राजविराज । रक्तदान गरौ, जीवन बचाऔं नाराका साथ यहाँ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विशाल रक्तदान अभियान २०८२ शुरु गरेको छ । विश्ववन्धुत्व दिवस तथा राजयोगिनी प्रकारमणी दादीको १८औं पुण्यतिथिको अवसर पारेर शनिवारदेखि उक्त अभियान शुरु गरिएको हो ।
१ सय १४औं पटक रक्तदान गर्नेसहित २ दर्जन बढी रक्तदाताहरु सम्मानित
रगतको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रमुख उदेश्यका साथ विश्वभर छरिएर रहेका व्रह्माकुमारी राजयोग सेवाकेन्द्रको ६ हजार केन्द्रमा एकै दिन रक्तदान कार्यक्रम शुरु भएको केन्द्रकी राजविराज प्रमुख संचालिका भगवती दिदीले जानकारी दिइन ।
विश्वभर विभिन्न रोगको संक्रमणसँगै बिरामीको संख्या वृद्धि भइरहेकाले जस्तोसुकै अवस्थामा पनि रगतको अभाव हुन नदिने उदेश्यल वृहत साताव्यापी रक्तदान कार्यक्रम अभियानकै रुपमा शुरु गरिएको केन्द्रकी प्रमुख संचालिका भगवती दिदीको कथन छ ।
यस्तो सेवामूलक कार्यक्रममा सबैलाई सहभागि हुन आग्रह गरेकी उनले विश्वभर रहेका ६ हजार केन्द्रबाट एकै साथ शुरु भएको रक्तदान कार्यक्रममा ठुलो संख्यामा रक्तदाता सहभागी हुने र यसले गिनिज वल्र्ड रेकर्डस कायम गर्ने केन्द्रको योजना पनि सफल हुने विश्वास समेत व्यक्त गरिन ।

बृहत रक्तदान कार्यक्रममा समाजसेवी एवम् जेष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष शंकर सारदाले रक्तदान सबैभन्दा पुण्यको काम भएको बताउँदै यस्तो अभियानले रगतको अभाव झेलिरहेका बिरामी र रक्तसंचार केन्द्रलाई ठुलो राहत प्रदान गर्ने बताए ।
बिरामीले अनाहकमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ विभिन्न समयमा १ सय १४ पटक रक्तदान गरिसकेका शारदाले यसरी रक्तदान गर्दा पनि आफ्नो स्वास्थमा कुनै प्रतिकुल असर नपरेको सुनाए । रेडक्रस सोसाइटी शाखा सप्तरीद्धारा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा संचालित रक्तसंचार सेवा केन्द्रका इन्चार्ज नविन झाले उपचारका लागि आउने बिरामीका आफन्तको प्रमुख समस्या रगतको अभाव नै बन्ने गरेको बताउँदै यस्ता कार्यक्रमले ठुलो राहत प्रदान गरेको जनाए ।
कार्यक्रमको पहिलो दिन प्रमोद कुमार यादव, दिनानाथ यादव, विमला महतो, ललिता साह, नन्दकिशोर गुप्ता र उमेश यादवसहित २५ जनाले रक्तदान गरेका छन् । उक्त अवसरमा जिल्लामा सर्वाधिक १ सय १४ पटक रक्तदान, राजविराज नगरपालिकाका पूर्व मेयर गोविन्द सिंह, समाजसेवी शंकर सारदा सहित सबै रक्तदाताहरुलाई केन्द्रकी प्रमुख संचालिका भगवती दिदीले कदरपत्रबाट सम्मान गरेकी थिइन् ।







