नीजि अस्पतालले राख्न नमानेपछि पर्साका कोरोना संक्रमित विद्यालयमा

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा बिरामी राख्ने ठाउँ नपुगेपछि पर्सामा कोरोना संक्रमित बिरामीलाई विद्यालयमा राख्न थालिएको छ । देशभर सबैभन्दा बढी कोरोना संक्रमित बिरामी पर्सा जिल्लामा पुष्टि भएका छन् । पुर्व तयारी अनुसार कोरोना संक्रमितलाई उपचारका लागि यहाँको नारायणी अस्पतालमा राख्दै आइएको थियो । यो अस्पतालको क्षमताभन्दा बढि बिरामी संक्रमित हुन थालेपछि अर्को ठाउँमा पनि बिरामीलाई राख्नु पर्ने बाध्यता बन्यो । तथापी वीरगञ्ज क्षेत्रका कुनै पनि नीजि अस्पतालले साथ नदिँदा कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई स्थानीय सिद्धार्थ माविमा राख्न थालिएको हो ।

‘पर्सामा २४/२५ वटा नीजि अस्पताल छन् । ती अस्पतालहरु मध्ये गण्डक अस्पतालले गएको बैशाख ६ गते कोरोना उपचारका लागि अस्पताल उपलब्ध गराउने भनी वीरगन्ज महानगरपालिकासँग सम्झौता गरेको थियो । यो बाहेक अरु कुनै पनि अस्पताल अझैसम्म पनि कोरोनाका बिरामी राख्न मन्जुर छैनन् ।’ वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भने । ‘गण्डक अस्पतालमा पनि अझै प्राविधिक कारणले बिरामी पठाउन सकिएको छैन’, उनले थपे ।

अन्ततः समस्या परेको समयमा यहाँका नीजि अस्पतालभन्दा विद्यालय भवन नै बिरामीको सहारा बनेको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले तर्क गरे । सिद्धार्थ माविमा सेमी आइसोलेशन वार्डका रुपमा २ सय जति बिरामीलाई राख्ने व्यवस्था गरिन थालेको उनको भनाइ छ ।
नारायणीमा ५ बेडबाट ७० पु-याउँदा पनि बिरामी अटेनन् ।

सुरुमा ५ बेडमा संक्रमित राख्ने गरी पूर्वाधार बनाइएको वीरगन्जको नारायणी अस्पतालमा आन्तरिक क्षमता बिस्तार गरी २५, ५० हुँदै ७० वेडसम्म पु¥याइएको छ । तथापि अस्पतालमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि बिरामी आँट्न छोडेको नारायणी अस्पतालले जनाएको छ । अहिले यहाँ ठाउँ अभाव भएर स्थानीय सिद्धार्थ मा.वि.मा १९ जना संक्रमित पठाइएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले राजधानी सँग बताए ।

मंगलबार राती संक्रमित पुष्टि भएका १८ जना मध्ये १७ जना र बुधबार संक्रमित पुष्टि भएका ३ जना मध्ये २ जना गरी कुल १९ जना बिरामीलाई अहिले सिद्धार्थ माविको सेमी आइसोलेशन वार्डमा पठाइएको छ उनले भने । वीरगन्जको नारायणी अस्पतालमा भने अहिले एकजना नर्स सहित ७१ जना संक्रमित बिरामीको उपचार भइरहेको उनको भनाइ छ ।

सुरुमा डिष्चार्ज भएका २ सहित पर्सामा ९० जनाको उपचार हुँदै
पहिलेदेखि उपचारार्थ २९ बिरामी, मंगलबार पुष्टि भएका पर्साका ३९ र बाराका एक गरी ४०, त्यहि दिन राति पुष्टि भएका १८ तथा बुधबार पुष्टि भएका ३ जना गरी पर्सामा अहिले ९० जना संक्रमितको उपचार भइरहेको छ । जसमा २ जना पहिले ठिक भएर पुनः अस्पताल भर्ना गरिएका बिरामी भएको नारायणी अस्पतालले जनाएको हो ।

क्वारेन्टाइन बनाइएको विद्यालयमा सेमी आइसोलेशन
भारत तथा नेपालमा पनि बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुलाई १४ दिनसम्म राख्न बनाइएको सिद्धार्थ मा.वि.को क्वारेन्टाइनलाई परिमार्जन गरी सेमी आइसोलेशन वार्ड बनाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । नारायणी अस्पतालमा मात्र बिरामी अट्न छोडेपछि विकल्पका रुपमा क्वारेन्टाइन बनाइएको विद्यालयमा नै आइसोलेशन वार्ड बनाइएको उनको भनाइ छ । अस्पतालमा नै राखि राख्नु नपर्ने सामान्य अवस्थाका बिरामीलाई सेमी आइसोलेशन वार्डमा राख्ने र त्यसमा कुनै जटिल अवस्था आउन लागे अब अस्पतालमा राख्ने गरी व्यवस्थापन गर्न थालिएको उनको भनाइ छ ।

नीजि अस्पतालमा कोरोनाका संक्रमित राख्न मानेनन्
कोरोनाका बिरामी नेपालमा पनि हुन सक्छन् भन्ने सुरुमा हल्ला हुँदा ५० वटा आइसोलेशन वेड दिन घोषणा गरेको वीरगञ्जको नेशनल मेडिकल कलेजमा अझै सम्म कोरोनाका बिरामी भर्ना गर्ने व्यवहारिक वातावरण बनेको छैन । कुरा र काममा एकरुपता नभएपछि कोरोना संक्रमित पुष्टि भएका बिरामी नेशनल मेडिकल कलेजमा राख्न नसकिएको हो । पटक–पटक सहमतिको प्रयास गर्दा पनि अझै नीजि अस्पतालहरु तयारी नभएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए । वीरगन्जमा २५ वटा नीजि अस्पतालहरु छन् । तीनिहरुमध्ये वीरगन्जको गण्डक अस्पताल वाहेक अरु कुनै पनि अस्पताल कोरोनाका बिरामी राख्न मनजुर भइनसकेको उनको भनाइ छ ।

गण्डक अस्पतालमा बल्ल बिरामी राख्न तयारी अगाडी बढाइदै
बैशाख ६ गते महानगरपालिकासँग कोरोना संक्रमित बिरामीको उपचार गर्न तयार रहेको भनी वीरगन्जको गण्डक अस्पतालले सम्झौता गरिसकेको थियो । सम्झौता भइसकेको गण्डक अस्पतालमा बल्ल सिसि क्यामरा जडान गरी बिरामी राख्ने गरी निर्माण गर्न सुरु गरिएको छ । केन्द्र सरकारको पूर्ण स्वीकृती र नारायणी अस्पतालका बिरामी डिष्चार्ज भइसकेपछि प्रयोग गर्ने तयारी हुँदै छ । यो अस्पतालमा जम्मा ५० जना सिकिस्त बिरामीलाइ पनि उपचार गर्न सक्ने क्षमताको रहेको नगर प्रमुख सरावगीले बताए । गण्डक अस्पतालमा बिरामीहरु राख्न थालेपछि त्यसको व्यवसस्थापन भने वीरगञ्जको नारायणी अस्पतालले नै हेर्ने गरी नारायणी अस्पतालका मेसु डा उपाध्यायसँग सहमति भइसकेको उनको भनाइ छ ।

अन्य नीजि अस्पतालहरुले भने आफ्नो अण्डरमा चिकित्सकहरु नभएको भनी सबै रेखदेख नारायणी अस्पतालले नै गर्नुपर्ने जस्ता अनेक बखेडा गर्ने गरेको नगरप्रमुख सरावगीले दाबी गरे । ‘यो भनेको कोरोनाका बिरामी नीजि अस्पतालमा नल्याइयोस् भन्ने नै नीजि अस्पताल संचालकहरुको मनसाय हो’, उनले भने ।

समुदायमा भाइरस छिरेपछि एक दुई अस्पतालले नभ्याउने
पर्सामा कोरोना भाइरस समुदायमा छिरिसकेको छ । यो भनेको भाइरस फैलावटको तेस्रो फेज मानिन्छ । सुरुमा आयातित, पछि उनीहरुको सम्पर्कमा पुगेका व्यक्ति हुँदै अब थोरै व्यक्ति र एरियामा मात्र सिमित नभएपछि समुदायमा भाइरस छिरेको ठहर गरिएको छ । यो अवस्थामा एकदुई अस्पतालमा मात्र बिरामीलाई निगरानी राख्न नसकिने वीरगन्जका चिकित्सकहरुको भनाइ छ । यो अवस्था आउन सक्ने आँकलन गरी सुरुदेखि जिम्मेवार निकायसामु बताउँदै आएको चिकित्सकहरुको तर्क छ । तथापी स्थानीय प्रहरी प्रशासन र माथिका सरकारहरुले पनि खासै चासो नदिंदा अब निकै चुनौति देखिन थालेको नारायणी अस्पतालका डा. निरज सिंहले बताए ।

वीरगञ्ज क्षेत्रको एकमात्र जिम्मेवार जनरल अस्पतालका रुपमा रहेको नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउनु सुरुमा नै गल्ती भएको उनको तर्क छ । कोभिड अस्पताल छुट्टै वा खुल्ला एरिया भएको ठाउँलाई आइसोलेशन वार्ड बनाएर प्रयोग गर्नु पथ्र्यो । त्यसमा जुन बिरामी गम्भिर प्रकारको समस्या हुन थाल्छ त्यस्ता बिरामीलाई मात्र अस्पतालको आइसियु जस्ता सुविधा भएका ठाउँमा राख्ने गरी पूर्व तयारी हुनुपर्नेमा त्यो सुरुबाट नै व्यवस्थापन हुन नसकेको उनको भनाइ छ । ‘त्यसको लागि सेमी आइसोलेशन वार्डका रुपमा अलग्गै पूर्व तयारी गरिनु पर्छ’, डा सिंहले भने ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत