फूलपातीमा ३ चलचित्र, फस्ट लुक्स एकै दिन सार्वजनिक

काठमाडौं । यो वर्षको दसैँ आउन अब दुई महिना पनि बाँकी छैन । त्यसो त विगतको झैँ यस पटक पनि नेपाली चलचित्रको प्रदर्शनीमा निकै प्रतिस्पर्धा हुने भएको छ । गत वर्ष झैँ यस वर्ष पनि फूलपातीको दिन मात्रै तीन वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । यस अघि फूलपातीमा रिलिज गर्ने भनेर मौखिक घोषणा गरेको तीन वटा नेपाली चलचित्रका निर्माताले शुक्रवार आ आफ्नो पोस्टर सार्वजनिक गर्दै एकसाथ रिलिजको घोषणा गरेका हुन् ।

यी तीन चलचित्रमा ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ रहेका छन् । तीन वटै चलचित्रले एकै दिन पोस्टर सार्वजनिक गर्दै अहिलेबाटै आफूहरूबिच प्रतिस्पर्धा रहेको प्रमाणित गरेका छन् । यी तिन वटै चलचित्रको निर्माताले प्रचार प्रसार पनि एकसाथ सुरु गरेका छन् ।

यस्तै दसैंलाई लक्षित गर्दै घटस्थापनाको तीन दिन अघि चलचित्र ‘जारी २’ पनि रिलिज गरिने भएको छ । ‘जारी २’को फस्ट लुक्सको रूपमा पोस्टर पनि शुक्रवार नै सार्वजनिक गरिएको हो । यसरी एकै दिन चार चलचित्रको पोस्टर सार्वजनिक गर्दै दसैँको उपलक्ष्यमा रिलिज गर्न लागिएको घोषणा गरिएको हो । अघिल्लो तीन वर्ष पहिला रिलिज गरिएको चलचित्र ‘जारी’ बम्पर हिट भएपछि सिक्वेलको रुपमा यति बेला ‘जारी २’ निर्माण गरिएको हो ।

शुक्रवार फास्ट लुक्स सार्वजनिक गरिएको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’मा शीर्ष भूमिका हरिबंश आचार्यको रहेको छ । सोही कारण चलचित्रको पोस्टरमा पनि हरिबहादुरको मात्र तस्बिर राखिएको छ । एक समय मह सञ्चारले निर्माण गरेको टेली सृंखला ‘मदनबहादुर हरिबहादुर’ निकै लोकप्रिय थियो । यही हास्य प्रधान टेली सृंखलाको चरित्र हरिबहादुरलाई चलचित्र ‘हरिबहादुरको जुत्ता’मा उतारिएको छ । मुख्य पात्र हरिबहादुरले एउटा जुत्ताको लागि गरेको संघर्षले निम्त्याएको विभिन्न घटनालाई यो चलचित्रको कथामा समेटिएको छ ।

यो चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो

चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् । जसमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ ।

यस्तै ‘हरिबहादुरको जुत्ता’सँगै रिलिज हुने अर्को चलचित्र ‘माइतीघर’को फस्टलुकमा चलचित्रको शीर्ष कलाकारलाई समेटिएको छ । यसको फस्ट लुक्समा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ । केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पालाई पोस्टरमा समेटिएको छ । यो चलचित्रमा बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, संगीता थापा लगायतका कलाकारहरूको पनि अभिनय छ ।

रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको ‘माइतीघर’मा मिलन तामाङको निर्देशन रहेको छ । चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल यो फिल्मका कार्यकारी निर्माता हुन् ।

यो चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र जयदेवको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशन र साहिल खानको ट्रेलर छ ।

यस्तै फूलपातीमा रिलिज हुने अर्को नेपाली चलचित्र ‘बलिदान’लाई सन्तोष सेन ठकुरीले निर्माण तथा निर्देशन गरेका हुन् । यो एक्सन प्रधान चलचित्र हो । बाँकी दुई चलचित्र जस्तै यो चलचित्र पनि दसैँमा बाजी मार्ने पक्षमा रहेको छ । यो चलचित्रको फस्ट लुक्स पोस्टरमा अभिनेता समीर भट्टलाई विशेष स्थान दिइएको छ । अघिल्लो दसैँमा रिलिज भएको चलचित्र १२ गाउँको सफलता पछि समीरको यो दोस्रो चलचित्रमा पनि दसैँमा रिलिज हुन लागेको हो ।

यो चलचित्रमा समीर भट्टसँगै, सौगात मल्ल, विजय बराल, ऋचा शर्मा, कविता रायलगायतको शीर्ष भूमिका रहेको छ । देशभक्ति भावनाको कथावस्तुमा आधारित चलचित्रमा राजनीतिक विषयसँगै एक्सन ड्रामा समावेश भएको निर्माण पक्षले जनाएको छ । सन् १८५५ को समयमा नेपाल–तिब्बतबिच चलेको युद्धको समेत कथावस्तु चलचित्रमा समावेश गरिएको पनि निर्माण पक्षको कथन छ ।

दसैँ भन्दा १० दिन अघि रिलिज हुने चलचित्र ’जारी २’को पनि शुक्रवार नै पोस्टर सार्वजनिक गरिएको हो । यो चलचित्र तिहारसम्म चल्ने विश्वास यसका निर्देशक एवम् कवि उपेन्द्र सुब्बाको रहेको छ ।

यो चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई महत्वका साथ स्थान दिएर शुक्रवार तीन वटा पोस्टर रिलिज गरिएको हो । सार्वजनिक भएका ती तीनै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिमा केन्द्रित ‘च्याब्रुङ’ बाजालाई प्रस्तुत गरेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । ‘जारी २’मा दयाहाङ, मिरुनासँगै विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन