काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा साना उद्योग र प्रविधि क्षेत्रका विदेशी लगानी (एफडीआई) उल्लेखनीय रूपमा बढेको छ । तथापि, लगानी प्रतिबद्धताअनुरूप लगानी भने भित्रिन सकेकोे छैन ।
आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानीका लागि दर्ता भएका ८ सय ४० वटा उद्योगमध्ये ८ सय २४ वटा साना उद्योग मात्रै छन् । असारसम्म विदेशी लगानीका ३ सय ८२ वटा अर्थात् ४६ प्रतिशत परियोजना सूचना प्रविधिमा केन्द्रित छन् ।
उद्योग विभाग, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार लगानी प्रतिबद्धता र स्वीकृतिका पक्षमा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ भने सेवा र पर्यटन क्षेत्रमा सर्वाधिक लगानी आकर्षित भएका छन् ।
लगानी प्रतिबद्धतामा ६४ अर्बभन्दा बढी
उद्योग विभागका अनुसार २०८१–८२ मा कुल ८ सय ४० वटा परियोजनाका लागि कुल ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसमध्ये सेवा क्षेत्रमा सबैभन्दा बढी ३० अर्ब ९० करोड ७७ लाख रुपैयाँ, पर्यटन क्षेत्रमा २६ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ र उत्पादनमूलक उद्योगमा ३ अर्ब ८४ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
यसैगरी, ऊर्जामूलक क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँको एउटा मात्रै उद्योगले नेपालमा प्रत्यक्ष लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको देखिएको छ । कृषि उद्योगमा भने १४ अर्ब ६६ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । पूर्वाधारमूलकमा ५ करोड रुपैयाँको मात्र लगानी आएको छ ।
– सेवा र पर्यटन क्षेत्र प्रमुख लगानी गन्तव्य
– साना उद्योग र आईसीटीमा एफडीआईको उछाल
उत्पादनमूलक क्षेत्रमा ५५ वटा, सेवा क्षेत्रमा ८४ उद्योग, कृषिमा १२ वटा, पर्यटनमा ३ सय ४ र सूचना प्रविधिमा ३ सय ८२ वटा उद्योगले लगानीको प्रतिबद्धता गरेका छन् ।
परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ३ सय ८२ वटा लगानी प्रस्ताव स्वीकृत भएका छन्, जुन कुल लगानी संख्याको ४६ प्रतिशत हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी प्रतिबद्धतामा सामान्य वृद्धि देखिएको छ ।
उद्योग विभागका अनुसार गत आव २०८०–८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँबराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो भने अहिले आव २०८१–८२ मा ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
अघिल्लो आव २०७९–८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँबराबर भित्रिएको थियो । उद्योग विभागका अनुसार आव २०७८–७९ मा भने ५४ अर्ब १५ करोड रुपैयाँको वैदेशिक लगानीका लागि प्रतिबद्धता आएको थियो । उद्योग विभागका अनुसार आव २०७७–७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
उद्योग विभागका अनुसार असारमा मात्र ४ अर्ब ३५ करोड ४७ लाख रुपैयाँबराबर वैदेशिक लगानी भित्रिएको छ ।
रोजगारी र भिसा सिफारिस
आव २०८१–८२ मा प्रत्यक्ष लगानीका परियोजनाबाट प्रस्तावित रोजगारीको संख्या १९ हजार ५ सय ३६ जना रहेको छ । यस अवधिमा २ हजार २ सय ८५ लगानीकर्ता, ४ सय ९ प्रतिनिधि र १ हजार ७ जना आश्रितलाई भिसा दिइएको छ । १ सय १६ जनालाई विज्ञापन र १७ जनालाई प्रविधि हस्तान्तरणका लागि भिसा दिइएको छ ।
प्रतिबद्धतामा बढी, लगानीचाहिँ कम
नेपालमा लगानीको चासो देखाउनेमा चीन, भारत, जापान, अमेरिका, बंगलादेशलगायतका मुलुकका लगानीकर्ता बढी छन् । विभागका अनुसार नेपालमा अहिलेसम्म ७ हजार २ सय ३९ परियोजनामा ५ खर्ब ९४ अर्ब ७० करोड ६६ लाख ४० हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । झन्डै तीन दशकको अवधिमा स्वीकृत भएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ३६ प्रतिशत हाराहारीमा मात्र वास्तविक लगानी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले सन् १९९५–९६ देखि २०२१–२२ सम्मको अवधिमा स्वीकृत रकमको ३६ दशमलव २ प्रतिशत हाराहारीमा मात्र वास्तविक लगानी भित्रिएको देखाएको हो ।
मुलुकमा लगानीका लागि ठूलो परिमाणमा प्रतिबद्धता प्राप्त भए पनि त्यसको कमै मात्र लगानी भित्रिने गरेको छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत लगानी मात्र भित्रिने गरेको विभागको भनाइ छ ।
साना उद्योगहरूको संख्या उल्लेखनीय
उद्योग विभागको तथ्यांकले ठूला र मझौला उद्योगहरूको तुलनामा साना उद्योगहरूको संख्या उल्लेखनीय रूपमा बढी छ । कुल लगानी र रोजगारीको अवसर पनि बढ्दै गएको देखिन्छ । सरकारले उद्योग दर्ता, पेटेन्ट, ट्रेडमार्क र वातावरणीय परीक्षणजस्ता नियामक प्रक्रियाहरूमा सक्रियता देखाएको छ ।
विभागले ५० करोड रुपैयाँसम्म कुल पुँजी हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृति गर्ने व्यवस्था मिलाएको छ ।
रोयल्टी घट्यो, लाभांश पनि घट्यो
आव २०८१–८२ मा प्रत्यक्ष वैदेशिक लगानीकर्ताले नेपालबाट लैजाने रोयल्टी रकम घटेको छ । तथ्यांकअनुसार यस वर्ष नेपालबाट १ अर्ब ८४ करोड ३३ लाख ४३ हजार रुपैयाँ रोयल्टी बिदेसिएको छ । गत आव २०८०–८१ मा भने २ अर्ब ७९ करोड ५ लाख रुपैयाँ रोयल्टी विदेश गएको छ । आव २०७९–८१ मा २ अर्ब ३३ करोड रोयल्टी बिदेसिएको थियो ।
आव २०८१–८२ मा ९ अर्ब ६१ करोड ७० लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् ।
गत आव २०८०–८१ को १ वर्ष अवधिमा १० अर्ब १८ करोड रुपैयाँ लाभांश लगेको तथ्यांकमा देखिन्छ । रोयल्टीतर्फ आव २०८१–८२ मा अमेरिकी डलरमा ९९ लाख ६८ हजार डलर र अघिल्लो आवमा १ करोड १० लाख ३७ हजार डलर रोयल्टी लगेको देखिन्छ ।
१ वर्षमा भारतीय रुपैयाँमा ८७ करोड ३५ लाख १६ हजार रुपैयाँ र आव २०८०–८१ मा ७६ करोड २७ लाख ९६ हजार भारतीय रुपैयाँ लाभांश गएको देखिन्छ ।






