पोखरा । कृषिप्रधान देश नेपालमा कृषिमा प्रशस्त सम्भावना छ भन्ने कुरा भनिरहनुपरेन । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड कृषिमा यही सम्भावना देखेरै ‘स्वाइल टु सक्सेस’ नारासहित आक्रामक ढंगले अघि बढेको छ ।
१० महिनाअघिमात्र खुलेको यो कम्पनीको तथ्यांक हेर्ने हो भने २ वर्षभित्र १० हजार जना नेपालीलाई कम्पनीमा जोड्ने लक्ष्यमा ३ हजार जना आबद्ध भइसकेका छन् । ३ वर्षभित्र १ अर्ब पुँजी पु¥याउने लक्ष्य राखिएकामा ६५ करोड रुपैयाँ पुगिसकेको छ । प्रतिबद्धता ८० करोड रुपैयाँका लागि आइसकेको छ ।
यसैगरी, कम्पनीले आगामी वर्ष आईपीओ जारी गर्ने लक्ष्यसहित ग्लोबल आईएमई क्यापिटलसँग सम्झौता गरिसकेको छ । कम्पनीको स्थिर सम्पत्ति १२ करोड रुपैयाँभन्दा माथि छ ।
कृषकलाई बर्सेनि मलखादको समस्या न्यूनीकरण गर्न सर्लाहीको लालबन्दीमा परियोजना निर्माण गर्न लागेको कम्पनी प्रमुख कार्यकारी अध्यक्ष विशाल हुमागाईंले बताए । यस परियोजनामा बर्सेनि ३० लाख किलो मल र ५ लाख किलो च्याउ उत्पादन लक्ष्य लिइएको उनले जनाए । परियोजनाका लागि लालबन्दी नगरले नक्सा स्वीकृति गरिसकेकामा हालै टेन्टर पनि खोलिएको छ । १६ वर्षको बैंकिङ करिअर रहेका कृषिविज्ञ हुमागाईंले भने, ‘नेपालमा कृषि क्षेत्रमा प्रशस्त सम्भावना छ, बिदेसिनुको साटो नेपाली युवा जनशक्तिले यसमा ध्यान दिनु जरुरी छ, स्थापनाको छोटो अवधिमै हाम्रो कम्पनीप्रति धेरैले विश्वास पनि गर्नुभएको छ ।’
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको जनकपुरमा प्रादेशिक, लालबन्दीमा परियोजना, वीरगन्ज र हेटौंडामा सम्पर्क कार्यालय खुलिसकेका छन् । पोखरामा पनि प्रादेशिक कार्यालय छिट्टै खुल्ने कम्पनीले जनाएको छ । शनिबार पोखरामा प्रस्तावित लगानीकर्ताको भेला भएको थियो ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष विशाल हुमागाईंले नेपालमा कृषिको आवश्यकता र सम्भावना, कम्पनीको योजना तथा लक्ष्य’bout कार्यपत्र प्रस्तुत गरे ।
कम्पनीका संस्थापक सेयरधनी युवा व्यवसायी दुर्गा हुमागाईंले विभिन्न क्षेत्रमा करिअर बनाइसकेका २६ जना युवाको सहभागितामा कम्पनी खुलेको बताए । ‘स्थापनाको १० महिनामै ६५ करोड संस्थापक पुँजी संकलन भइसकेको छ,’ लायन्स डिस्ट्रिक्ट ३२५ ‘के’ नेपालका डिस्ट्रिक्ट गभर्नरसमेत रहेका उनी भन्छन्, ‘अहिलेको अवस्थामा यो ठूलो सफलता पनि हो, कृषि कम्पनीप्रति युवाले गरेको विश्वास हो, छोटो समयमै हामीप्रति विश्वास बढेको र हामीलाई अझ जिम्मेवार बनाएको महसुस गरेका छौं ।’
पोखरा क्षेत्रमा यस कम्पनीमा धेरै सदस्य आबद्ध भएको तथा इच्छुकले पनि कृषिका सम्भावना’bout एउटा अन्तक्र्रिया कार्यक्रम गर्नुपर्ने मागबमोमिज पोखरामा कार्यक्रम गरिएको उनले बताए । जनैपूर्णिमा पर्वका दिन भएको कार्यक्रममा पनि उल्लेख्य उपस्थिति थियो । यस्तै कार्यक्रम छिट्टै बुटवलमा हुँदै छ ।
कम्पनीसचिव विष्णु बरालले पुँजी वृद्धिका लागि १५ भदौसम्मको समयसीमा दिइएको बताए । त्यसपछि रोकेर व्यवस्थापन पक्षतिर लाग्ने उनी बताउँछन् । एक जनाले स्वतन्त्र रूपमा न्यूनतम १ हजारदेखि ४० हजार कित्तासम्म सेयर खरिद गर्न पाउनेछ ।
कम्पनीले मसरुम र कम्पोस्ट चेम्बर निर्माणमा एड्भान्स २ करोड, मार्केटिङ सेक्युरिटिज १८ करोड रुपैयाँ खर्च भएकामा पुँजीगत लाभ २ करोड र बैंक मौज्दात सवा ३५ करोड रहेको जनाएको छ ।
कृषि र प्रविधिलाई जोड्ने योजनाअनुरूप आईटी कम्पनी खोलेको छ । आईटी कम्पनीले कोर बैंकिङ सिस्टम निर्माण, ईआरपी मोडलको विकास गरेको छ । साथै, गुनासो सुनुवाइ र स्वास्थ्यसँग सम्बन्धित सिस्टम विकास गर्दै छ । त्यति मात्र कहाँ हो र श्रीलंकाको सबैभन्दा ठूलो कृषि कम्पनीसँग अन्तर्राष्ट्रिय सम्बन्धसमेत विस्तार गरेको छ ।






