काठमाडौं । नेपाली चलचित्र ‘मेयर’ अब तत्काल रिलिज नहुने भएको छ । चलचित्रको निर्मातामाथि कानूनी कारवाही अघि बढेपछि यो चलचित्र अहिले पोस्ट प्रोडक्सनमा नै अलपत्र परेको छ ।
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको लगानीमा उनको बायो पिकको रूपमा यो चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
बागमती नगरपालिकाका मेयर भरत थापा विरुद्ध बुधवार मात्र विशेष अदालतले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेको छ । विशेष अदालतले सो बापत भरतलाई १ वर्ष कैद सजाएँ पनि सुनाएको छ । भरत माथि विशेष अदालतले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना समेत तोकेको छ ।
यसरी विशेष अदालतले भरत ताल निर्माणको क्रममा अनियमितता गरेको भन्दै मेयर भरत थापा उपर यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब भरत थापा एक वर्ष जेल जाने भएका छन् ।
भरत थापाको जीवनीमा आधारित रहेर बनाइएको चलचित्र ‘मेयर’ यही कारण यति बेला अलपत्र परेको छ । यो चलचित्र निर्माणमा तीन करोड भन्दा बढी रकम खर्च भइसकेको छ । तर चलचित्रको निर्माण अझै पुरा भएको छ ।
यसै बिच यो चलचित्रका निर्देशक दीपेन्द्र के खनाल यति बेला अर्को बायो पिक चलचित्र ‘क्याप्टेन साव’को निर्माण निर्देशनमा व्यस्त छन् ।
जसका कारण उनले चलचित्र ‘मेयर’को ’bout आजकाल बोल्न छाडेका छन् । यो चलचित्रमा भरत थापाको भूमिका अभिनेता खगेन्द्र लामिछानेले निर्वाह गरेका छन् । चलचित्रका निर्माता नै जेल जाने भएपछि यो चलचित्रको निर्माण यति बेला अलपत्र परेको हो ।






