विश्वव्यापी एआई होडमा नेपाल माथि उक्लिँदै

काठमाडौं । बौद्धिक कृत्रिमता ( एआई) को क्षेत्रमा नेपाल १ सय ५० औं स्थानबाट माथि उक्लेर १ सय ६ औं साथमा उक्लेको छ ।

‘अक्सफोर्ड इनसाइट्स’ को २०२५ को रिपोर्ट अनुसार नेपाल १९५ देशहरूमध्ये १०६ औँ स्थानमा उक्लिएको हो । नेपालले सन् २०२२–२०२४ को १५० औँ स्थानको तुलनामा ठूलो फड्को मारेको हो । तर, यो प्रगतिको साथसाथै नेपालका अगाडि नीतिगत स्पष्टता, पूर्वाधारको अभाव र दक्ष जनशक्तिको पलायन जस्ता गम्भीर चुनौतीहरू रहेका छन् ।

विश्वव्यापी रूपमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले छोटो समयमा ठूलो छलाङ मारेको छ । तीन वर्षको अन्तरालमा विश्वको ५३ प्रतिशत जनसंख्यामाझ एआईको पहुँच पुगेको छ । यसैंबीच नेपाल पनि एआई उपयोग गर्ने राष्ट्रबाट एआई निर्माण गर्ने दिशातर्फ अघि बढिरहेको जानकारी नास आइटीका अध्यक्ष गौरव पाण्डेले बताए ।

उनका अनुसार राष्ट्रिय एआई नीति २०२५ मार्फत सरकारले एआईलाई आर्थिक विकासको मुख्य आधार बनाउने लक्ष्य राखेको छ । तर पूर्वाधार अभाव, दक्ष जनशक्तिको पलायन र नीतिगत स्पष्टताको कमी जस्ता चुनौतीहरूले यो यात्रालाई जटिल बनाइरहेको बुझाइ उनको रहेको छ ।

नेपालको एआई अब सैद्धान्तिक छलफलमा मात्र नभइ व्यावहारिक रूपमा प्रयोग गर्न थालिएको छ । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि एआई अप्टिमाइज्ड स्मार्ट ट्राफिक सिग्नल सञ्चालनमा ल्याएको छ, जसले सडकको वास्तविक चापअनुसार सिग्नल स्वतः परिवर्तन गर्छ । नागरिक एपमार्फत सार्वजनिक सेवालाई पनि एआईले थप सुव्यवस्थित बनाउने प्रयास भइरहेको छ ।

कृषि क्षेत्रमा जिओकृषि, ईग्रो र प्लान्टसाट नेपालजस्ता प्लेटफर्मले किसानलाई माटो परीक्षण, कीरा पहिचान र बाली बिमा दाबीमा एआईको सहयोग पु¥याइरहेका छन् । स्वास्थ्य क्षेत्रमा पाटन अस्पतालको वाइजयाक प्रणालीले बिरामी डाटा विश्लेषण गरिरहेको पनि नासआइटीका अध्यक्ष पाण्डेले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयका एआइ विषय समितिका सदस्य रोजेश शिख्राकारका अनुसार नेपालको बैंकिङ क्षेत्रमा ईसेवा र एफ वान सºटले कर्जा स्वीकृति तथा ठगी पहिचानमा एआई प्रयोग गरिरहेको छ । उनका अनुसार सेवा क्षेत्रमा नेपाल एसबीआई बैंकको ‘परी’ रोबोट र नौलो रेस्टुरेन्टका ‘जिन्जर’ तथा ‘फेरी’ रोबोटले ग्राहक सेवा प्रदान गरिरहेका छन् ।

एआईको विकासमा नेपालका अगाडि मुख्य चुनौतीहरू देखापर्न थालेको पनि उनले बताए । उनले भने,‘सबैभन्दा ठूलो समस्या कम्प्युट पावरको अभाव हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा जीपीयू क्षमता अत्यन्त सीमित छ । विश्व बजारमा एक एनभिडिया बी२०० चिपको मूल्य ३० हजार डलरभन्दा बढी छ ।’

डेटा व्यवस्थापनमा पनि ठुलो समस्या देखिन थालेको छ । अधिकांश सरकारी तथ्याङ्क लक गरिएका पीडीएफ वा एक्सेल फाइलमा छन् । मन्त्रालयबीच डेटा आदानप्रदान प्रणाली (इन्टरअपरेबिलिटी) को अभाव छ र डेटाको गुणस्तर पनि कमजोर छ ।

यहीबीच दक्ष जनशक्तिको अभाव झन् गम्भीर रहेको छ । नासआइटीका अध्यक्ष पाण्डेका अनुसार नेपालमा ५०० भन्दा कम दक्ष एआई÷एमएल इन्जिनियरहरू छन् । वार्षिक सात लाखभन्दा बढी युवा विदेश पलायन हुने क्रममा प्रतिभाशाली सºटवेयर आर्किटेक्टहरू पनि बाहिरिरहेकोमा उनले दुखेसो पोखे ।

चुनौतीका बाबजुद नेपालसँग एआई क्षेत्रमा उल्लेखनीय अवसर पनि रहेको बुझाइ उनको छ । नेपालमा उपलव्ध सस्तो जलविद्युत र पहाडी क्षेत्रको प्राकृतिक चिसो मौसम डेटा सेन्टर स्थापनाका लागि उपयुक्त ठाउँको रुपमा रहेको बुझाइ उनको छ ।

स्थानीय भाषा संरक्षणका लागि भारतको भाषिनी मोडल जस्तै नेपालले आºनै लार्ज ल्यांग्वेज मोडल ( एलएलएम ) विकास गर्न सकिने नास आइटीको एआइ समितिका अनिसमान श्रेष्ठले बताए । एआईले विभिन्न पेशामा १४ देखि ५५ प्रतिशतसम्म उत्पादकत्व वृद्धि गर्न सक्ने अध्ययनहरूले देखाएको उनले स्पष्ट पारे ।

नेपालको राष्ट्रिय एआई नीति २०२५ ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत योगदान पु¥याउने लक्ष्य लिएको छ । यसमा ५ हजार दक्ष एआई जनशक्ति उत्पादन गर्ने लक्ष्य पनि बोकेको छ ।

विश्व एआई रेडिनेसमा शीर्ष १ सय ६ बाट ५० मा पु¥याउने लक्ष्य पनि नीतिले लिएको छ । सबै प्रदेशमा एआई उत्कृष्टता केन्द्र स्थापना गर्ने र पूर्ण जनसंख्यामा एआई साक्षरता पु¥याउने लक्ष्य पनि सरकारले लिएको छ ।

नीतिले कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, ऊर्जा, पर्यटन लगायत १० क्षेत्रलाई प्राथमिकता दिएको छ । यसले डाटा सार्वभौमिकता र नियमनकारी संरचनाको पनि व्यवस्था गरेको छ ।

एआईको प्रयोग बढ्दै गए पनि नेपालका लागि यो बाटो सहज नभएको नेपाल खुला विश्वविद्यालयका डा. भोजराज घिमिरेले बताए ।

नेपालमा एआई इन्जिनियरहरूको अभाव हटाउन र दक्ष जनशक्ति उत्पादन गर्न खुला विश्वविद्यालयले आगामी सत्रदेखि इन्डस्ट्री इन्टिग्रेटेड डिग्रीको अवधारणा अघि सारेको छ । एआइ कम्पनीमा काम गर्दै डिग्री हासिल गर्ने अवसर यो कोर्षले दिने जानकारी उनले दिए ।

अहिले नेपालमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयले एआई र डेटा साइन्समा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

हालको पाठ्यक्रममा ’ह्यान्ड्सअन’ अर्थात् व्यावहारिक अभ्यासको कमी रहेको छ । इन्जिनियरहरूलाई विश्वव्यापी ग्राहकहरूको आवश्यकता अनुसार तयार पार्न पाठ्यक्रम विकास गरिरहेको जानकारी उनले दिए । उनले भने,‘ विश्वविद्यालयको शिक्षाका साथै औद्योगिक स्तरको प्रशिक्षणलाई प्राथमिकता दिनुपर्छ ।

भविष्यका लागि जनशक्ति तयार पार्न विद्यालय स्तरदेखि नै एआई साक्षरता सुरु गर्नुलाई उच्च प्राथमिकतामा राख्नुपर्ने नासआइटीका अध्यक्ष पाण्डेल बताए । यसले विद्यार्थीहरूमा सानै उमेरदेखि प्रविधिप्रति रुचि र आधारभूत सीप विकास गर्न मद्दत गर्छ ।

वार्षिक ७ लाखभन्दा बढी युवा र दक्ष सºटवेयर आर्किटेक्टहरू विदेश पलायन हुने क्रम रोक्न स्वदेशमै उच्च मूल्यका ‘टेक जब’ हरू सिर्जना गर्नुपर्ने उनले बताए ।स्टार्टअप इन्क्युबेसन, निर्यातयोग्य प्रविधि सेवा र दक्ष जनशक्तिलाई टिकाउने नीतिहरू अवलम्बन गर्नुपर्ने पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम