काठमाडौंको घर बेचेर गाउँमा ‘कृषि क्रान्ति’

लमजुङ । पछिल्ला दिन गाउँबाट सहर, शहरबाट ठूला सहर हुँदै विदेश पलायन हुनेको संख्या दिन–प्रतिदिन बढ्दो छ । तर, काठमाडौंको कलंकीमा रहेको घर नै बिक्री गरेर गाउँमा फर्केर खेती किसानी गरेको भन्दा पत्याउनै सकिँदैन । एउटा दम्पतीको संघर्ष र सफलताको कथा भने पत्याउन कर लाग्छ । तनहुँ भानु नगरपालिका–९ चिती खोलामा राजेन्द्र पाण्डे र उनकी श्रीमती गीता अधिकारी पाण्डेको तरक्की लोभलाग्दो छ ।

चिती खोला राजेन्द्रको पुख्यौली थलो हो । उनकी पत्नी गीता भने चितवनको रत्ननगर नगरपालिका टाँडीमा जन्मे हुर्केकी । काठमाडौंको मोह घट्दै जाँदा अन्ततः उनीहरूले निर्णय लिए–चिती खोलाको पुख्यौली जमिनमा खेती गर्ने । घर सल्लाहपछि तय भयो गाउँ गएर अग्र्यानिक खेती गर्ने, अरूलाई पनि प्रेरणा दिने ।’ ‘२०७५ सालको साउनमा हामी गाउँ फर्केर अग्र्यानिक खेती गर्ने योजनाका साथमा आएका थियौं । योजनाअनुसार अघि बढ्यौं र सफल पनि भयौं,’ गीता भन्छिन् ।

उनीहरूले कलंकीमा रहेको घर डेढ करोड रुपैयाँमा बिक्री गरे । काठमाडौंको घर नै बिक्री गरेर पहाडको गाउँमा फर्कने उनीहरूको निर्णय ‘उल्टो बाटो’ भन्दै धेरैले अचम्म माने । त्यो बेलामा हामी दम्पतीको निर्णयको धेरैले विरोध गरे । तर आजकल त उनीहरू सबै खुसी छन् र गर्न सके हुने रहेछ भन्छन् । गीताले भनिन्, ‘कतिले यसको रहर मात्र हो, २–३ वर्षमा फर्कन्छे पनि भने । यतिबेला भने त्यो बेला विरोध गर्नेहरू सबैको मुख थुनिएको छ, तारिफ गर्न थालेका छन्,’ उनी भन्छिन् ।

आखिर के चाहिँ गरे त उनीहरूले त्यहाँ ? काठमाडौंबाट तनहुँ झरेपछि उनीहरूले तत्कालीन पुर्कोट गाविसस्थित चितीखोलामा रहेको पुख्यौली सम्पत्तिमा अग्र्यानिक खेतीको सुरुवात गरे । राजेन्द्रका हजुरबुवा कुलराज पाण्डे राणाकालमै डिठ्ठा थिए । राजेन्द्रको अंश भागमै एक सय रोपनी जग्गा परेको थियो । तर त्यो जग्गा काठमाडौंमा घर हुनुका साथै अधिकृतस्तरको सरकारी नोकरीमा विभिन्न जिल्ला चहार्न पर्ने भएको हुँदा बाँझोमा परिणत भएको थियो ।

जसमा गीताले ७० रोपनीमा अग्र्यानिक खेती र ३० रोपनीमा फर्म स्टेको संरचना बनाएकी छन् । यतिबेला कृषि–पर्यटनका क्षेत्रमा उल्लेखनीय प्रगतिका साथ आफ्नै कर्मले नाम चम्काउँदै छन् उनी । ग्रिन हिमालय अग्र्यानिक एग्रो र ग्रिन हिमालय फार्म स्टेको प्रोप्राइटर रहेकी गीतालाई त्यस्तो सफलताको श्रेय कृषि– पर्यटनको कर्मले दिएको हो । यतिबेला गीतालाई गाउँले तथा छरछिमेकले ग्रिन हिमालयको दिदी वा बहिनी भनेर सम्बोधन गर्ने गर्दछन् ।

बद्लिएको बाटो र पहिचान
२०७५ सालको साउनमा उनीहरू गाउँ फर्केर अग्र्यानिक खेती थाले । उनीहरू घर फर्कँदा घरको चारैतिर माकुराको जालो, चमेरा, भंगेरा आदि चराहरूले गुड लगाएका थिए । खेतबारीभरी पाती फुलेको अवस्था थियो । त्यस्तो घरमा सरसफाइ गरेर उनीहरू बस्न थाले । हिउँदका दिन सुरु भएपछि उनले ग्रिन हिमालय अग्र्यानिक एग्रो नामक फर्म आफै प्रोप्राइटर रहेर दर्ता गरेर सञ्चालनमा ल्याइन् । अग्र्यानिक कृषि र पशुपालन, खासगरी स्थानीय जातका कुखुरा, हाँस र कालिज, गाई पालनको काम सुरु गरिन् । उनले भनिन्, ‘यतिबेला एग्रो फार्ममा तीन वटा जर्सी-होलिस्टेन गाई, स्थानीय जातका कुखुरा पाँच सय, ६० वटा जति हाँस तथा एक सय जति कालिज रहेका छन् ।’

अग्र्यानिक खेतीले पर्यटनसँग जोड्यो
यतिबेला उक्त फर्मको उत्पादन कागती, त्यसको अमिलो, मस्यौरा, अदुवा तथा बेसारको धुलो, दूध, घिउ, स्थानीय केरा, मेवा, स्थानीय जातको कुखुरा र त्यसका अण्डा आदि केही यहाँ आएका पाहुनाले पनि लग्दछन् भने बाह्य बजारमा पनि आफूले पठाउने गरेको गीताको भनाइ छ । १, २ दिन गाउँले परिवेशमा रमाउन चाहनेहरूका लागि गीताको ग्रिन हिमालय फार्म स्टे उपयुक्त देखिन्छ ।

सो स्टेमा लमजुङ, मनाङ, पोखरा जानेहरूका लागि बासको सहजता हुन्छ । डुम्रे–बेसीसहर सडक खण्डको अर्चल धाराबाट एक किमीको दूरीमा रहेको ग्रिन हिमालय फार्म स्टेसम्म पुग्र्नेसडक पूरै कालोपत्रे छ । फर्म स्टेमा वनभोज खाने टिम, एक दुई दिनको समीक्षा गोष्ठी वा आफ्ना बैठक सञ्चालन गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूका लागि पनि ग्रिन हिमालय फार्म स्टे आकर्षणको केन्द्र बनिरहेको छ ।

मोही, मकैभट्टले पाहुनाको स्वागत
फर्म स्टेमा पुग्र्नेपाहुनालाई सुरुमा मोही, मकै, भट्टले स्वागत गर्र्ने प्रचलन रहेको जानकारी दिँदै अन्य खानपिन पाहुनाको चाहनाअनुसार हुने गरेको गीताले सुनाइन् । फर्म स्टेमा मौसमअनुसारको फलफूल पाहुनाले आफै पनि टिपेर खान सक्ने वातावरण रहेको छ । ‘फर्म स्टे सञ्चालनका लागि २०७८ सालमा ग्रिन हिमालय फर्म स्टे दर्ता गरेर पाहुनालाई सेवा दिन थालियो, अहिले दुवै फर्म चलेका छन्,’ गीताले भनिन् ।

‘फर्म स्टेमा आउने पाहुनाका लागि आवश्यक पर्ने चामल, तरकारी, त्यसमा प्रयोग हुने बेसार, अदुवालगायतका कच्चा पदार्थ सबै आफ्नै खेतबारीमा उत्पादन भएको अग्र्यानिक उत्पादनले नै पुग्र्नेगरेको छ,’ गीताले सगर्व सुनाइन् ।

मगर संस्कृति, रोधिं देख्न पाइन्छ
ग्रिन हिमालय फर्म स्टेको नजिकै मगर गाउँ छ र गाउँका २१ घरमा होमस्टे सञ्चालनमा छ । त्यहाँ मगर संस्कृति, रोधिंसमेत देख्न पाइन्छ । फर्म स्टेमा घुमाउने घरसहितको संग्रहालय समेत छ । एक रात बिताएको साँझ लोकल कुखुराको मासुसहितको खाना, बिहान लोकल कुखुराको अण्डासहितको नास्ता र बासको प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ पर्ने गीताले बताइन् । गीता एक छोरी र छोराकी आमा हुन् ।

उनकी छोरीको चितवनमा आफ्नै व्यवसाय छ । अमेरिकामा आईटी इन्जिनियर रहेका छोरा पनि अबको डेढ दुई वर्षभित्र आफ्नै देशमा केही गर्र्ने सोच र योजनाका साथ नेपाल फर्कने सोचाइमा रहेको उनले बताइन् । गीताले सञ्चालन गरेको ग्रिन हिमालय फर्म स्टेमा यतिसम्म अग्र्यानिक वस्तु खान पाइन्छ कि आगोमा पकाएको त हुन्छ नै, यदि कसैले ढिकीमा कुटेको चामलको भात खान चाह्यो भने पनि उपलब्ध हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत आयो, उद्धार जारी