कपिलवस्तु । भ्रष्टाचारविरुद्धको देशव्यापी आन्दोलनमा ज्यान गुमाएका जेनेरेसन जेड (Gen Z) युवाहरूको सम्झनामा शिवराज नगरपालिकाले चन्द्रौटामा स्मारक निर्माण गर्ने भएको छ। नगरपालिकाका अनुसार, शिवराज–५ चन्द्रौटा स्थित समानता चोकमा ‘Pillar of Beautiful Soul’ नामक स्तम्भ निर्माण गरिनेछ।

यो स्तम्भ १० फिट अग्लो हुनेछ र २८ वर्षमुनिका आन्दोलनमा ज्यान गुमाएका युवाहरूका नामहरू उल्लेख गरिनेछ। आन्दोलनको क्रममा भाइरल बनेको एक जोडी जुत्ता पनि स्मारकमा समावेश गरिनेछ, जसलाई साहस र प्रतिकारको प्रतीकको रूपमा प्रस्तुत गरिने नगरप्रमुख अजय थापाले जानकारी दिए ।
गत भदौ २३ (सेप्टेम्बर ८) मा देशभर एकसाथ सुरु भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा हालसम्म ७२ जना युवाले ज्यान गुमाएका छन्। उक्त आन्दोलनले सरकारमा व्यापक दबाब सिर्जना गर्दै अन्तरिम सरकारको गठन र निर्वाचन मिति तोक्ने प्रक्रिया अघि बढाएको थियो।
नगरप्रमुख थापाका अनुसार, स्मारकको सम्पूर्ण निर्माण नगरप्रमुख कोषबाट गरिनेछ। उनले भने, “शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाउने युवाहरूको बलिदानलाई नगरले सधैं सम्मानका साथ सम्झिरहनेछ। स्मारक भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।”
शिवराज नगरपालिकाको यो कदमले स्थानीय सरकारले राष्ट्रिय मुद्दामा देखाएको सहानुभूति र उत्तरदायित्वबोध झल्काएको स्थानिएको भनाई छ।
‘Pillar of Beautiful Soul’ को निर्माणले युवाको बलिदानलाई अमर बनाउँदै भ्रष्टाचारविरुद्धको आवाजलाई अझ सशक्त बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
सम्बन्धित समाचार







