चिनजानको १५ दिनमै प्रेमसम्बन्ध, बिग्रिएपछि हत्या

धनगढी । कैलालीमा एक युवतीको चक्कु प्रहार गरी हत्या गरिएको छ । १७ वर्षीया किशोरी याचना सेजुवालको चक्कु प्रहार गरी हत्या गरिएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ घर भएकी ती किशोरी सोही पालिकाको वडा नम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड मःमः सेन्टरमा काम गर्थिन् ।

सेजुवाललाई सोही सेकुवा एण्ड मःमः सेन्टरमा काम गर्ने बर्दगोरिया वडा नम्बर १ का ३३ वर्षीय निरज साउदले चक्कु हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजुवाललाई साउदले चक्कु हानेका थिए । चक्कु प्रहार गर्ने राजधानी सेकुवा एण्ड मःमः सेन्टरका कुक हुन भने सेजुवाल वेटर ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजुवाललाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल ल्¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए । सेजुवालको घाँटीलगायत अन्य ठाउँमा चोट लागेको छ ।

डीएसपी सिंहका अनुसार सेजुवालको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल राखिएको छ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

यस्तो छ घटनाको कारण…
प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धमा आएको मतभेदका कारण सेजुवालको हत्या भएको खुलेको छ । १५ दिनअघि मात्रै सेजुवाल बर्दगोरिया गाउँपालिका १, को बौनिँया बजारमा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम लागेकी थिइन् । उनी सेकुवा सेन्टरमा वेटरका रुपमा काम गर्थिन् ।

सोही सेकुवा एण्ड मःम सेन्टरमा साउद कुकको काम गर्दै आएका थिए । काम गर्ने क्रममा सेजुवाल र साउदको चिनजान भई नजिक भएका थिए । दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको थियो ।

सम्बन्ध विच्छेदपछि साउद तनावमा थिए । सुरुमा राम्रो सम्बन्ध रहेको उनीहरूको सम्पर्क पछिल्लो समय प्रेम सम्बन्धमा परिणत भएको थियो । सेजुवालसँगको सम्बन्धले साउदलाई नयाँ जीवनको आशा दिलाएको थियो । प्रहरीकाअनुसार श्रीमतीसँग सम्बन्ध विच्छेद भएकै कारण साउदले सेजुवालसँग सम्बन्ध अघि बढाएको बताएका छन् ।

तर पछिल्ला दिनमा सेजुवालले अन्य केटासँग भिडियो कल र च्याट गर्ने गरेको देखेपछि साउद असन्तुष्ट बनेका थिए । सेजुवाल वेटर मात्र नभएर पछिल्लो समय भान्छामा साउदको सहयोगी कर्मचारीका रुपमा काम गर्ने गरेकी थिइन् ।

भेट भएको १५ दिनमै प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद शनिबार पनि सदाजस्तै राजधानी सेकुवा एण्ड मःमको भान्छाकोठामा काम गर्दै थिए । काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकैबीच साउदले सेजुवालको घाँटीमा चक्कुले प्रहार गरिदिए । त्यतिबेला उनीहरु दुई जना मात्र सेकुवा सेन्टरको भान्छा कोठामा रहेको खुलेको प्रहरीको भनाई छ ।

डीएसपी सिंहका अनुसार प्रारम्भिक अनुसन्धानबाट साउदले आपसी विवादका क्रममा सेजुवालमाथि चक्कु प्रहार गरेको खुलेको र चक्कु प्रहारबाट गम्भीर सेजुवाल सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए । उनलाई तत्कालै अस्पताल लगिएपनि बचाउन सकिएन ।

प्रहरी नियन्त्रणमा रहेका साउदले सेजुवालसँग विवाह गर्ने समझदारी भइसकेको बताएका छन् । साउदले आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरुसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेशमा आएर चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

शुक्रबार राति दुवै जनासँगै भाग्ने सहमतिमा पुगेका थिए । तर अन्तिम समयमा सेजुवालले इन्कार गरेपछि साउद आक्रोशित बनि शनिबार बिहान करिब १० बजे कामकै समयमा मःमः सेन्टरको भान्साकोठामै साउदले सेजुवाललाई धारिलो हतियार प्रयोग गरी हत्या गरे ।

तपाइको प्रतिक्रिया
(Visited 449 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव