मुम्बई । गत बिहीबारबाट विश्वव्यापी रिलिज भएका दुई भारतीय चलचित्र ऋतिक रोशनको ‘वार २’ र रजनीकान्तको ‘कुली’ले प्रदर्शनीको पहिलो हप्ता पुरा गरेका छन् । दुवै चलचित्रले पहिलो हप्ता बक्स अफिसमा निकै राम्रो व्यापार गरेका छन् ।
ऋतिक रोशनको ‘वार २’ पहिलो सातामा भारतमा २०० करोडबाट माथि उक्लेको छ । यो चलचित्रले प्रदर्शनीको छैटौँ दिनमै भारतीय बक्स अफिसमा २३१.१० करोड रुपैयाँको ग्रस व्यापार गरिसकेको स्याकनिल्क डट कमले जनाएको छ । यो चलचित्रले पहिलो साता (सातौँ दिन) भारतबाट मात्रै करिब २४५ करोडको व्यापार गर्ने अनुमान स्याकनिल्क डट कमको रहेको छ । छैटौँ दिनसम्म आइपुग्दा यो चलचित्रले भारत सहित विश्वव्यापी रूपमा भने २९८.१० करोडको व्यापार गरिसकेको छ ।
यस राज फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘वार २’मा ऋतिक रोशनसँगै एनटिआर जुनियर, कियारा अड्वाणी, अनिल कपुर, आशुतोष राणालगायतको शीर्ष भूमिका रहेको छ । यो चलचित्रलाई आयन मुखर्जीले निर्देशन गरेका हुन् । अभिनेता ऋतिकको अघिल्लो चलचित्र ‘वार’ले स्वदेशी बजारमा मात्र ३०३.३४ करोड रुपैयाँको व्यापार गरेको थियो । यसको सिक्वेलको रूपमा निर्माण गरिएको चलचित्र ‘वार २’ले भारतमा ४०० करोड भन्दा माथिको व्यापार गर्ने अपेक्षा गरिएको छ ।
यस्तै रजनीकान्तको चलचित्र ‘कुली’ले ६ दिनसम्म आइपुग्दा ऋतिकको चलचित्र ‘वार २’को व्यापारलाई पछि पारेको छ । चलचित्र ‘कुली’ले ६दिन भित्र भारतबाट मात्रै २५५.८० करोड रुपैयाँको ग्रस व्यापार गरेको छ । यो व्यापार चलचित्र ‘वार २’को भन्दा २४ करोड बढी हो । चलचित्र ‘कुली’मा रजनीकान्तसँगै नागार्जुन, अक्किनेनी, श्रुति हसन, उपेन्द्र, सत्यराज, सुबिन शाहीर र आमिर खानको मुख्य भूमिका रहेको छ ।
चलचित्र ‘कुली’ले सप्ताहान्त (बुधवार) रातीसम्म भारतबाट मात्रै २७० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । चलचित्र ‘कुली’ले भारत बाहेक ओभरसिज प्रदर्शनीमा रिलिज भएको छैटौँ दिनसम्म १६२.२० करोड रुपैयाँको व्यापार गरेको छ । यो चलचित्र ओभरसिज व्यापारमा ‘वार २’ भन्दा धेरै नै माथि छ । जबकि ‘वार २’ले भारत बाहेक ओभरसिज व्यापारमा जम्मा ६७ करोड रुपैयाँ मात्र रहेको छ ।






