कुलिङ पिरियड र मन्त्रीको कार्यसम्पादनमा न देउवा सन्तुष्ट, न देउवासँग सन्तुष्ट

काठमाडौं । कांग्रेसका पाँच जना पूर्वपदाधिकारी मंगलबार सभापति शेरबहादुर देउवा निवासमा पुगेर भावी सभापतिदेखि वर्तमान मन्त्रीसम्मका विषयमा ‘गनगन’ गरेर मनभित्रको उकुसमुकुस सकेर फर्किए ।

पाका नेताहरूले सभापति देउवासँग गरेको संवादमा सरकारको कामकारबाही प्रभावकारी नभएको विषय प्रवेश पाएकै बेला पाँच नेताको टाउको दुखाइ बनिरहेका महामन्त्री गगनकुमार थापा सार्वजनिक कार्यक्रममा भन्दै थिए– ‘मन्त्रीले काम गरेनन् सेट नै फेरौं ।’

वर्तमान सत्ता गठबन्धनका विषयमा सैद्धान्तिक विमति नभए पनि मन्त्रीको काम गर्ने शैली र एमालेले भूमि विधेयक र कुलिङ पिरियडमा देखाएको द्वैध चरित्रका कारण पछिल्ला दिन यी दुई पार्टीबीचको सम्बन्धमा दरार आउन थालेको देखिन थालेको छ ।

कुलिङ अफमा अर्को लफडा
सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकारका कामकारबाही र भूमि विधेयकका विषयमा मतभेद देखिरहेका बेला संघीय निजामती सेवा विधेयकको एउटा प्रावधानमा थप लफडा देखिएको छ ।

प्रतिनिधिसभामा फेरबदलसहित पारित भएको निजामती विधेयकको २ वर्षे कुलिङ अफ पिरियड राख्ने कि नराख्ने भन्ने विषय राष्ट्रिय सभा पुगेपछि थप पेचिलो बनेको छ ।

एमालेकै सांसदहरूले २ वर्षे कुलिङ अफ पिरियड हटाउन संशोधन प्रस्ताव दर्ता गरेपछि मंगलबार बसेको राष्ट्रिय सभा बैठकले दफावार छलफलका नाममा विधायन समितिमा पठाएको छ ।

जबकि, प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लामो समय छलफल गरी राजीनामा दिएका र अवकाशमा गएका कर्मचारीलाई कुलिङ अफ पिरियड राख्नेगरी सहमति जुटाएका थिए ।

यस सहमतिलाई प्रतिनिधिसभाले अनुमोदन गरे पनि विधेयकको कुलिङसम्बन्धी प्रावधानमा उपदफा थपेर कुलिङ नै नलाग्ने बनाएर पारित गरिएको छ ।

यस फेरबदलमा कसको संलग्नता हो भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बने पनि यसले सक्रियतापूर्वक काम गरेको छैन ।

यहीबेला राष्ट्रिय सभाले समेत विधेयकलाई नै अनन्तकालसम्म धकेल्ने मनसायका साथ दफावार छलफलका नाममा विधायन समितिमा पठाएको हो ।

विधेयक समितिमा पुगनुअघि सत्तामा रहेका दुई दलका सांसदहरू नै कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने बहसमा उत्रिएका छन् ।

संशोधन दर्ता गराएका एमाले सांसदहरूले पार्टीको निर्देशनअनुसार काम गरेको अभिव्यक्ति दिएपछि यही विषयका कारण सत्ता समीकरणको भविष्यमा समेत प्रश्न उठ्न थालेको छ ।

देउवासँग पनि कुलिङ र मन्त्रीका कामकै असन्तुष्टि
नेपाली कांग्रेसका पाँच जना पूर्वपदाधिकारीले सोमबार उपप्रधानमन्त्री सभापति शेरबहादुर देउवालाई प्रकाशमान सिंहको निवासमा गरेको छलफलको निष्कर्ष सुनाए ।

यसक्रममा उनीहरूले कुलिङ अफ पिरियड हटाउन एमाले नै लागेकाले सम्बन्धमा पुनर्विचार गर्न देउवालाई सुझाए । देउवा तत्काल एमालेसँगको सहकार्यमा पुनर्विचार गर्ने पक्षमा नदेखिए पनि नेताहरूले कांग्रेसका मन्त्रीको कार्यसम्पादनमाथि पनि प्रश्न उठाएका छन् ।

पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले देउवासँग २ घण्टा वार्ता गरेर पार्टीको भावी नेतृत्वका विषयमा समेत चासो राखे ।

पछिल्ला दिन शेखर कोइराला र महामन्त्री गगन थापाले भावी सभापतिका रूपमा गतिविधि सक्रिय पारेपछि झस्किएका पूर्वपदाधिकारीहरू देउवाले पाँचमध्ये एक नेतालाई सभापतिका रूपमा बचन दिऊन् भन्ने चाहना राख्छन् । तर, भेटमा देउवाले आफ्नो कुनै उम्मेदवार नरहेको स्पष्ट पारे पनि पाँचमध्ये कुनै एक जनालाई सभापतिका रूपमा अघि सार्ने वचन भने दिएनन् ।

यससँगै एमालेसँग असन्तुष्ट नेताहरू देउवासँग पनि सन्तुष्ट हुन नसकी सभापति निवास बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग