काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन् । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरूलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवेदन दिएको रास्वपाले जनाएको छ ।
रास्वपाले निवेदन दिएकाहरूको नामावली आज नै प्रकाशित गरेको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्टाइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको छ । साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिने छ ।
१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।






