनी तक्मे प्रोडक्सनबाट ८ वर्ष अघि चलचित्र ‘‘रातो घर’’ पनि निर्माण गरेका थिए । आफ्नो करिअरमा ३० भन्दा बढी चलचित्रमा अभिनय गरेका उनी अव अभिनयसँगै निर्देशनलाई पनि अघि बढाउँछु भन्छन् ।






