पोखरा । गत वर्ष असोजमा पोखरा चाउथेमा एकजना नवजात शिशुको शव बोरामा फेला परेको थियो । सो घटनाले सर्वत्र चर्चा पाएको थियो । गत वर्ष असोज १३ गते साँझ ५ बजेको समयमा पोखरा–१४, चाउथेमा पृथ्वी राजमार्ग छेउमा जेब्रा झोलामा नवजात शिशु (छोरा) को शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
फलाटिनको कपडाले बेरी ब्ल्याङ्केटले बेरिएको अवस्थामा अवस्था परेको शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम हुँदा घाँटी र टाउकोमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्ट आएको थियो ।
सो घटनाको झण्डै १ वर्षपछि शिशुको हत्यामा आफ्नै बाबुको संलग्नता रहेको खुलेको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ५ स्थायी घर भई हाल पोखरा ९, नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई कास्की प्रहरीले ४ साउनमा पक्राउ गर्न सफल भएको हो ।
उनकी श्रीमती सुत्केरी ब्यथा लागी उपचार गराउन ल्याउँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रारम्भिक बयानका क्रममा लामिछानले आर्थिक अवस्था कमजोर हुँदा पाल्न नसकिने भनी फालेको स्वीकारेका छन् । श्रीमतीका असहमति हुँदाहुँदै जबर्जस्ती फालेको उनले बताएका छन् । गत वर्ष जन्मिएपछि हस्पिटलबाट डिस्चार्ज भएपछि सो घटना घटाइएको खुलेको छ ।
लामिछानेलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी बस्नेतले बताए ।






