काठमाडौं । युवा वैज्ञानिकहरूको एसिया प्यासिफिक सम्मेलन–२०२५ मा नेपाली टोलीले ६ विधामा पुरस्कार प्राप्त गरेको छ ।
ताइवानको चुङ युआन क्रिस्चियन विश्वविद्यालयमा आयोजित सम्मेलनमा नेपालसहित ११ देशका उच्च माध्यमिक विद्यालयका अनुसन्धानकर्ताहरूले भाग लिएका थिए । यीमध्ये नेपाली विद्यार्थीको टोलीले ६ वटा विधामा पुरस्कार हात पार्न सफल भएको छ ।
जीव विज्ञान विधामा अर्बना स्कुल अफ साइन्सका दीपा बम र श्रीजन ढकालले स्वर्णपदक र उत्कृष्ट पोस्टर पुरस्कार पाए । वातावरण विज्ञान विधामा सेन्ट लरेन्स कलेजका निलिमा सुवेदी र गणेश जोतीले रजत पदक र उत्कृष्ट पोस्टर पुरस्कार पाए ।
जीव विज्ञान विधामा सेन्ट लरेन्स कलेजका कुशल दंगालले कांस्य पदक र वातावरण विज्ञान विधामा चिल्ड्रेन इन्भाइरोमेन्ट विद्यालयका पल्पसा श्रेष्ठ र पल लिम्बू विशेष पोस्टर पुरस्कारबाट पुरस्कृत भएका छन् ।
पुरस्कृत सबै विद्यार्थी युनिग्लोब माध्यमिक विद्यालय, कमलादीको सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युटद्वारा आयोजित नवौं युवा वैज्ञानिक सम्मेलनमा राष्ट्रिय स्तरको उच्च माध्यमिक विद्यालय वैज्ञानिक प्रतियोगिताबाट छनोट भएका थिए ।







