बाजुरा । सदरमुकाम मार्तडीदेखि पूर्वी उत्तर क्षेत्रका चार स्थानीय तहलाई जोड्ने मार्तडी कोल्टी ४२ किलोमिटर सडक पार गर्न पाँचवटा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ । २७ वर्षपहिले अर्थात् २०५५ सालमा तत्कालीन जिल्ला विकास समितिले निर्माण सुरु गरेको यो सडक अहिलेसम्म बनेको छैन ।
भारतबाट हुम्ला, मुगु जिल्लाका स्थानीय र बाजुरा जिल्लाका बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमी गाउँपालिका र जगन्नाथ गाउँपालिका बासिन्दाले घर जान र तराईका जिल्लामा जाने मुख्य बाटो हो । ४ वर्षअघि कालोपत्रेको जिम्मा लिएको पीएस जेभी बानियाँ निर्माण सेवाले हालसम्म काम सम्पन्न नगर्दा यहाँका स्थानीयले सास्ती बेहोर्नुपरेको छ ।

बिरामी हुँदा जिल्ला सदरमुकाम आउँदा र नागरिकता एवं राष्ट्रिय परिचयपत्र बनाउन आउने स्थानीयले हरेक वर्षको वर्षात्मा सास्ती बेहोर्नुपर्ने बाध्यता छ । ‘हामी सद्दे मान्छेहरूलाई हिँड्नका लागि बीचबीचमा बाटो बिग्रेका कारण कति धेरै समस्या छ भने दुःखी बिरामीलाई झन् सास्ती हुनेगरेको छ,’ बडिमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्याले भने, ‘पानी परेको दिन हरेक यात्रु र गाडीका स्टाफले बाटो सोरेर जान्नुपर्छ, त्यो पनि ४२ किलोमिटरको बीचबीचमा सडक बिग्रेका कारण कहीँ हिँड्ने र पाँच ठाउँमा गाडी परिवर्तन गरेर जानुपर्ने बाध्यता छ ।’ ठेकेदारले समयमै बाटो नबनाउँदा यो सस्ती बेहोर्नुपरेको उनको भनाइ छ ।
त्यही सडकमा ५ वर्षदेखि जिप चलाइ रहेका चालक बुद्ध कार्कीले भने, ‘यहाँ गाडी चलाउनु भनेको खुकुरीको धारमा हिँड्नुजस्तै हो, ठेकेदारले बाटो कहिले बनाइसक्ने हुन् थाहा छैन ।’ मार्तडीबाट २ किलोमिटर हिँडेर अनाइखोलाबाट जिल्लीको पहिरोसम्म एउटा गाडी, जिल्लीको पहिरोबाट रजातोलीको पहिरोसम्म अर्को गाडी, रजातोलीको खोलाबाट भासुपातलसम्म तेस्रो र भासुपातलदेखि कमारेकोटसम्म चौथो र बडिगाडबाट कोल्टी बजारसम्म हिँड्नुपर्ने बाध्यता छ ।






