नेपाल–भारत सीमा संरक्षण कार्यविधि स्वीकृत

काठमाडौं । नेपाल–भारत सीमा कार्यसमूहको सातौं बैठकले सीमा स्तम्भ मर्मत र प्रविधिमा नवीनता अपनाउने सहमति गरेको छ । भारतको नयाँ दिल्लीमा भएको कार्यसमूहको वैठकले सो सहमति कायम गरेको हो ।

बैठकले नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको अनुगमन, मर्मत तथा संरक्षणका लागि अद्यावधिक कार्यविधिहरू स्वीकृत गरेको छ । साथै, सीमांकन र नक्सांकनको क्षेत्रमा प्रविधि प्रयोगलाई बढाउँदै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने सहमति पनि बैठकले गरेको छ ।

नेपाल र भारतबीचको खुला सिमानाको प्रभावकारी व्यवस्थापन तथा दुई देशबीचको प्राविधिक सहयोगलाई बलियो बनाउने उद्देश्यले बैठकले नयाँ प्रविधि र कार्यप्रणालीको अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका सर्भेयर जनरल हितेशकुमार एस माकवानाले गरेका थिए ।

बैठकमा सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैठौं सीमा कार्यसमूह बैठक तथा सोही वर्षको सेप्टेम्बरमा सम्पन्न ११औं सर्भे अधिकृत समितिको कार्यान्वयन प्रगतिको समीक्षा गरिएको थियो ।

बैठकले आगामी सर्भे अधिकृत समितिको बैठक २०२५ अगस्टमा नेपालमा गर्ने र अर्को सीमा कार्यसमूह बैठक नेपालमै पारस्परिक सहमतिमा हुने जनाइएको छ ।

सन् २०१४ मा स्थापना गरिएको सीमा कार्यसमूह दुई देशका सरकारद्वारा गठन गरिएको संयुक्त संयन्त्र हो, जसले सीमा स्तम्भको निर्माण, पुनःस्थापना, मर्मत तथा अन्य प्राविधिक कार्यहरू गर्दै आएको छ । सीमा व्यवस्थापनमा पारदर्शिता, सहकार्य र प्रविधिमैत्री दृष्टिकोणलाई सुदृढ गर्न यस संयन्त्रले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३